आयो राष्ट्रिय धान दिवस : दही च्युरा खाने दिन, वार्षिक छ हजार मेट्रिक टन धान अपुग - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, June 28, 2021

आयो राष्ट्रिय धान दिवस : दही च्युरा खाने दिन, वार्षिक छ हजार मेट्रिक टन धान अपुग

अन्तरङ्ग समाचारदाता

बेसीशहर– कृषि प्रधान देश मानिने नेपालमा किसानको सम्मान गर्दै उनीहरूको मनोबल उच्च बनाउने असार १५ गते राष्ट्रिय धान दिवस बनाउन थालिएको हो । हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको भए पनि अझै पनि मुलुकका लागि आवश्यक पर्ने धान वार्षिक रुपमा छ हजार मेट्रिक टन अपुग हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । यो दिन दही च्युरा खाने दिनको रुपमा पनि स्थापित हुँदै आएको छ । 

        यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने प्रचलन छ । मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिएको हो । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । यसले आज अर्थात असार १५ गतेका दिन गैर किसानमा समेत दही च्युरा खाने प्रचलन बढेको छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । 

        कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको बताइन्छ । तर अझै पनि मुलुकका लागि आवश्यक पर्ने धान वार्षिक रुपमा छ हजार मेट्रिक टन अपुग हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपालीलाई एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ । 

        हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

        दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको मानिन्छ । 

        आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । 

        असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता रहिआएको छ । यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन । तर असारे गीत भने हिजोआज सुन्न रहर भइसकेको छ– 

असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,

पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो‘‘ ।

खडेरीले फाटेको यो मन असारमै जोडौँला,

लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौला‘..।

        आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

No comments:

Post a Comment