अन्तरङ्ग संवाददाता
बेसीशहर– भारतीय दुताबासबाट भारतीय भुपूसैनिक विकास समिति लमजुङलाई एक एम्बुलेन्स प्राप्त भएको छ । दुताबासले भारतको गणतन्त्र दिवस २०२१ का अवसरमा एक कार्यक्रमका बीचमा उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
काठमाडौंका आयोजना गरिएको एम्बुलेन्स तथा बस हस्तान्तारण कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनयमोहन कोत्रले भारतीय भुपूसैनिक विकास समिति लमजुङका अध्यक्ष क्याप्टेन खड्गबहादुर गुरुङलाई उक्त एम्बुलेन्सको चावी हस्तान्तरण गर्नु भएको थियो । अध्यक्ष क्याप्टेनका अनुसार उक्त एम्बुलेन्स बैशाखको अन्तिम साताबाट सञ्चालनमा आएको छ । क्याप्टेनले भन्नुभयो, ‘सो एम्बुलेन्स यस जिल्लामा ल्याएर बैशाख १८ गतेका दिन भुपूसैनिक विकास समिति लमजुङका निवर्तमान अध्यक्ष क्याप्टेन शेरबहादुर गुरुङले उदघाटन गर्नु भएको हो ।’
उक्त एम्बुलेन्सबाट भुपूसैनिक विकास समिति लमजुङ अन्तरगत यस जिल्लामा रहनु भएका भारतीय भूपूहरू, उहाँका परिवारका सदस्यहरू, बीर महिला, एकल महिला तथा बालबालिकाहरूलाई सेवा दिइने भएको छ । यसको दररेट निर्धाण गर्न बाँकी रहेको भुपूसैनिक विकास समिति लमजुङका अध्यक्ष क्याप्टेनले बताउनु भयो । उहाँका अनुसार छिट्टै समितिको बैठक बसेर सेवा शुल्क र दिन सकिने सहुलियतका बारेमा निर्णय गरिने छ । भुपूसैनिक विकास समिति लमजुङको सदस्यहरुलाई विशेष छुटको प्रवन्ध रहेको क्याप्टेनले जानकारी दिनुभयो । भारतीय भुपूसैनिक विकास समिति लमजुङ मुलत यस जिल्लामा बसोबास गरिआउनु भएका भारतीय भूपूहरू, उहाँका परिवारहरू, बीर नारीहरू एवम् एकल महिलाहरू तथा बालकालिकाहरूको सेवा गर्ने उद्देश्यले २०५७ सालमा स्थापना गरी सञ्चालन हुँदै आएको छ ।
लमजुङमा भुपूसैनिक विकास समितिमार्फत विभिन्न प्रकारका सामाजिक सेवाका कार्यहरू वर्षौं अघिदेखि हुँदै आएको भए पनि एम्बुलेन्स सेवा प्राप्त भएको यो दोस्रो पटक हो । यसअघि २०५७ सालमा पहिलो पटक प्राप्त भएको एम्बुलेन्स थोत्रिएर सेवा दिन सक्ने अवस्थाको नभएका कारण दोस्रो माग गरिएको भुपूसैनिक विकास समिति लमजुङका अध्यक्ष क्याप्टेन खड्गबहादुर गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो सहयोगबाट नेपाल– भारत मैत्री सम्बन्धमा थप बल पुगेको सन्देश प्रवाह भएको छ ।’

No comments:
Post a Comment