लमजुङमा आज थपिए १५ जना संक्रमित, कुल संक्रमितहरू ११६ पुगे, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य निर्देशनालयको तथ्यांक फरक - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, May 9, 2021

लमजुङमा आज थपिए १५ जना संक्रमित, कुल संक्रमितहरू ११६ पुगे, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य निर्देशनालयको तथ्यांक फरक

अन्तरङ्ग संवाददाता

लमजुङ– कोभिड– १९ को दोस्रो प्रकोप फैलिने क्रम लमजुङमा पनि जारी नै छ । आजका दिनमा मात्र जिल्लामा थप १५ जना नयाँ संक्रमित पुष्टि भएको छ । योसँगै बैशाख २६ गतेका दिन कुल संक्रमितको संख्या ११६ पुगेको छ । तर जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको तथ्यांक फरक भएको हुँदा यो संख्या अझ बढी हुनसक्ने देखिएको छ । 

जिल्ला प्रशासन कार्यालय लमजुङले साँझ ५ बजे जारी गरेको विज्ञप्तिमा त्यस्तो उल्लेख भएको हो । तर स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले आजै जारी गरेका तीन विज्ञप्तिको विवरण र जिल्ला प्रशासनको विज्ञप्तिको विवरणमा भने केही फरक देखिएको छ । 

जिल्ला प्रशासन कार्यालय लमजुङको विज्ञप्ति अनुसार मस्र्याङ्दी गाउँपालिका, बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिकामा ती १५ जना थप भएको उल्लेख छ । सो विज्ञप्ति अनुसार ती पालिकामा क्रमशः ८ जना, ६ जना र १ जना रहेको उल्लेख छ । तर स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराद्वारा जारी विज्ञप्तिमा मस्र्याङ्दी गाउँपालिकाका ६ जना, बेसीशहर नगरपालिकाका एक जना र सुन्दरबजार नगरपालिकाका ८ जना रहेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङको विज्ञप्ति अनुसार कुल संक्रमित संख्या ११६ पुगेको छ । 

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार आज संक्रमित हुनेहरुको ८ जना महिला र ७ जना पुरुष छन् । जसको उमेर १३ वर्षदेखि ४९ वर्षसम्म रहेको छ । उनीहरूमा बेसीशहर नगरपालिका– ३ की १३ वर्षीया बालिका छन् भने अन्यमा सोही नगरपालिकाका २२ र ३५ वर्षका महिला छन् । सो नगरपालिका पुरुष संक्रमितमा २१, २३, ३० र ४१ वर्षका पुरुष छन् । त्यस्तै, दोर्दी गाउँपालिका– १ का २३ वर्षीय पुरुष रहेका छन् । 

मस्र्याङ्दी गाउँपालिका– १ का २१ र ५५ वर्षका पुरुष तथा वडानं ३ का ४० वर्षीय पुरुष रहेका छन् भने महिलाहरू वडानं १ का २७, ३२, ३६ र ४९ वर्षीय छन् । वडानं ३ की ४२ वर्षीया महिला समेत संक्रमित भएको जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ । 

उता, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको विज्ञप्ति अनुसार मस्र्याङ्दी गाउँपालिका– १ का ५५ वर्षीया महिला तथा सोही वडाका २१, २७, ३२, ३६ र ४९ वर्षका पुरुष संक्रमित भएका छन् । त्यसैगरी, बेसीशहर रनगरपालिका– ८ की ४४ वर्षीया महिलालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै, सुन्दरबजार नगरपालिका– ९ भोटेओडारमा संक्रमित हुनेको संख्या ८ रहेको छ । उनीहरू २१, २८ र ५१ वर्षीया महिला छन् भने संक्रमित पुरुषहरूको उमेर १९ र २० वर्षका २÷२ जना तथा २४ वर्षका एक जना रहेका छन् । यसप्रकार सुन्दरबजारको तथ्यांक जिल्ला प्रकाशस कार्यालयका तथ्यांकमा नदेखिएको हुँदा ती ८ जना नयाँ संक्रमित थप हुने देखिएको छ । जसले गर्दा कुल संक्रमित १२४ पुगेको देखिन्छ । तर यसलाई जिल्ला प्रशासन कार्यालयबाट पुष्टि हुन बाँकी छ ।  

स्मरणीय के छ भने अहिलेसम्म प्राप्त जानकारी अनुसार कोरोना संक्रमितहरूलाई या त बाहिरबाट आएकाले कोरोना भिराएर गएका छन् । या त यस जिल्लाका रैथानेहरू बाहिर गएर संक्रमितहरूसँग घुलमिल भएर आएपछि उनीहरूमा संक्रमण पुष्टि हुन आएको छ । 

राइनास नगरपालिकाको गरमबेसीमा ज्यान गुमाउने महिलालाई बाहिरबाट आएका व्यक्तिले संक्रमित बनाएर गएका थिए । दूधपोखरी गाउँपालिकामा पनि बाहिरबाट आएकै व्यक्तिले सल्काएको पुष्टि हुन आएको छ । 

त्यस्तै, सुन्दरबजार नगरपालिका– ४ दुराडाँडाका ज्यान गुमाउने व्यक्ति र ३ का संक्रमितहरू काठमाडौंको विवाह भोजमा सहभागी भएर आएको बुझिएको छ । 

मस्र्याङ्दी गाउँपालिका– १ घनपोखराका व्यक्तिहरू एक जना विरामी लिएर काठमाडौं उपाचारका लागि गएको विरामीको उही निधन भयो । विरामीसँग गएकाहरू फर्केर गाउँ आएपछि उनीहरूमा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । 

भोटेओडारमा को कहाँ जान्छ वा को कताबाट आउँछ र कोसँग के छ भन्ने खासै पत्तो नहुने भद्रगोल स्थिति रहेको स्थानीयको गुनासो रहेको छ । 

No comments:

Post a Comment