अन्ततः लमजुङमा पनि लागू हुने भयो निषेधाज्ञा, पहिलो चरण जेठ ३ गतेसम्म - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, May 10, 2021

अन्ततः लमजुङमा पनि लागू हुने भयो निषेधाज्ञा, पहिलो चरण जेठ ३ गतेसम्म

अन्तरङ्ग संवाददाता

बेसीशहर । अन्ततः लमजुङमा पनि लागू हुने भएको छ– निषेधाज्ञा । लमजुङमा कोरोना भाइरस (कोभिड– १९) को दोस्रो प्रकोप बढ्दै गएपछि संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । पहिलो चरणमा त्यो अवधि एक साता रहने भएको छ । 

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले निषेधाज्ञा बैशाख २७ गते जारी गर्नु भएको ४ बुँदे विज्ञप्ति अनुसार २८ गतेराति १२ बजेदेखि जेठ ३ गते राती १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी हुने घोषणा गर्नु भएको हो । प्रजिअ लुईटेलद्वारा जारी आदेशमा अत्यावश्यक बाहेकका अन्य सबै सेवामा रोक लगाइएको उल्लेख छ । लमजुङमा दैनिकजसो दर्जनभन्दा बढी संख्यामा कोभिडका बिरामी भेटिन थालेका छन् । सदरमुकाममा मात्र नभएर दुराडाँडा, विचौर, घनपोखरा जस्ता गाउँगाउँमा समेत कोभिड– १९ का संक्रमितहरू पुष्टि हुन थालेपछि जिल्ला प्रशासनले निषेधाज्ञाको घोषणा गरेको हो । 

चार बुँदे विज्ञप्तिको घोषणामा के के गर्न पाइने र के के गर्न नपाईने भन्ने विवरण दिइएको छ । निषेधाज्ञा अवधिमा औषधि गर्न, खेतबारीमा काम गर्न र खाद्यवस्तु खरिद गर्ने अत्यावश्यक काम बाहेकका काममा घर बाहिर निस्कन पाइनेछैन । एम्बुलेन्स, बिरामी बोकेका गाडी, निर्माण सामग्री ढुवानी गरिएका साधन, पशुपंछीका दाना बोकेका गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेकका कुनै पनि निजी वा यात्रुबाहक सवारी साधन(मोटरसाइकल) समेत सञ्चालन गर्न पाइने छैन । 

यसैगरी, खाद्यन्न तथा तरकारी पसल विहान ६ बजेदेखि ९ बजेसम्ममात्र खोल्न पाइने । धार्मिक, सामाजिक, सांस्कृतिक क्रियाकलाप विवाह व्रतबन्ध आदि कुनै पनि जमघट हुने सबै प्रकारका क्रियाकलाप सञ्चालन गर्न नपाईने प्रजिअ होमप्रसाद लुइटेलले जारी गर्नु भएको उक्त विज्ञप्तिमा उल्लेख छ ।  

विभिन्न लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरूमा समेत कोभिड– १९ पुष्टि हुने क्रम जारी छ । 

आजका दिन यो समाचार तयार गर्दासम्म जिल्लामा कोरोना भाइरस(कोभिड– १९)का संक्रमित पुष्टि भएको संख्या १५२ जना पुगेको प्रशासनको भनाई छ ।

No comments:

Post a Comment