अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपका क्रममा पुनः एकसाताका लागि निषेधाज्ञा थप भएपछि बैंकमा सेवाग्राहीको भिड लागेको छ । निधेषाज्ञामा सातामा दुईदिन आइतबार र बिहीबार मात्र र ती दिनमा पनि १० बजेदेखि १२ बजेसम्म मात्र बैंक खुल्न पाउने निर्देशन जारी भएपछि राष्ट्रिय बाणिज्य बैंकको बेसीशहर शाखामा जेठ १७ गते सेवाग्राहीको भिड लागेको हो ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले दस्तखत गरी जारी गरेको विज्ञप्तिमा निधेषाज्ञा असार ३ गतेसम्म थप भएको उल्लेख छ । सो विज्ञप्तिमा पनि विगतका दिनजस्तै सातामा दुईदिन आइतबार र बिहीबार मात्र त्यो पनि १० बजेदेखि १२ बजेसम्म मात्र बैंक खुल्न पाउने भनिएपछि बैंकमा सेवाग्राहीको भिड लागेको छ । उक्त भिडले जिल्ला प्रशासनको निर्देशनलाई फित्तलो सावित गरिदिएको छ ।
जेठ २६ गते आठ जना बालबालिकासँगै ७६ जना नयाँ संक्रमित थपिएसँगै जिल्ला प्रशासन कार्यालयले निधोषाधा असार ३ गतेसम्मका लागि थप गरेको हो । यसअघि चौथोपटक थप भई जारी गरिएको निषेधाज्ञा जेठ २७ गते राती १२ बजेसम्मका लागि थियो । अब यो अवधि असार ३ सम्मका लागि लम्बिन गएको छ ।
अघिल्ला तीन दिन क्रमशः ओह्रालो लागेको संक्रमित संख्या चौथो दिन अर्थात जेठ २६ गते ह्वात्तै बढेर ७६ पुगेको हो । २५ गते १२ जनामा मात्र संक्रमण भएका थिए । त्यस्तै, २४ गते ३४ जना संक्रमित फेला परेका थिए भने जेठ २३ गते ५७ जनामा संक्रमण पुष्टि भएको थियो । २६ गतेका दिन १२ जनामा मात्र संक्रमण भएको खबरले उत्साहित भएका जिल्लाबासीहरू २७ गतेको खबरले फेरि स्तब्ध भएका छन् । बेसीशहर नगरपालिका– ८ का लक्ष्मी पौडेलले हिजोअस्तिका तीन दिनको रिपोर्टले उत्साहित बनाएको थियो आज २६ गतेको खबरले फेरि झसङ बनाएको बताउनु भयो ।
स्मरणीय छ, लमजुङमा बुधबारसम्म कुल संक्रमित संख्या एक हजार चार सय ६१ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमित संख्या ६९६ रहेको जिल्ला प्रशासनले जनाएको छ । संक्रमित भएका मध्ये २२ जनाको दुःखद निधन भएको छ भने ७३४ जनाले कोरोना जितेका छन् ।


No comments:
Post a Comment