अन्तरङ्ग संवाददाता
चामे– हिमाल पारीको जिल्लाको उपमा पाएको मनाङमा व्यवसायिक भेडी फर्ममा पालिएका भेडा, बाख्र्रा तथा साँड र खसीबोकालाई पिपिआर रोगका विरुद्ध खोप दिइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले सो कार्य गरेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले आफ्नो कार्य क्षेत्रमा भेडा बाख्रामा लाग्ने महामारीजन्य रोग पि पि आर लाग्नबाट बचाउन बेलैमा खोप कार्य सञ्चालन गरेको जनाएको छ । मनाङमा रहेका चार स्थानीय तहमध्ये नार्पाभूमी गाउँपालिकाको नारफू गाउँमाअहिलेसम्म पनि यस रोगका विरुद्ध खोप नलगाएको स्थिति छ । त्यसो त यी ठाउंँमा कही कतैबाट त्यो रोग सर्ने संभावना पनि कम नै छ । त्यसैले पहिला तीन स्थानीय तहलाई प्राथमिकता दिई खोप कार्य शुरु गरिएको सो अस्पतालका प्रमुख पशुचिकित्सक नारायण कुसुमले बताउनु भयो । उहाँका अनुसार उक्त अस्पतालले यस आ.व.मा पिपिआर खोप कार्य सञ्चालन गर्न पशु रोग अन्वेषण प्रयोगशाला पोखराबाट १० हजार डोज खोप ल्याइएको हो । उहाँले भन्नुभयो, ‘स्थानीयले यसको महत्व बुझ्ने र अपनत्व ग्रहण गर्न सकुन् भनेर खोप कार्य स्थानीय तहका पशु स्वास्थ्य कर्मीलाई समेत सहभागी गराई गरिएको छ ।’
पहिलो चरणमा सदरमुकाम रहेको चामे गाउँपालिकाका छ सय भेडाबाख्रामा त्यो खोप लगाई सकिएको छ । तीन हजार पाँच सय डोज नासों गाउँपालिकामा र दुई हजार डोज खोप ङिस्याङ गाउँपालिकामा पठाइसकिएको अस्पतालका प्रमुख पशुचिकित्सक नारायण कुसुमले बताउनु भयो । उहाँका अनुसार बाँकी खोपहरू अस्पतालमा छन् । तिनको प्रयोग आवश्यकता अनुसार गरिने छ ।
कुसुमले भन्नुभयो, ‘विगतमा मुस्ताङमा खोप नलगाउंदा करिब आठ सय भेडाबाख्रा मरेका थिए । जसका कारण कृषकले करीव १२ करोड नोक्सान वेहर्नु परेका थियो । यहाँ त्यस्तो स्थिति आउन नदिनका लागि कोभिड– १९ को विगविगीको बेलामा पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएर स्थानीय तहको सहयोगमा पिपिआर खोपकार्य सञ्चालन गरिएको छ ।’
उक्त खोप सञ्चालन गर्नका लागि विगतका आवहरूमा एक पशुलाई खोप लगाए वापत प्राविधिकले पाँच रुपैयाँ पारिश्रमिक पाउथे । तर यस आ.व.मा त्यस्तो कुनै बजेटको प्रवन्ध गरिएको छैन । ‘हामीले जिरो बजेटमा स्थानीय तहको सहभागिता तथा सहयोगमा प्राविधिकरूलाई उत्प्रेरित गरी यो कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम थालेका हौं ।’ भेटेरिनरी अस्पतालका प्रमुख पशुचिकित्सक नारायण कुसुमले बताउनु भयो । उहाँले भन्नुभयो, ‘खोप कार्य सञ्चालन गर्न स्थानीय तहको भूमिका अहम हुने भएकोले हामीले सहयोगको अपेक्षा पनि गरेका छौं ।’

No comments:
Post a Comment