एजेन्सी–
म्यानमार– यहाँ भएको प्रजातान्त्रिक कुको विरुद्धको आन्दोलनमा सैनिक सरकारले १ लाख २५ हजारभन्दा बढी शिक्षकहरूलाई निलम्बन गरिदिएको छ । नागरिक अवज्ञा आन्दोलनमा सहभागी भएको भन्दै म्यानमारको सत्ता हत्याएको सैनिक शासकले ती शिक्षकहरूले तत्कालका लागि जागिर गुमाउनु परेको जेठ ९ गते खुलासा भएको हो ।
म्यानमार टिचर्स फेडेरेसनका अनुसार गत फेब्रुअरी १ मा कूमार्फत् सत्ता हत्याएको सेनाले त्यसको विरोधमा भएको नागरिक अवज्ञा आन्दोलनमा साथ दिएकाले अभियोगमा उनीहरूको नोकरी खोसिएको हो । जुन्ता सरकारले म्यानमारमा नयाँ शैक्षिक सत्र शुरू हुनुभन्दा केही दिनअघि निलम्बनको निर्णय गरेको हो । झन्डै १९ हजार पाँच सय जना विश्वविद्यालयका कर्मचारीलाई पनि निलम्बन गरिएको शिक्षक समूहले बताएको छ ।
यही कारणले केही अभिभावक र शिक्षकले नयाँ शैक्षिक सत्र बहिष्कार गर्ने बताइसकेका छन् । सैनिक सरकारले उनीहरूविरूद्ध विभिन्न खाले मुद्दा भिराएको छ र काममा फर्किएपछि मुद्दा फिर्ता गर्ने बताएको छ । ‘यो नागरिकहरूलाई काममा फर्काउनका लागि धम्क्याउने तरिकामात्र हो । यदि उनीहरूले यी सबैलाई जागिरबाट निकाले भने पूरा प्रणाली नै रोकिन्छ,’ फेडेरेसनका एक अधिकारीले बताएका छन् ।
सरकारले चलाएको ग्लोबल न्यु लाइट अफ म्यानमार समाचार पत्रले सबै विद्यार्थी र शिक्षकलाई विद्यालयमा फर्कन भनेको छ । तर यस सम्बन्धमा सैनिक शासक र शिक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएका छैनन् । म्यानमारका विद्यालयमा चार लाख ३० हजार शिक्षक छन् ।
सेनाले सत्ता लिएपछि स्वास्थ्य क्षेत्रका सहित धेरै सरकारी र निजी क्षेत्रका कर्मचारी काम छोडेर नागरिक अवज्ञा आन्दोलनमा लागेका थिए ।
जुनबाट शुरू हुने म्यानमारको नयाँ शैक्षिक सत्रका लागि आउँदो सातादेखि भर्ना शुरू हुँदैछ । तर केही अभिभावकहरूले आफ्ना सन्तानलाई विद्यालय नपठाउने तयारी गरेका छन् । एक अभिभावकले भने, ‘म मेरी छोरीलाई विद्यायलमा भर्ना गर्ने छैन किनकी म उनलाई सैनिक तानाशाहबाट शिक्षा दिन चाहन्नँ। मलाई उनको सुरक्षाको पनि चिन्ता छ ।’ यसैगरी, एक जना १८ वर्षीय विद्यार्थीले भने, ‘प्रजातन्त्र पुनःस्थापित भयो भनेमात्रै म विद्यालयमा फर्किनेछु ।’
सैनिक शासनविरोधी प्रदर्शनको अग्रमोर्चामा रहेका विद्यार्थीहरूले पनि नयाँ शैक्षिक सत्र बहिष्कार गर्ने तयारी गरिरहेको बताइन्छ ।

No comments:
Post a Comment