सत्ता कब्जा केन्द्रीत राजनीतिले दुई दल(एमाले र जसपा) विभाजनको संघारमा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, May 23, 2021

सत्ता कब्जा केन्द्रीत राजनीतिले दुई दल(एमाले र जसपा) विभाजनको संघारमा

अन्तरङ्ग संवाददाता

काठमाडौं– मुलुकमा बढ्दो सत्ता कब्जा केन्द्रीत राजनीतिले दुई दल विभाजनको संघारमा पुगेका छन् । नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) विभाजनको संघारमा जेठ ९ गते पुगेका हुन् । 

प्रधानमन्त्री ओलीले सत्ता जोगाउन संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गर्नु भएको छ भने विपक्षीहरूले त्यसका विरुद्ध फेरि सर्वोच्च जाने र संसद पुनःस्थापना गरी सरकार बनाउने रणनीति अपनाएका छन् । त्यसका लागि आज जेठ १० गते १४९ जना सांसद काँगेसको नेतृत्वमा १४९ जना सांसद सर्वोच्च जाने तयारी गरिएको विपक्षी दलहरूको दावी छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले सत्तामा रहिरहने चाहनाले पनि यी दललाई विभाजनको संघारमा पु¥याएको हो । उहाँले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्नु भएपछि विपक्षमा रहेको प्रायः सबै दल उहाँका विरुद्धमा खनिएका छन् । विपक्षीलाई सरकारमा जानका लागि संसदमा बहुमत पुग्न नदिने प्रधानमन्त्रीको रणनीतिका कारणले गर्दा राजनीति पेचिलो बन्दै गएको छ । 

एमालेका वरिष्ठ नेता माधव नेपाल ओलीका साथ बस्न नसक्ने ठहर गरी उहाँले आजै आफ्ना निकट युवा नेताहरूलाई अर्को दल दर्ताका लागि निर्वाचन आयोगमा पठाउनु भएको छ भने जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा जाने निर्णय गरेको छ । जसपा नेपाल कार्यकारिणी समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । मधेशी आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकलाई वंशजको नागरिकता दिने, संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने निर्णय सरकारले गरेपछि जसपा नेपाल सरकारमा जाने निर्णय गरेको हो ।

जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरू सरकारमा सहभागी हुने ८ गते नै जानकारी गराइसकेको बताइन्छ । सो भेटमा ठाकुरले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्न आग्रह गरजसपा नेपालले सरकारमा सहभागी हुन ८ वटा मन्त्रालयले माग गरेको स्रोतले बतायो । स्रोत भन्छ, नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने लगभग निश्चित भएको छ ।

तर जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका चार नेतालाई कारबाही प्रक्रिया अघि बढाएको छ । ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी नीति सिद्धान्त र एजेण्डा विपरीत काम गरेको भन्दै प्रष्टिकरण सोध्ने निर्णय गरेको हो । 

जसपामा ठाकुर र यादव दुईजना अध्यक्ष हुने व्यवस्था छ । त्यसलाई खारेज गर्दै यादवले पार्टीको अन्तिम अधिकार आफूमा केन्द्रित गराउनु भएको छ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी परिषद्मा यादव पक्ष बहुमतमा छ । सो दलका दुवै समूहका यी निर्णयसँगै अब जसपा पनि एक ढिक्का हुने संभावना क्षीण भएको आम बुझाई छ ।

ठाकुरले विज्ञप्तिमार्फत आफ्नो पार्टीको कार्यकारिणी परिषद्को बैठक नै नबसेको दाबी गर्दै कथित रुपमा बसेको बैठकले गरेको निर्णय मान्य नहुने बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘सम्पूर्ण कार्यकारिणी समिति सदस्यहरुलाई समेत जानकारि गराई सकिएको अवस्थामा तथाकथित गोप्य स्थानमा गरिएको भनिएको कार्यकारिणी समितिको बैठकप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । अतः जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भएको बैठक यस्तो कथित बैठकवाट गरिने सबै निर्णयहरू अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ ।’

एमालेको ओली पक्षले पनि नेपाल सहितका ११ जनालाई पष्टिकरण सोधिसकेको छ भने वागमति प्रदेशका १४ नेतालाई सोधिएको पष्टिकरणको जवाफ समेत दिइसकेका छन् ।

जसपामा कुन पक्षको पल्ला भारी हुन्छ भन्ने एकिन हुन सकेको छैन भने एमालेमा माधव पक्षका देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने सदस्यको सांसद पद के हुन्छ ? भन्ने यकिन हुन बाँकी छ । 

No comments:

Post a Comment