अन्तरङ्ग संवाददाता
बेसीशहर– लमजुङमा कोरोना संक्रमित संख्या जेठ २ गते थप भएर २२५ पुगेसँगै निषेधाज्ञा एक साताका लागि थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय लमजुङले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाजेठ १० गतेसम्मका लागि आज थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा आउँदो एक साताका लागि थप गर्नु भएको हो । यसअघि पहिलो चरणमा जारी गरिएको निषेधाज्ञा भोलि जेठ ३ गते रातको १२ बजेसम्मका लागि थियो । निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा सो अवधि सकिएको समयदेखि लागुहुने गरी जेठ १० गते सम्मको लागि निषेधाज्ञालाई थप गरिएको उल्लेख छ । यो भन्दा अघि प्रशासनले वैशाख २९ गतेदेखि जेठ ३ सम्मको लागि निषेधाज्ञा जारी गरेको थियो । कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपले तीव्र गति लिन थालेको हुनाले यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याएको हो ।
यसैबीच, लमजुङमा कोरोना संक्रमितको कुल संख्या २२५ जना पुगेको छ । आज २४ जना थप भएसँगै संक्रमितको कुल संख्या २२५ पुगेको हो । आज संक्रमण पुष्टि हुनेमा ८ जना महिला र १६ जना पुरुष रहेका छन् । उनीहरूको सबैभन्दा कम उमेर २५ वर्ष र अधिक उमेर ८९ वर्ष रहेको छ । अधिक उमेरका पुरुष मध्यनेपाल नगरपालिका– ४ का हुन् भने महिला पनि सोही नगरपालिकाको सोही वडाकी हुन् । उक्त वडामा २४ र २६ वर्षका पुरुष र २७ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको आजै जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, अन्य संक्रमितमा मध्यनेपाल नगरपालिका– ६ का २६ वर्षीय पुरुष, सोही नगरपालिका– ७ का ५४ वर्षका पुरुष तथा ६२ र ६३ वर्षीय महिला छन् ।
यसैगरी, राइनास नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू वडानं– १ का हुन् । उनीहरूको उमेर ५८ र ८० वर्षीया महिला छन् भने ३४ वर्षका दुईजना, ४६, ४९, ६०, ६४ र ६८ वर्षका पुरुषमा संक्रमण पुष्टि हुन आएको छ । यसैगरी, आज संक्रमण पुष्टि हुने अन्य व्यक्तिमा बेसीशहर नगरपालिका– ७ का ५७ वर्षका पुरुष, सोही नगरपालिका– ८ की ६६ वर्षीया महिला, मस्र्याङ्दी गाउँपालिका– ८ का ३१ वर्षका पुरुष, सुन्दरबजार नगरपालिका– २ का ३६ वर्षका पुरुष, दोर्दी गाउँपालिका– ५ का ६२ वर्ष र सोही गाउँपालिका– ९ का ३१ वर्षका पुरुष रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।


No comments:
Post a Comment