सुन्दरबजार(लमजुङ)– सुन्दरबजार चेम्बर अफ कमर्सले थालनी गरेको ‘अक्सिजन सिलिन्डर अभियान’मा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । सुन्दरबजार नगरपालिका– ७ तार्कुटार निवासी वरिष्ठ समाजसेवी पद्मादेवी मिश्रले एक लाख पाँच हजार रुपैयाँ जेठ १० गते प्रदान गर्नु भएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका– ७ तार्कुटार निवासी हाल काठमाडौ बस्ने परोपकारी मनका धनी वरिष्ठ समाजसेवी पद्मादेवी मिश्रले आफ्ना स्वर्गीय पति कृष्ण राज मिश्रको स्मृतिमा एकलाख पाँच हजार रुपैयाँ पठाउनु भएको हो । उहाँले अन्तरङ्ग न्युज डटकममा जेठ ७, ८ र ९ गते प्रकाशित समाचार पढेपछि सहयोग गर्ने बिचार आएर सहयोग गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘जब अन्तरङ्ग अनलाइनमा समाचार पढे अनि ममा भित्रबाट नै वर्तमान परिवेशमा आफ्नो गाउँ, समाज, देशमा केही गर्नु पर्छ भन्ने मानवीय भावना जाग्यो र यो रकम पठाएकी हुँ, यो रकमको छिटो सदुपयोग होस् ।’
यस अवसरमा ‘यो पवित्र अभियान सञ्चालन गर्ने सुन्दरबजार चेम्बर अफ कमर्स र त्यस अभियानका बारेमा सबैलाई देश साथै विश्वभर जानकारी गराउने अन्तरङ्ग न्युजलाई विशेष धन्यवाद दिन चाहुन्छु’ मिश्रले भन्नुभएको छ ।
यस अभियानमा यसअघि ३ जना महानुभावले क्रमशः एक लाख, ५० हजार र २० हजार सहयोग गरिसक्नु भएको छ ।

No comments:
Post a Comment