अन्तरङ्ग सम्वाददाता
काठमाडौं– नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरूले निर्वाचन आयोगमा राजनीतिक दल दर्ताका लागि निवेदन दिएका छन् । आफू पर्दा पछाडि बसेर एमालेका वरिष्ठ नेता नेपालले दल दर्ताका लागि जेठ ९ गते निवेदन दिन युवाहरूलाई पठाउनु भएको हो ।
युवा नेता जीवन राईको अध्यक्षतामा दल दर्ताका लागि २५ सदस्यीय कार्यसमिति राखेर दल दर्ताको निवेदन दिइएको हो । अध्यक्ष राई नेपाल पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता हुनुहुुन्छ । दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ भने चुनाव चिन्ह भने कलम माग गरिएको छ । २५ सदस्यीय केन्द्रीय कमिटीमा उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोदकुमार खुलाल, सचिव ऐन बिक्रम कुँवर र कोषाध्यक्ष सुशीला खनाल हुनुहुन्छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताका लागि निवेदन प्राप्त भएको र पेश गरेको कागजात अध्ययन गर्ने काम शुरु भएको जानकारी दिनु भएको छ ।
हिजोका दिनमात्र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ११ नेता तथा विघटित प्रतिनिधिसभाका सांसदसँग स्पष्टीकरण सोध्दै एमालेले १० जेठभित्र जवाफ पेस गर्न म्याद तोकिएको छ । परराष्ट्रमन्त्रीसमेत रहनु भएका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सरकार बनाउन विपक्षीसँग मिलेर हस्ताक्षर गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको बताउनु भयो ।
‘आफ्नै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई हटाउने र विपक्षीसँग मिलेर अर्को सरकार बनाउने अभियानमा संलग्न रहेको आरोपमा स्पष्टीकरण सोधिएको छ,’ ज्ञवालीले भने, ‘यस्तो अभियानमा लाग्नु गम्भीर विषय हो । कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठबारे गम्भीरतापूर्वक छलफल भएको छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवालाई जेठ ७ गतेका दिन प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका थिए ।
स्पष्टीकरण सोधिएका नेताहरूमा वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनालसहित भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द न्यौपाने, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ ।

No comments:
Post a Comment