माइक्रोसफ्टका संस्थापक बिल गेट्स दम्पतीले गरे २७ वर्ष लामो वैवाहिक सम्बन्ध विच्छेद - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, May 6, 2021

माइक्रोसफ्टका संस्थापक बिल गेट्स दम्पतीले गरे २७ वर्ष लामो वैवाहिक सम्बन्ध विच्छेद

अन्तरङ्ग संवाददाता/विभिन्न एजेन्सी– 

काठमाडौं– माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् । दुबैले आफ्नो साझा बयान जारी गरेर आफ्नो विवाह समाप्त भएको घोषणा गरेका हुन् । २७ वर्षको लामो समयसँगै बिताएपछि अचानक यतिबेला सम्बन्धविच्छेद लिएको कुराले सबैलाई अचम्मित पारेको छ । उनीहरूले आफूहरूको २७ वर्ष लामो वैवाहिक सम्बन्ध तोडिएको जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गर्दै लेखेका छन्, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । अचम्म त के छ भने, सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरूले जानकारी दिएका छन् । बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनको शुरुवात यी दुईले सन् १९९४ मा गरेका हुन् । त्यस फाउन्डेशनले स्वास्थ्य, शिक्षा र विकासको मुद्दामा काम गर्छ । सन् २०१९ मा एक फेसबुक लाइभमा बिलले भनेका थिए, ‘एकसाथ काम गर्नुका साथै एउटा परिवारलाई सम्हाल्नु चुनौतीयुक्त काम हो । हामी निकै भाग्यमानी छौं, किनभने हामी धेरैजसो चिजलाई एउटै दृष्टिकोणले हेर्छौं, हामी दुईको लक्ष्य असाध्यै समान छ ।’

कुनै दिन बिलले मेलिन्डाको तारिफ गर्दै उनलाई वास्तवमा नै सच्चा साथी बताएका थिए । बिलले भनेका थिए, ‘मेलिन्डा एक सकारात्मक दृष्टिकोण राख्छिन् र मभन्दा निकै राम्रो तरिकाले मानिसहरूलाई भेट्छिन् । उनी मभन्दा पनि उत्कृष्ट मानिस हुन् ।’ 

बिल गेट्स र मिलिन्डा गेट्स एक छोरा र दुई छोरीका आमा–बुवा हुन् । छोराको नाम ररी र छोरीको नाम जेनिफर र फियोबी हो । बिल गेट्सको कूल सम्पत्ति यतिबेला १४६ बिलियन डलर छ । बिल गेट्सले सन् २०१७ मा उनका प्रत्येक सन्तानलाई पैतृक सम्पत्तिको १० मिलियन डलर मात्रै दिइने बताएका थिए । 

तीनै बच्चाले पैतृक सम्पत्तिको १०–१० मिलियन डलर मात्रै पाउने, यो बिल गेट्सको कूल सम्पत्तिको १ प्रतिशतभन्दा पनि कम अर्थात् तीनै सन्तानलाई कूल ३० मिलियन डलरको सम्पत्ति दिइनेछ । बिल र मिलिन्डाले उनीहरुको कूल सम्पत्तिको ९५ प्रतिशत हिस्सा समाजसेवाका लागि दान दिइने घोषणा गरिसकेका छन् । यसका लागि यी दुईले बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशनको स्थापना गरिसकेका छन् ।

विल र मेलिन्डाकी छोरी जेनिफर स्ट्यानफोर्डमा मेडिकलको पढाई गरिरहेकी छिन् । जेनिफरले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक बयान जारी गरेकी छिन् जसमा उनले आफ्ना आमा–बुवा अलग्गिएको विषयमा लेखेकी छिन् ।

पोस्टमा जेनिफरले लेखिन्, ‘यो हाम्रो पूरा परिवारका लागि एक चुनौतीपूर्ण समय हो । म अहिले पनि सिकिरहेकी छु कि यो समय म आफूलाई सम्हाल्नुका साथै परिवारका अन्य मानिसहरूलाई ध्यानमा कसरी राखुँ । म दुबैको डिभोर्सबारे कुनै निजी टिप्पणी गर्न चाहन्नँ । तपाईंहरू सबैको समर्थन र सहयोगका लागि धन्यवाद ।’ आउनुहोस् बिल गेट्स र मेलिन्डाको प्रेम कहानीदेखि सम्बन्धविच्छेदसम्मको संक्षिप्त जानकारी लिऔं– 

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर शुरु गरेकी थिइन् । उनीहरूको विवाह सन् १९९४ मा भएको हो । त्यतिबेला बिलको उमेर ३८ थियो र मेलिन्डा २९ वर्षकी थिइन् । यी दुईका सन्तान तीन जना छन् । सन् १९९६ मा मेलिन्डाले आफ्नी जेठी छोरी जेनिफर जन्माइन् । त्यसपछि सन् १९९९ मा छोरा रोरी र सन् २००२ मा कान्छी छोरी फोएबेकी आमा बनिन् । सन्तान जन्माएको ९ वर्षपछि मेलिन्डाले माइक्रोसफ्ट छोडिन् । यद्यपि, उनले काममा आफ्ना श्रीमानलाई भने सघाइरहेकी थिइन् ।

– बिल गेट्सको पुरा नाम विलियम हेनरी गेट्स हो । उनी सन् १९८६ मा गेट्स अर्बपतीको सूचीमा समावेश भइसकेका थिए । सन् १९९५ मा दुनियाँका सबैभन्दा धनी व्यक्ति बने र थुप्रै वर्षसम्म यो स्थानमा रहेका उनी पछिल्लो तीन वर्षदेखि गेट्स र अमेजनका जेफ बेजोस बीच संसारको सबैभन्दा धनी व्यक्तिका लागि प्रतिस्पर्धा गर्दै छन् । फोर्ब्सको पछिल्लो सूचीमा गेट्स चौथो नम्बरमा छन् त्यसको शीर्ष स्थानमा बेजोस् दरिएको छन् ।

