अन्तरङ्ग सम्वाददाता
चामे(मनाङ)– हिमाल पारीको जिल्लाको उपमा पाएको मनाङमा कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपका कारण संक्रमित भएका मध्ये कोरोनालाई जित्नेको संख्या पनि बढ्दै गएको छ । जिल्लामा एकै दिन जेठ ९ गते २३ जनाले कोरोना जितेका छन् । कुल निको हुने संख्या ३८ जना अर्थात ६८ प्रतिशत रहेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो प्रकोपका क्रममा मनाङमा कुल संक्रमित ६६ जना पुगेका छन् । यो संख्या गत वर्ष १० मात्र थियो । यो वर्षका संक्रमित तीमध्ये २३ महिला र पुरुष संख्या ३४ जना रहेका छन् । तीमध्ये बालिका ३ जना र बालक ६ जना गरी ६६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय मनाङका जनस्वास्थ्य अधिकृति एवम् कोरोनाका फोकल पर्सन सुदीप खत्रीले बताउनु भयो । उहाँका अनुसार कोरोना जित्ने ९ महिला र २४ पुरुष छन् भने एक बालक र ४ बालिका रहेका छन् । उहाँले भन्नुभयो, ‘जिल्लामा यतिबेला २८ जना सक्रिय संक्रमित रहेका छन् ।’ संक्रमित मध्ये ३८ जनाले कोरोनालाई जितेको र निको हुने ६८ प्रतिशत रहेको खत्रीले जानकारी दिनुभयो ।
संक्रमितमध्ये धेरैजसो होम आइसोलेशनमा बसेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । जनस्वास्थ्य अधिकृति खत्रीले भन्नुभयो, ‘जिल्लामा कुल ११ प्रतिशतको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।’ उपचारको क्रममा दुईजनालाई जेठ १० गते पोखरा रिफर गरिएको छ । ४ जना संस्थागत आइसोलेसनमा छन् भने अन्य संक्रमित २२ जना होम आइसोलेसनमा रहेको जनस्वास्थ्य अधिकृति खत्रीले उल्लेख गर्नु भयो । उहाँका अनुसार मनाङमा पहिलोचरणको प्राथमिकतामा परेरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी आदि छुटेकाहरूका लागि भोलि जेठ ११ गतेदेखि खोप लाउने तयारी समेत गरिएको छ ।
हालसम्ममा जिल्ला स्थित सामुदायिक आइसोलेशनमा छ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले बताउनु भयो । उहाँका अनुसार मनाङका चार स्थानीय तहमध्ये संक्रमितहरू दुई वटा पालिकामा मात्र रहेका छन् । उहाँले भन्नुभयो, ‘दोस्रो लहरको कोरोना संक्रमणबाट सदरमुकाम रहेको चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा बढी प्रभाव पारेको छ ।’ नासों गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा संक्रमितको संख्या शून्य रहेको छ ।
हाल मनाङमा संक्रमित थपिने क्रम न्यून हुँदै गएको आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जिल्लाको सामुदायिक आइसोलेशन र होम आइसोलशनमा रहेका सबै संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य छ ।’
मनाङमा ठूलो सानो गरी २९ अक्सिजन सिलिण्डर छन् । तीमध्ये ११ वटा अक्सिजन सिलिण्डर खपत भइसकेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।
चामे गाउँपालिकामा दुई वटा अक्सिजन कन्सन्टे«टर र दुई वटा साना अक्सिजन सिलिण्डर स्वास्थ्य कार्यालय प्रमुख आचार्यले बताउनु भयो । यहाँका अनुसार मनाङ ङिस्याङ गाउँपालिकामा तीन अक्सिजन कन्सन्टे«टर र १३ वटा साना सिलिण्डर रहेकोमा नौ वटा अक्सिजन सिलिण्डर खपत भइसकेको छ । उहाँले भन्नुभयो, ‘नार्फु गाउँपालिकामा अक्सिजन सिलिण्डर छैन तर अक्सिजन कन्सन्टे«टर पाँच थान छन् ।’ त्यसैगरी, नासो गाउँपालिकामा दुई वटा अक्सिजन कन्सन्टे«टर र एक सानो अक्सिजन सिलिण्डर रहेको आचार्य बताउनु हुन्छ । उहाँका अनुसार यहाँ हाइअल्टिच्युड हुने भएकाले अक्सिजन कम भएको अवस्थामा उपयोग गर्न यहाँका मानिसले प्रायः अक्सिजनको व्यवस्थापन गरेका हुन्छन् । उहाँले भन्नुभयो, ‘मनाङ हिमाली क्षेत्र भएकाले यहाँका प्रत्येक होटल तथा बेसक्याम्पमा अक्सिजन राख्ने गरिएको छ ।’
मनाङ जिल्लामा कुल ४७ शय्याको आइसोलेशन छ । तीमध्ये सदरमुकाम रहेको चामे गाउँपालिकामा १०, जिल्ला अस्पताल मनाङमा सात, मनाङ ङिस्याङ गाउँपाकिलामा १३, नासो गाउँपालिकामा १२ र नार्फु गाउँपालिकामा पाँचवटा आइसोसन रहेका छन् जनस्वास्थ्य अधिकृत खत्रीले जानकारी दिनुभयो ।

No comments:
Post a Comment