अन्तरङ्ग सम्वाददाता
सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ६ मा रहेको नमूना सामुदायिक अस्पतालले कोरोना भाइरस(कोभिड– १९)का विरुद्धमा विभिन्न स्रोतबाट सहयोग जुटाएर जुधिरहेको छ । अस्पतालले सरकारी तथा गैर सरकारी संस्थादेखि व्यक्तिहरूबाट सहयोग जुटाउने काम गरिरहेको हो ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टको कोरोना भाइरसको दोस्रो प्रकोप बढेसँगै त्यसको उपचारलाई सहजताका लागि नमूना सामुदायिक अस्पताले सहयोग जुटाएको हो । समुदायले संचालन गरेको अस्पतालमा उपचारका लागि आउने कोभिड– १९ का विरामीको उपचारलाई सहज बनाउन सरकारी देखि गैर सरकारी संस्था तथा व्यक्तिहरूबाट सहयोग माग गरे अनुसार सहयोग पनि जुटिरहेको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रले (डिसीसीएमसी) जिल्लामा लमजुङ जिल्ला अस्पताल र सुन्दरबजारमा नमूना सामुदायिक अस्पतालमा अक्सिजन सहितको आईसोलेसन सञ्चालन गर्ने निर्णय अनुसार नमूना सामुदायिक अस्पतालमा आइसोलेसन सञ्चालन हुँदै आएको छ । नमूना अस्पताल सामुदायिक भएको र अस्पतालमा अन्य रोगीहरूको पनि उपचार गराउनु पर्ने भएपछि अस्पतालले दोस्रो तलामा ४० बेड आइसोलेसनका लागि छुट्याएको छ । अस्पतालले बिरामीलाई सहज रुपले उपचार प्रदान गर्न विभिन्न पूर्वाधार तयारीमा जुटिरहेको जनाएको छ ।
उक्त अस्पतालमा आउने कोभिडका बिरामीको उपचार गर्नका लागि आवश्यक सामग्री खरिदका गर्न सुन्दरवजार नगरपालिकाले ६ लाख रुपैयाँ सहयोग गरेको छ भने मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, दोर्दी गाँउपालिका र दुधपोखरी गाँउपालिकाले ३/३ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उक्त रकमबाट, अक्सिजन सिलिन्डर, मोनिटर, अक्सिमिटर लगायतका अत्याश्यक स्वास्थ्य सामग्री खरिद गरी सकिएको नमूना सामुदायिक अस्पतालका अध्यक्ष परमेश्वर अधिकारीले बताउनु भयो । उहाँका अनुसार अस्पतालमा कोभिड उपचारका लागि आवश्यक सुरक्षा अपनाउन पूर्वाधार निर्माणमा खर्च भएको छ ।
प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट अक्सिजन पाईप लाईन जडान भएको छ भने अन्य गैर सरकारी संस्थाबाट बिभिन्न स्वास्थ्य सामग्री उपलब्ध भएको छ । अघिकारीले भन्नुभयो, ‘उक्त अस्पतालको लागि गोर्खा वेयलफेयर ट्रष्टले करिब १२ लाख रुपैयाँ बराबरको सामग्री प्रदान गरेको छ । ट्रष्टले अस्पतालको लागि ३ बटा अक्सिजन कन्सन्ट्रेटर, ३० बटा अक्सी मिटर सहित २७५ थान पिपिई सहित अन्य सुरक्षाका सामग्रीहरू प्रदान गरेको हो ।’
सुन्दरबजार नगरपालिका– १ कुञ्छा निवासी समाजसेवी एवम् युवा व्यवसायी कृष्णप्रसाद अधिकारी दम्पत्तीले नमूना सामुदायिक अस्पताल सुन्दरबजारलाई स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । एक दशकदेखि अमेरिकाको कोलोराडोमा छोराछोरीसहित बस्दै आउनु भएका अधिकारी दम्पत्तीले कोरोनाको समयमा दुःख गरेर कमाएको रु एक लाख १० हजार रकम बराबरको स्वास्थ्य सामग्री उक्त अस्पताललाई सहयोग गर्नु भएको हो । अधिकारी दम्पत्तीले उक्त अस्पताललाई अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, पिपिई, माक्स र ग्लोब्सलगायतका स्वास्थ्य सामग्री खरिदका लागि सो नगद रकम सहयोग गरेको बताउनु भएको छ ।
त्यस्तै, पूर्वीअफ्रिकाको सिसेल्स र अमेरीकामा रहेका नेपालीहरूले सञ्चालन गरेको ‘हाम्रो ठाउँ, हाम्रो अभियान’बाट सहयोग रकम संकलन गरी अस्पताललाई ११ बटा अक्सिजन सहितको सिलिण्डर र अन्य स्वास्थ्य सामग्री प्रदान गरेका छन् । लमजुङको सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहूँको भानु नगरपालिका घर भएर उक्त अभियानमा जोडिएका २० जना व्यक्तिहरूले २ लाख १३ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको अस्पताल प्रशासनले जनाएको छ । उक्त सामग्री विदेशमा रहेका नेपालीहरूकातर्फबाट उनीहरूका परिवार तथा आफन्तले अस्पताललाई प्रदान गरेका छन् । यो अभियान सुन्दरवजार नगरपालिका– ६ निवासी राजेन्द्र कुँवरले सञ्चालन गर्नु भएको हो । कुँवरले करिब थप ५ लाख बराबरको सामग्री अस्पतालको आव्श्यकता अनुसार उपलब्ध गराउने जानकारी दिनुभएको छ ।
यसैगरी, अमेरिका नेपाल मेडिकल फाउन्डेसनले कोभिड– १९ को दोश्रो प्रकोपको अवस्थामा बिरामीहरूलाई अक्सिजनको कारणले कुनै पनि समस्या नहोस भन्ने उद्देश्यले दुईवटा अक्सजन कन्सनट्रेटर यस अस्पताललाई प्रदान गर्नु भएको छ । त्यस्तै, लमजुङ सेवा समिति हङकङ सम्पर्क समितिले पनि सेनिटाईजर र सर्जिकल माक्स अस्पतालका लागि उपलब्ध गराएको छ ।
सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले आवश्यक स्वास्थ्यकर्मी लगायतको पूर्वाधारको सम्पूर्ण व्यवस्था गरी सकिएकोले अब नमूना सामूदायिक अस्पतालमा विरामीहरू राखेर उपचार गरिने बताउनु भएको छ । उहाँका अनुसार अस्पतालमा हाल अक्सिजन सहितको ४० बेड क्षमताको कोरोना उपचार केन्द्र स्थापना गरिएको हुँदा अब विरामीहरूलाई असहज नहुने विश्वास जागृत भएको छ ।
No comments:
Post a Comment