– उनले १३ वर्षको उमेरमा पहिलो सफ्टवेयर प्रोग्राम लेख्ने गेट्सको जन्म सिएटलमा २८ अक्टोबर सन् १९५५ मा भएको थियो । हाईस्कूलमा पढाईका बेला स्कूलको परोल सिस्टम बनाइरहेका एक गु्रपलाई मद्दत गरे र ट्रेफ–ओ–डेटा बनाए, जसले स्थानीय सरकारलाई ट्राफिक काउन्टिङ सिस्टम्स बेच्यो ।

– हार्वर्ड युनिभर्सिटीको पढाईका बेला पाल जी. एलन जस्ता साथी पाए र उनले माइक्रोसफ्टको जरा गाडे । इन्टरनेशल बिजनेस मसिन्स (आइबीएम) कर्पोरेशनका लागि एमएस–डस बनाए र कम्पनी हिट बन्यो । सन् १९९० को दशकको सुरुवातसम्म पीसी इन्डष्ट्रिमा माइक्रोसफ्ट अल्टिमेट किंगमेकर बनिसकेको थियो ।

– जून २००८ मा गेट्सले माइक्रोसफ्टको दैनिक काम कारवाहीबाट आफूलाई अलग्गयाएका थिए । उनी यसो गरेर बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशनलाई धेरैभन्दा धेरै समय दिन चाहन्थे । तर उनले फेबु्रअरी सन् २०१४ मा अध्यक्ष पद समेत छोडे ।

सन् २०१९ मा नेटफ्लिक्समा रिलिज भएको ‘इनसाइड बिल्स ब्रेन’ सिरिजमा बिल गेट्सका निजी जीवनबारे धेरै  खुलाइएको छ । उक्त डकुमेन्ट्रीले मेलिन्डाले सन् १९८७ मा प्रोजेक्ट म्यानेजरको रुपमा माइक्रोसफ्ट जोइन गरेकी थिइन् । एक बिजनेस डिनरका बेला पहिलो पटक बिलको भेट मेलिन्डासँग भयो र दुबैको निकटता बढ्न थाल्यो ।

शुरुमा बिल र मेलिन्डा आफ्नो सम्बन्धको विषयमा गम्भीर थिएनन् । डकुमेन्ट्रीको एउटा भागमा बिल भन्छन्, ‘उनका अरु पनि प्रेमी थिए र मसँग माइक्रोसफ्ट थियो । हामी दुईजना एक–अर्काको विषयमा गम्भीर थिएनौं न नै एक–अर्कासँग समय बिताउन चाहन्थ्यौं ।’ यद्यपि, एक वर्षको भेटघाटपछि उनीहरूको कहानी फेरियो ।

एकदिन बिलले अचानक मेलिन्डालाई ‘आई लभ यू’ भनिदिए । मेलिन्डाले पनि बिलसँग आफ्नो प्रेम व्यक्त गरिन् । बिलले भने, ‘हामी एक–अर्काको असाध्यै हेरविचार गर्दथ्यौं र हामीसँग दुईवटा मात्रै सम्भावना थिए । कि त ब्रेकअप गर्ने कि विवाह ।’ डकुमेन्ट्रीमा मेलिन्डा हाँस्दै भन्छिन्, ‘उनले एउटा निर्णय लिनुपर्ने नै थियो । एकदिन म बिलको कोठामा गएँ जहाँ उनी आफ्नो ह्वाइट बोर्डमा विवाह गर्दाका फाइदा र हानीबारे एउटा सूची तयार पारिरहेका थिए ।’

मेलिन्डाका अनुसार बिल विवाह त गर्न चाहन्थे तर उनी माइक्रोसफ्ट चलाउनुका साथै विवाहलाई पनि निभाउन सक्लान् त भन्ने द्विविधामा थिए । यस्तै बिलले आफूले विवाहको विचारलाई निकै गम्भीरताका साथ लिएको बताएका थिए ।

बिल गेट्सले सन् १९७० को दशकमा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका हुन् । उक्त माइक्रोसफ्टमा मेलिन्डाले सन् १९८७ मा प्रोडक्ट म्यानेजरको रूपमा काम शुरू गरेकी थिइन् । त्यसपछि प्रेममा परेको यो जोडीले सन् १९९४ विवाह गरेको हो । 

यसैबीच, दुई दिनअघि डिभोर्सको घोषणा गरेका माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी धनाढ्य बिल गेट्सले श्रीमती मेलिन्डा गेट्सको नाममा २.४ अर्ब डलर बराबरको सेयर ट्रान्सफर गरेका छन् । वाल स्ट्रिट जर्नलका अनुसार उनीहरूले सामाजिक सञ्जालमा २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकै दिन सेयर पनि मेलिन्डाको नाममा ट्रान्सफर भएको हो ।

आफ्नो नाममा सेयर आएपछि मेलिन्डा अब दुई मेक्सिकन कम्पनीहरू बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसएकी ठूलो सेयरहोल्डर भएकी छन् ।

कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुन् । फोर्ब्स म्यागजिनका अनुसार उनीसँग अहिले १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

स्मरणीय छ, यसअघि अमेजनका मालिक अर्बपति जेफ बेजोसले पनि आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरेका थिए । 


No comments:

Post a Comment