लमजुङमा भूकम्प अपडेट : भूकम्पका कारण एक दुई दिने सुत्केरीको टनेलमा बास, ६ जना घाइते एक गम्भीरको रिफर, ७३ घरमा क्षति - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, May 19, 2021

लमजुङमा भूकम्प अपडेट : भूकम्पका कारण एक दुई दिने सुत्केरीको टनेलमा बास, ६ जना घाइते एक गम्भीरको रिफर, ७३ घरमा क्षति

लमजुङमा भूकम्प अपडेट : भूकम्पका कारण एक दुई दिने सुत्केरीको टनेलमा बास, ६ जना घाइते एक गम्भीरको रिफर, ७३ घरमा क्षति

नवराज पहाडी

बेसीशहर– लमजुङमा जेठ ५ गतेका दिन विहान गएको भूकम्पका कारणले गर्दा दुई दिनकी एक सुत्केरीको टनेलमा बास हुने भएको छ । भूकम्पबाट एक गम्भीरसहित ६ जना घाइते भएका छन् । जिल्लाको विभिन्न स्थानमा ७३ घरमा क्षति पुगेको विवरण प्राप्त भएको र क्षतिको विवरण आइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

भूकम्पका कारण बसोबास गरी आएको घर भत्किएपछि दोर्दी गाउँपालिका– ८ को द्वार गाउँकी २३ वर्षीया दिलमाया मगरको टनेलमा बास हुने स्थिति उत्पन्न भएको अन्तरङ्गका व्युरो प्रमुख विष्णुकुमार श्रेष्ठले जानकारी दिनु भएको छ । (फोटो संलग्न छ) । उहाँका अनुसार दिलमाया हिजोमात्र अस्पतालमा सुत्केरी भएर घरमा जानु भएको हो । 

दोर्दी गाउँपालिकामा हालसम्म प्राप्त विवरण अनुसार कुल ११ घरमा क्षति पुगेको छ । तीमध्ये वडानं– ७ को लप्सिबोट गाउँका केहरसिंह कामी र बुद्धिमाया तामाङको घर पूर्ण रुपमा क्षति भएको छ । 

आज एकविहानै ५.४२ बजेको समयमा भूकम्पको पहिलो पटक आएको थियो । त्यसपछि पटक पटक परामक्पन गइरहेको छ । साँझ ५.३३ बजेपनि धक्का अनुभव भएको स्थानीयले बताएका छन् । भूकम्प मापन केन्द्रले त्यसको केन्द्रविन्दु लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दी गाउँपालिका– ८ को भूलभूलेमा रहेको र ५.८ रेक्टर मापन भएको भूकम्प मापन केन्द्रले जनाएको छ । विहानै पौने नौ बजे पुनः ५.३ रेक्टरको भूकम्प गएको थियो । त्यसअघि ८ पटकसम्म पराकम्पनको अनुभूति गरिएको स्वतन्त्र पत्रकार संघका पूर्वजिल्ला अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनु भयो । उहाँका अनुसार साँझ ६:३३ बजे पनि भूकम्पको धक्का अनुभूति भएको छ । 

उक्त भूकम्प आउँदा बार्दलीमा सुतिरहेका मर्स्याङ्दी गाउँपालिका– ६ को ठूलीबेसी गाउँका २२ वर्षीय गोविन्द अधिकारी त्यहीबाट हाम्फाल्दा उनको टाउकोमा चोट लागी बेहोस भएका थिए । उनको उपचारका लागि जिल्ला अस्पताल ल्याएको र प्रार्थमिक उपचारपछि सिटिस्क्यान गर्नु पर्ने भएको र यहाँ सो सेवा नभएका कारणले भरतपुर रिफर गरिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । 

यसैगरी, अन्य घइतेमा बेसीशहर नगरपालिका– ६ को चनौटे गाउँ निवासी महेन्द्र गुरुङको घरमा डेरा गरी बसेकी मर्स्याङ्दी गाउँपालिका– ६ घेर्मुकी ४० वर्षीया उमा गुरुङलाई घरको पुतली गाह्रो भत्किएर पुर्दा घाइते भएकी थिइन् । उनको उद्दर गरी जिल्ला अस्पतालबाट उपचार गरी साँझ ५ बजे डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ । बेसीशहर नगरपालिका– ११ को रामचोक बेसीकी ८३ वर्षीया खुवकुमारी पाण्डेको घर भत्किदा खुट्टा र हातमा चोट लागेको प्रहरीले जनाएको छ । उनको पनि जिल्ला अस्पतालमा उपचारपछि साँझ डिस्चार्ज गरिएको छ । 

