अन्तरङ्ग संवाददाता
बेसीशहर– सूचना तथा प्रशारण विभागले कोरोनाको यो विषम परिस्थिति छापा पत्रिकामाध्यमको स्थिति प्रति अन्देखा गरेकोमा लमजुङ जिल्लाका छापा माध्यमका प्रकाश/सम्पादकहरूले आश्चर्य व्यक्त गर्दै विभागको ध्यानाकर्षण गरेका छन् । गत वर्षको लकडाउनको अवधिमा छापामाध्यमलाई दिइएको प्रकाशनको सहुलियतको प्रवन्ध यस वर्ष नगरिएको प्रति लमजुङका प्रकाशक/सम्पादकहरूले जेठ ९ गते विभागको ध्यानाकर्षण गरेका हुन् ।
कोरोना भाइरस(कोभिड– १९)को प्रकोपका कारणले गर्दा गत वर्ष भएको लकडाउनको अवधिमा पत्रिकाहरूका लागि प्रकाशन सकित लोककल्याणकारी विज्ञापनमा सहुलियत दिनुका साथै वर्गीकरणका लागि समेत आवश्यक संख्यामा समेत सहुलियत दिइएको थियो । तर यस वर्ष कोरोनाको नयाँ भेटियन्टले गत वर्षभन्दा पनि विकराल स्थिति उत्पन्न हुनुका साथै मुलुकभरका पत्रपत्रिका प्रकाशन हुने जिल्ला सबैजसोमा निषेधाज्ञा जारी भएको अवस्था छ । तर सूचना तथा प्रशारण विभागले छापा पत्रिकाको स्थितिका बारेमा अझै पनि सहुलियतको सूचना जारी नगर्नुले आफूहरूको काममा बाधा पुगेको ठहर गर्दै यो स्थितिलाई तत्काल सम्बोधन गर्न छापा माध्यमका प्रकाशक/सम्पादकहरूले सूचना विभागसँग माग गरेका छन् ।
लमजुङ दर्पण दैनिकका प्रकाशक तथा पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष कृष्ण केसीले ऐले पत्रकारहरूको ज्यानको समेत जोखिम अवस्था छ, बजार ठप्प छ, छपाई गर्ने प्रेस समेत बन्द छ । यस्तो स्थितिमा पत्रिका छपाउन र वितरणमा निकै कठिन भएको छ यो अवस्थाको तत्काल सम्बोधन गर्न सूचना विभागको विशेष ध्यानाकर्षण गर्न चाहन्छु भन्नुभयो । त्यस्तै, पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष एवम् स्वतन्त्र शक्ति साप्ताहिकका कार्यकारी सम्पादक कृष्ण आलेले यस्तो विषम परिस्थितिको सम्बोधन गर्ने कार्यमा सूचना विभागबाट गरिएको ढिला सुस्ती बुझिनसक्नु भएको भन्दै चिन्ता र आक्रोश व्यक्त गर्नु भयो ।
यसैगरी, पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत रहनु भएका लमजुङ पत्रका सम्पादक परमेश्वर अधिकारीले हामीले गरेको काम पनि सेवा हो तर स्थिति विषयम छ । प्रेस, बजार सबै बन्द छ । यस्तो बेलामा छापा पत्रकारलाई हुन सक्ने सके त थप सहयोग त्यो नभएपनि गत वर्ष पाए सरहको सुविधाको घोषणा गर्नमा सूचना विभागले ढिला गर्न हुदैन भन्नु भयो ।
त्यस्तै, पत्रकार महासंघको जिल्ला शाखाका संस्थापक अध्यक्ष एवम् अन्तरङ्गका सम्पादक नवराज पहाडीले पछिल्ला वर्षमा छापामाध्यम प्रति सरकार उदासिन हुँदै आएको अनुभव गरिएको बताउनु भयो । उहाँका अनुसार विज्ञापन रुपि सूचना दिने कार्यमा समेत राज्यले विभद गरेको आफूहरूले भोगेकै हो बताउँदै उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा जिम्मेवारतहमा बस्नेहरू जानकार छैनन् भन्न मिल्दैन, सारा बजार बन्द भएको अवस्थामा उनीहरूले बुझ पचाएर छापा माध्यमलाई किन पर्घेल्ने काम गरेका हुन् ? र गत वर्षको कोभिडकालमा दिइएको जत्तिको सुविधा दिने घोषणा गर्न पनि के ले किन रोकेको हो ? बुझ्न सकिरहेको छैन, यो अन्योलपूर्ण स्थितिको तत्काल अन्त्य हुनुपर्छ ।’
लमजुङमा एक दैनिक र ६ वटा साप्ताहिक पत्रिकाहरू नियमित प्रकाशनमा छन् ।
स्मरणीय छ, आजदेखि मुलुकभरका ७५ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

No comments:
Post a Comment