अन्तरङ्ग संवाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपका क्रममा जेठ ५ गते थप १२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कुल संक्रमित संख्या ३१६ पुगेको छ ।
आज थप हुनेमा बेसीशहर नगरपालिकाका सबैभन्दा धेरै ४ जना रहेका छन् । सुन्दरबजार नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा ३/३ जना थपिएका छन् भने मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकामा १/१ जना थप भएको जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
थप भएका संक्रमितको उमेर २६ वर्षदेखि ६३ वर्ष रहेको छ । उनीहरू क्रमशः मर्स्याङ्दी गाउँपालिका– ३ र सुन्दरबजार नगरपालिका– २ का बासिन्दा हुन् ।
मर्स्याङ्दी गाउँपालिका– ३का २९ र ३५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुन्दरबजार नगरपालिका– ५ का ३१ र ११ का २७ वर्षका पुरुषमा पनि आजै संक्रमण पुष्टि हुन आएको छ ।
त्यस्तै, बेसीशहर नगरपालिका– २ का ३३ वर्षका पुरुष, ५ का ३० वर्षीय महिला र वडानं– ७ का ४३ र ४६ वर्षका पुरुष रहेका छन् । मध्यनेपाल नगरपालिका– ३ का ३२ वर्षीयामा संक्रमण पुष्टि भएको छ भने दूधपोखरी गाउँपालिका– ४ का ३८ वर्षीया महिला संक्रमित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No comments:
Post a Comment