अन्तरङ्ग संवाददाता
काठमाडौं– कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपका कारण १३ जना पत्रकारले ज्यान गुमाएका छन् । यतिबेला मुलुकभर २५० वढी सक्रीय संक्रमित रहेका छन् । यो जेठ २ गतेसम्मको रेकर्ड हो ।
यतिबेला मुलुकभर गरि करिब ८ सय जना पत्रकार कोरोना संक्रमित भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार तीमध्ये २५० भन्दा बढी सक्रिय संक्रमित छन् । यो बीचमा संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन् । ४० जना अस्पतालमा उपचार गराइरहेका छन् भने ६ जनाको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।
पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारहरुलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको बताउँदै पत्रकार महासंघको केन्द्रीय कार्यालयमा रहेको आवासगृहमा आइशोलेसन बेड निर्माण गरेको छ ।
नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई चेतावनी दिएको छ । कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निस्काशन नगर्न आग्रह गर्दैै कोभिड १९ को पहिलो लहरमा जस्तौ दोश्रो लहरमा पनि पत्रकारहरुलाई निस्काशन गर्न सुरु गरिएको र निष्काशित भएका पत्रकारहरूको निम्ति महासंघले कानूनी लडाइँ लड्नुको साथै दबाबमुलक काम गरिरहेको बताउनु भयो ।
कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरूलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि बहानामा पत्रकारको रोजगारी नखोस्न चेतावनी दिएको हो । महासचिव पुरीले महासंघले कोभिडको दोश्रो लहरमा निस्काशनमा परेका ९ जनाको पुर्ननियुक्ति समेत गराएको बताउँदै ५ वटा सञ्चार माध्यमलाई ७ दिन भित्र पत्रकारहरूको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उल्लेख गर्नु भएको छ ।

No comments:
Post a Comment