अन्तरङ्ग संवाददाता
लमजुङ । लमजुङमा एक २४ वर्षीया महिला आफ्नो तीन वर्षीय नावालक छोरो सहित एक महिला बेपत्ता भएकी छन् । करिब एक महिनादेखि वेपत्ता उनी घर र माइतको सम्र्पकमा नआएपछि खोजीका लागि माइती पक्षबाट मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरिएको हो ।
समुदायमा कोभिड– १९ संक्रमणको दोस्रो प्रकोपको चरम त्रास फैलिईरहेको अवस्थामा लमजुङको मध्यनेपाल नगरपालिका– २ तान्द्राङटक्सार गाउँकी २४ वर्षीया राजी रिमाल अछामी ३ वर्षीय छोरा संस्कारलाई लिएर बैशाख ९ गतेदेखि हराएकी उनकी आमा किलिमाया रिमालले बताउनु भयो । वेपत्ता राजी आफूसँग बस्दै आएकोमा घर जान्छु भनेर गत बैशाख ९ गते भोर्लेटारबाट हिडेकी थिएन् तर उनी हालसम्म घरमा पनि नपुगेको र माईतीको सम्पर्कमा पनि नआएको महिलाकी आमा र सासु आमा क्रमशः किलिमाया र सोमा अछामीले एकै स्वरमा बताउनु भयो ।
भाइत गएकी बुहारीले उनकी आमासँग तान्द्राङटक्सार स्थित घरमा जान्छु भन्दै छोरा लिएर हिँडेको तर एक्कासी दुई दिन पछि आफू इण्डिया तिर जान लागेको र बोर्डरबाट फोन गरेको भन्दै एकोहोरो कुरा गरी फोन काटेपछि पुनः सम्पर्कमा नआएको भन्ने जानकारी बुहारीकी आमाबाट पाएको पनि उनकी सासु अछामीको भनाई छ । उहाँका अनुसार त्यो जानकारी पाए लगत्तै आफूले बुहारी र नाति हराएको र खोजी गरीदिन बैशाख ११ गते मध्यनेपाल नगरपालिकाको केन्द्रमा रहेको भोर्लेटारको इलाका प्रहरी कार्यालय र १५ गते घर नजिक मध्यनेपाल नगरपालिका– ३ को सोतीपसल प्रहरी चौकीमा निवेदन दिएकी हुँ । उनले भनिन्, ‘प्रहरीबाट आजका मितिसम्म पत्ता लागेको जानकारी आएको छैन ।’
वेपत्ता राजी रिमालका श्रीमान् सुर्य अछामीले आफू कतारमा रहेकोबेला सो खबर पाएपछि बैशाख तेस्रो साता घरमा आएर श्रीमतीको खोजीमा लागेको तर फेला नपरेकोले अब थप जानकारीसहित व्यापक खोजीका लागि मानवअधिकाकर्मी र पत्रकारहरूलाई अनुरोध गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मध्यनेपाल– ९ बेसीबाँङ्ग्रेमा माइती भएकी उनी विवाह गरेपछि आफू वैदेशिक रोजगारमिा जाने बेलामा उनले तनहुँको दमौली बस्छु भनेपछि कोठा व्यवस्थापन गरि राखी दिएको, गतवर्षको कोभिड– १९ का कारण बन्दाबन्दीको श्रृंखला बढ्न थालेपछि श्रीमती र उनकी आमाको सहमतिमा पुनः भोर्लेटारमा उनलाई आफ्नी आमासँगै बस्ने प्रवन्ध गर्दै आएको हुँ ।’ सासुको विश्वासमा श्रीमती र नावालक छोरा सुम्पिएकोमा अहिले दुवैजना सम्पर्कमा नरहेको र सासुबाट छोरो च्यापेर इण्डिया गएको जानकारी पाउँदा रोशहवास उडेको सूर्य अछामीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘श्रीमतीले आफ्नो ३ वर्षको छोरो, तिलहरी, चन्द्रामा, २ औंठी, कानमा लगाएका सादा रिङ गरी कुल साँढे २ तोला सुनका गरगहना, नगद पैसा र कोठाको एकसेट सामान सहित घरको सम्पर्कमा छैनन् ।’ आफ्नो र घरपरिवारको सम्पर्कमा नरहेकी श्रीमतीले नयाँ नामको फेसबुक आईडी बनाएर अपरिचित पुरुषको बाहुपासमा बेरिएको तस्विर केहीदिन अघि पोष्ट गरेको भेटेपछि आफूले प्रिन्ट गरेर प्रहरीमा उपलब्ध गराएको समेत उनले उल्लेख गरे । उनले भने, ‘यतिबेला धनको श्रीमतीको भन्दा पनि नावालक छोराको निकै चिन्ता लागेको छ ।’
सम्पर्क बिहीन राजीका बुबा र भाइहरू पञ्जाबमा रहेको र उनीहरूकै आसपासमा भएको जानकारी राजीकी आमा किलिमायाले प्रहरीलाई दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गजदिश रेग्मीले बताउनु भयो । उहाँका अनुसार ती महिला यतिबेला भारतको पञ्जाबमा रहेको बुझिएको तर कोभिड– १९ रोकथाम र न्युनीकरणका लागि विभिन्न स्थानमा जारी निषेधाज्ञका कारण तुरुन्तै उनलाई नेपाल झिकाउन सकिने अवस्था छैन । उहाँले भन्नुभयो, ‘त्यस घट्नाका सम्बन्धमा थप अनुसन्धान अघि बढिरहेको छ ।’

No comments:
Post a Comment