त्यस्तै, बेसीशहर नगरपालिका– ८ को ओख्लेफाँट टोलमा बस्ने स्वतन्त्र पत्रकार संघ नेपालकी जिल्ला अध्यक्ष २९ वर्षीया खुशीमाया गुरुङको भूकम्प आएका बेलामा दौडधुप गर्ने क्रममा लडेर गोडामा चोट लाग्नुका साथै कर्मिएको छ । उहाँ पनि जिल्ला अस्पतालमा उपचारपछि घरमै आराम र उपचार गर्ने गरी फर्किएको प्रहरी भनाई छ ।

यसैगरी, दोर्दी गाउँपालिका– ७ को लप्सीबोट गाउँमा बस्ने ८३ वर्षीया मंगलीमाया तामाङ आफ्नै घरको गाह्रो भत्किएर खसेको ढुंगा लागेर घाइते भएकोमा उपचारपछि घर फर्कीएको जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनु भयो । उहाँका अनुसार बेसीशहर नगरपालिका– ८ को सेरामा बस्ने ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ शौचालय जानेक्रममा भूकम्पका धक्काले लडेर चोट लागेकोमा जिल्ला अस्पतालमा उपचार पछि उनीपनि साँझ डिस्चार्ज भएकी छन् । 

भूकम्पका कारण क्ब्होलासोंथर गाउँपालिका– १ कपुरगाउँका तीन घरमा क्षति पुगेको हुँदा ती परिवारलाई अन्यत्र बस्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो गाउँका गञ्जु गुरुङ, गञ्जु गुरुङ र मग्दिमाया गुरुङका परिवारजन सबै स्थानीय आमा समूहले निर्माण गरेको भवनमा बसेका छन् । सो पालिकामा अन्य ४ घर भत्किएको विवरण आएको प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै, सुन्दरबजार नगरपालिका– ३ दुराडाँडाको च्यानपाटाका गोरे क्षत्रीको ढुंगामाटोले बनाई जस्तापाताले छाएको एक तले घर भत्किएको छ । सोही नगरपालिका– १० का दिननाथ तिवारीको घर चर्किएको छ । यसैगरी, बेसीशहर– ११ को चितिमा स्वतन्त्र पत्रकार संघका जिल्ला कोषाध्यक्ष वासुदेव सेढाई र उहाँका छिमेकी कल्याणबाबु सेढाईको घर बस्न नमिल्ने गरी चर्किएको छ । 

यसैबीच, भूकम्पका कारणले गर्दा जिल्लाको विभिन्न स्थानमा ७३ वटा घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । क्षतिको विवरण आइरहेको सो कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पुराना र ढुंंगा माटोले बनेका घरमा बढी क्षति भएको छ । उहाँले भन्नुभयो, ‘सबैभन्दा बढी क्षतिको विवरण बेसीशहर नगरपालिकाबाट आएको छ । बेसीशहर नगरपालिकामा ४० वटा घरमा क्षति भएको विवरण आएको छ ।’ बेसीशहरमै रहेको प्रमुख जिल्ला अधिकारीको निवास समेत चर्किएर बस्न जोखिम भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले उल्लेख गर्नु भयो । 

अन्य क्षतिमा भूकम्पको केन्द्र रहेको मस्र्याङ्दी गाउँपालिका– ८ भूलभूलेका नरबहादु गुरुङको घर भत्किएको छ भने वडानं– ३ को तरापु गाउँका बासुदेव खत्रीको घर पनि भत्किएको छ । मध्यनेपाल नगरपलिका– ७ को लक्ष्मीबजारका विलास पोखरेलको घर भत्किएको छ भने सोही नगरपालिका– २ को चैनपुर टोलका इन्द्रचन ठकुरकिो एक तले घर भत्किएको छ । सोही नगरपालिका– ५ को पराजुलीबेसीका नवराज तिवारीको धन्सार भत्किन गएको छ । 

यसैगरी, जिल्ला प्रहरी कार्यालयमा रहेको जुनियर प्रहरीहरूको भाञ्सा घर र प्रहरी निरीक्षकहरूको भान्साघर चर्किएर तिनमा भाञ्साको काम गर्न जाखिम भएको सो कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिनु भएको छ ।  

No comments:

Post a Comment