अन्तरङ्ग सम्वाददाता
भूलभूले(लमजुङ)– लमजुङमा चार दिनसम्म लगातार परेको अवरिल वर्षाबाट मर्स्याङदी नदीमा आएको बाढीले एक पानी उद्योगको नामनिसान मेटाएको छ । जिल्लाको उत्तरीक्षेत्रमा रहेको मर्स्याङदी गाउँपालिका– ८ भूलभूलेको हामखोला र मर्स्याङदी नदी किनारमा निर्माण गरिएको लेकबेसी प्रसोधित पानी उद्योग(मिनरल वाटर) उद्योगको नामनिसान नरहने गरी बाढीले बगाउँदा करिब दुई करोडको नोक्सान भएको प्रहरीले आंकलन गरेको छ ।
उक्त लेकबेसी पानी प्रसोधित उद्योग तीन वर्षदेखि सो स्थानमा सञ्चालन हुँदै आएको हो । आफ्नै नाउँमा तीन रोपनी १२ आना क्षेत्रफलमा फैलिएर रहेको सो उद्योग परिसरमा पानी उद्योग बाहेक चार संरचना बनाइएको उक्त पानी उद्योगका प्रोपाइटर विकास श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार ६५÷२५ फिटको पानी उद्योग थियो । उहाँले भन्नुभयो, ‘उद्योगको मेसिन सञ्चालनका लागि विद्युत लाइन जडान गर्न निजी ट्रान्सफरमर, ५ वटा निजी विद्युत पोल सहितका थ्रिफेज लाइन सहितको विद्युतीय संरचना निर्माण गर्नका लागि मात्र ४९ लाख रुपैयाँ खर्च भएको थियो ।’ उहाँका अनुसार सो उद्योग पाँच जनाको संयुक्त लगानीमा सञ्चालन गरिएको हो । आठ जनाले नियमति रोजगारी पाएका थिए भने सिजनमा थप २,३ जनासम्म कामदार थपेर उद्योग चलाउने गरिएको सञ्चालकहरूको भनाई छ ।
उद्योगमा ८५० कार्टुन तयारी पानी, स्टिकर, खाली बोलत, ग्यास सिलिण्डर लगायतका तयारी सामग्री मात्र ६ लाख ३१ हजार रुपैया बराबरका सामग्री उद्योगमा उक्त बाढी आउने दिनमा समेत रहेको उद्योगका सञ्चालक रामबाबु श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार उद्योग मस्र्याङ्दी नदी किनारबाट एक सय मिटरको दुरीमा रहेको थियो । उहाँले भन्नुभयो, ‘नोक्सानको यस्तो परिणाम पनि भोग्नु पर्ला भन्ने कल्पनासम्म गरिएको थिएन ।’ उक्त उद्योगमा तीन महिना अघिमात्र स्वचालित मेसिन जडान गरेर प्रतिमिनेट ३० बोतल पानी तयार गर्ने, दैनिक डेढ सयदेखि दुई सय जार भर्ने तथा चारसय कार्टुन बोलत तयारी गर्ने गरिएको उहाँले जानकारी दिए । उद्योग परिसरमा सञ्चालन गरिएको हामखोला रेष्टुरेण्ट एण्ड लजले उक्त कम्पनीलाई मासिक ३५ हजार भाडा तिर्ने गर्दथ्यो उहाँले भन्नुभयो ।
सोही गाउँपालिका– ३ मा रहेको खुदी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक(असई) प्रेमप्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार उद्योगका सञ्चालकहरूले भनेका अनुसार नै नोक्सानको विवरण आफूहरूले टिपोट गरी मुचुल्का तयार गरिएको छ । उहाँले भन्नुभयो, ‘उक्त उद्योगको कुल नोक्सानमा एक करोड ८२ लाख ३४ हजार ३५० रुपैयाँ नोक्सान भएको प्रतिवेदन छ ।’
सोही स्थानमा जन्मथलो रहेका संविधानसभाका सदस्य जमिन्द्रमान घलेले त्यो उद्योगको नाम निसान नरहेको देख्दा आश्चर्यमा परेको बताउनु भयो । उहाँका अनुसार त्यो स्थान निकै आकर्षक ठाउँ बनेको थियो, मर्स्याङदीको चिसो हावा र माथि छाँगा बगेको दृश्य हेर्दै खाजा खानका लागि त्यस ठाउँमा सञ्चालन भएको रेष्टुरेण्टमा निकै भिड लाग्ने गरेको थियो । उहाँले भन्नुभयो, ‘अकल्पनीय तरिकाको बाढी आयो, लेकबेसी पानी उद्योगको नामनिसानानै मेटियो, यो आसपासमा धेरै नोक्सान भएको छ ।’
फोटोमा बाढी पछि र अधिका उद्योगका झलक ।


No comments:
Post a Comment