सिद्धेश्वर मन्दिर पुनःनिर्माण गर्ने प्रतिवद्धता : अन्तरङ्गको समाचार प्रभाव - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, June 16, 2021

सिद्धेश्वर मन्दिर पुनःनिर्माण गर्ने प्रतिवद्धता : अन्तरङ्गको समाचार प्रभाव

अन्तरङ्ग सम्वाददाता

सुन्दरबजार(लमजुङ)– मर्स्याङ्दी नदीमा आएको बाढीले सुन्दरबजार नगरपालिका– ७ को पाउँदीबजार स्थित उक्त नदी किनारमा रहेको सिद्धेश्वर मन्दिर असार १ गतेका दिन साँझ बगाएको छ । उक्त समाचार पढेपछि सो मन्दिरको पुनःनिर्माण कार्य सुन्दरबजार निवासी हिरा श्रेष्ठले आफूले गरिदिने प्रतिवद्धता असार २ गते व्यक्त गर्नु भएको हो । हिरा श्रेष्ठ उक्त मन्दिरका निर्माता स्व. कृष्णलाल श्रेष्ठ र सरस्वती श्रेष्ठका जेष्ठसुपुत्र हुनुहुन्छ ।


         उक्त सिद्धेश्वर मन्दिर कृष्णलाल श्रेष्ठले २०४० सालमा आफ्नो एकल खर्चमा निर्माण गरिदिनु भएको थियो । लगातार तीन दिनदेखि परेको भीषण बर्षाबाट मर्स्याङ्दी नदीमा आएको बाढीले सो नदी किनार, लमजुङको प्रवेशद्वारमा रहेको पाउँदी बजारको पवित्र सिद्धेश्वर मन्दिर बगाएको हो । मर्स्याङ्दी नदीमा ५६ वर्षपछि पहिलो पटक यति ठूलो बाढी आएको बुढापाका मानिसहरूको भनाई छ । 

        ‘मर्स्याङ्दी नदीमा आएको बाढीले मन्दिर बगाएको समाचार अन्तरङ्ग न्यूज डटकममा पढेँ, त्यसले आफ्नो स्वर्गीय बुवा कृष्णलाल श्रेष्ठलाई सम्झेँ’ हिरा श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार त्यसपछि आफ्ना पिताले बनाउनु भएको त्यो मन्दिरको पनि याद आयो । हिरा श्रेष्ठले भन्नुभयो, ‘त्यसपछि उक्त मन्दिरको पुनःनिर्माण कार्य म आफैले आफ्नै खर्चमा गर्ने अठोट गरेँ, स्थिति सहज भएपछि त्यो मन्दिरको निर्माण कार्य गरिने छ ।’ उहाँले सो जानकारी फोनमार्फत दिनु भएको हो । हिरा श्रेष्ठ बिगत १४ बर्षदेखि अस्ट्रेलियामा रहदै आउनु भएको   छ । 

        स्वर्गीय कृष्णलाल श्रेष्ठ प्रतिष्ठित व्यवसायी हुनुका साथै सुन्दरबजार स्थित मातृभुमी बहुमुखी क्याम्पस तथा बालज्योती बोर्डिङ स्कुलका संस्थापक समेत हुनुहुन्छ । उहाँ व्यापार व्यवसाय सञ्चालनको सिलसिलामा तनहूँको चोक चिसापानीबाट सुन्दरबजार आउनु भएको हो । 

        लमजुङको शैक्षिक एवम् व्यावसायिक केन्द्र सुन्दरबजारको विकासमा अर्थात सुन्दरबजारलाई आजको अवस्थामा ल्याउन स्वर्गीय कृष्णलाल श्रेष्ठको योगदान महत्त्वपूर्ण भएको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार स्व. कृष्णलाल एक कुशल अभिभावक समेत हुनुहुन्थ्यो । हिरा श्रेष्ठ स्वर्गीय कृष्णलाल श्रेष्ठ र सरस्वती श्रेष्ठका जेष्ठ सुपुत्र हुनुका साथै कान्छा सुपुत्र डाक्टर सन्तोषलाल श्रेष्ठ र एक मात्र छोरी डाक्टर लक्ष्मी श्रेष्ठ रहनु भएको चेम्बरका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिनु भयो । 

No comments:

Post a Comment