अन्तरङ्ग सम्वाददाता
पोखरा– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री ७१ वर्षीय कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गर्नु भएको छ । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण जेठ २९ गते गराउनु भएको हो । प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै उहाँले मन्त्रालय पुगेर आजै पदभार ग्रहण गर्नु भएको छ । राजनीतिमा त्याग र उमेरका हिसावले गुरूङभन्दा नेपाली पाको मानिनु हुन्छ ।
पद ग्रहणसँगै ‘प्रदेशको समग्र विकासका लागि अघि बढ्ने अठोट गरेका छौँ’ उहाँले बताउनु भएको छ । उहाँले आफूलाई सहयोग गर्ने दल र प्रदेशसभा सदस्यहरूलाई धन्यवाद पनि दिनु भएको छ । साथै, पदभार ग्रहण गरे लगत्तै उहाँले दुईवटा निर्णय गर्नु भएको छ । मनसुन शुरु भएसँगै विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने र महिलाहरूको स्तन क्यान्सर, पाठेघर र मुखको क्यान्सरको उपचार निःशुल्क गर्ने ।
मुख्यमन्त्री नेपालीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र)की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
यसैबीच, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिनु भएको छ । प्रदेश प्रमुखबाट नियुक्ति भएलगत्तै गुरुङले फोन गरेर नेपालीलाई बधाई दिनु भएको हो । गुरुङले आफू र आफ्नो पार्टीको तर्फबाट बधाई दिँदै उहाँले सफल कार्यकालका लागि शुभकामना पनि दिनु भएको थियो ।
कोभिडको महामारी नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै बारम्बार सरकारको ध्यानाकर्षण गराई रहनु भयो । उहाँकै नेतृत्वमा १ घर १ पिसिआरदेखि प्रत्येक जिल्लामा पिसिआर मेसिन राख्नका लागि गरिएको माग सुनुवाई नभएपछि प्रदेश सभामा संकल्प प्रस्ताव पेस गरियो । प्राविधिक रुपमा संकल्प प्रस्ताव फेल भए पनि तत्कालीन समयमा कांग्रेसको एजेन्डा सही भएको संसदका विशेष अधिवेशनले पुष्टि गरी सकेको छ । त्यसो त उहाँले संसदीय दलको नेता चयन भइदेखिनै प्रदेश सभाका कामकारवाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन हरसमय क्रियाशील हुनुहुन्थ्यो । उहाँले बजेट बाँडफाँटमा सरकारको मनोमानी होस या निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदलाई गरिएको विभेदका विषयमा संसदमा सशक्त आवाज उठाए र सरकारलाई सच्चिन वाध्य बनाउने गर्नु भएको थियो ।
प्रजातान्त्रिक समाजवादलाई शीरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील उहाँ निष्ठा र त्यागको पर्याय मानिनु हुन्छ । राणा शासनको विरोधमा क्रियाशील रहनु भएका गोवर्धन शर्मा तथा आमा द्रौपदा शर्माका माहिला सुपुत्र हुुनुहुन्छ– कृष्णचन्द्र नेपाली पोखरेल । २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मनु भएको हो । उहाँले आमाबाट समेत नेपालीले मातृवात्सल्यका साथ राजनीतिक संस्कार समेत सिक्नु भएको हो । तनहुँमा जन्म थलो भएर पनि उहाँको राजनीतिक कर्मथलो नवलपरासी हो । विद्यार्थी राजनीतिमा उहाँले तनहुँबाटै शुरु भएको हो ।
प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण पिता गोवर्धन निर्वासनमा हुनुहुन्थ्यो । त्यतिबेला अर्थात् २०२२ देखि २०२८ सालसम्म उनले पनि पिताकै साथमा भारतमा निर्वासित जीवन बिताउनु भएको छ । प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिए पनि माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट गर्नु भएका नेपाली दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए पछि कानुनमा पनि स्नातक हुनुहुन्छ ।
उहाँले लामो समय शिक्षण पेसामा रहेर काभ्रे तथा तनहुँका स्कुलमा पढाउनु भयो । २०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय थिए । जनमत संंग्रहमा कांग्रेसको पक्षमा लागेर हिँडेकै आरोपमा उहाँलाई तत्कालीन सरकारले जुम्ला सरुवा गरिदियो । त्यसपछि उनले शिक्षण पेसा छाडेर पूर्णकालीन राजनीतिमा जुट्नु भएको हो ।
२०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य हुनुभएका उहाँ प्रजातान्त्रिक आन्दोलनकै क्रममा उहाँ ६ पटक जेल पर्नु भएको छ । २०३५ सालको विद्यार्थी आन्दोलनमा कास्की कारागारमा दुईपटक गरेर ५ महिना उहाँले बिताउनु भएको छ । २०४२ सालमा नेपाली कांग्रेसले गरेको सत्याग्रहमा नवलपुरबाट सत्याग्रहमा सक्रिय पोखरेल परासी–कपिलवस्तुमा एकवर्ष जेलमा विताउनु पर्यो। २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा रहनुका साथै ९ महिना पाल्पा जेल बस्नु भयो ।
२०४८ को अधिवेशनपछि निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति हुनुका साथै २०४८ सालको आमनिर्वाचनमा नवलपरासी क्षेत्र नम्बर ४ बाट उहाँ प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुनुभएको थियो । २०६२/६३ सालको जनआन्दोलनमा उनले नवलपुरको कमान्ड हुनुहुन्थ्यो ।
कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता पोखरेल नेपाल बार एशोसिएसनको सदस्य समेत हुनुहुन्छ । उहाँले जनपक्षीय कानुनी सेवामा समर्पित भएर गरेको प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू जेलबाट छुटेका थिए ।
नवलपरासी क्षेत्र नम्बर ३ बाट २०७० सालको प्रतिनिधिसभा चुनावमा ३ सय २५ मतले पराजित हुनुभयो । संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेशसभा सदस्य बन्न सफल हुनुभएको हो ।
प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी काँग्रेसका १५ सांसद छन् । एमाले माओवादी गठवन्धनको बहुमत आएसँगै कांग्रेस संख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बनेको थियो ।
मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीले बहुमत सांसदको हस्ताक्षरसहित गरेको दाबीलाई विवादित बनाएर संघमा जस्तै संसद विघटन गर्ने तयारी गरिएको आशंका गर्दै कांग्रेसले शितल निवासको जस्तो नियती र हर्कत नदोहोर्याउन चेतावनी दिएको थियो । मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयअघि धर्नामा बसेका बेला संविधानको धारा १६८ (५) अनुसार उहाँलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
No comments:
Post a Comment