स्वस्तिका पन्थी/अन्तरङ्ग
धमिलिकुवा(लमजुङ)– लमजुङको राइनास नगरपालिका– ७ मा रहेको सहोदर सामुदायिक अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट राख्न पहल गरिएको छ । विद्यमान विषम परिस्थितिको आंकलन गर्दै जिल्लाको पूर्वी क्षेत्रमा रहेको एकमात्र सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट राख्न पहल जेठ ९ गते गरिएको हो ।
कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपले मानिसहरूको अकालमा ज्यान गुमाइरहेको स्थितिलाई आंकलन गरी त्यो भयावह अवस्थालाई रोक्नका लागि उक्त अस्पतालमा अक्सीजन प्लान्टको व्यवस्था गर्न लागिएको हो । सो अस्वतालमा उक्त व्यवस्था मिलाउन सकेको खण्डमा लमजुङको पूर्वी क्षेत्रमा रहेका राइनास नगरपालिका बाहेक दुधपोखरी गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका र पालुनटार नगरपालिकाका साथै तनहुँको भानु नगरपालिकाका केही वडाका बासिन्दाहरू समेत लाभान्वित हुन सक्ने छन् । यस पुण्यकार्यमा बिषेश गरी विदेशमा रहनु भएका राइनासबासी युवाहरूको पहलमा प्लान्ट राख्ने अभियान शुरु भएको हो । त्यस कार्यलाई उपलब्धीपूर्ण बनाउन छलफल गरिएको अभियन्ता महेन्द्र चौलागाईले जानकारी दिनुभयो । उहाँको अनुसार छलफलमा विदेशका विभिन्न देशमा रहनु भएका युवाहरू, राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापा, वडाअध्यक्ष माधव पराजुली, स्थानीय तथा राजनीतिज्ञ देबेन्द्र पराजुली, तुलसीनारायण श्रेष्ठ आदि सहभागी हुनुहुन्थ्यो । उहाँहरू सबैले अभियान सफल बनाउन आफूहरूको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अभियानका लागि पूर्ण पोखरीया(हाल कतार) संयोजक रहेको एक समिति गठन गरिएको छ । त्यसैगरी, समितिको उप–संयोजकमा हरि चिलुवाल(हाल कतार) हुनुहुन्छ । यसैगरी, उक्त समितिको सदस्यहरूमा महेन्द्र चौलागाई(हाल साउदी), देवकी पराजुली(नेपाल), हरि भुजेल(हाल अमेरीका) रहनु भएको छ । त्यसैगरी, देवेन्द्र पराजुलीको नेतृत्वमा सल्लाहकार समिति पनि बनाइएको छ । सल्लाहकारहरूमा उक्त सहोदर अस्पतालका सञ्चालक डा. शिव श्रीमल, रमेश चिलुवाल, दिनेस चिलुवाल र देव भुजेल रहनु भएको छ ।

No comments:
Post a Comment