अन्तरङ्ग संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपि शर्मा ओलीले शपथग्रहणका वाक्यांश जानाजान छुटाएर शपथको गरिमा लत्याएको र राष्ट्रपतिको समेत मानमर्दन गरेको टिकाटिप्पणी हुन थालेको छ । अमेरिकामा सन् २००८ मा पहिलोपटक राष्ट्रपति बनेका बाराक ओबामाले भूलवश एउटा वाक्यांश छुटाउँदा दोहोर्याएर शपथ लिनुपरेको इतिहास साक्षी छ । यति बेला प्रधानमन्त्री ओलीले बैशाख ३१ गते लिनु भएको शपथ के हुन्छ ? भन्ने चासो र चिन्ता बढ्न थालेको छ ।
नेपालमा पनि २०६५ साउन ८ गते पूर्वउपराष्ट्रपति परमानन्द झाले लिएको शपथमा प्रश्न उठेपछि सर्वोच्चले बदर गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा महत्वपूर्ण दुईवटा अंश भन्न छुटाई दिनु भएको छ । ‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाउनु भएको हो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा’ भन्न छुटाउनु भएका उक्त वाक्यांश दोहोर्याउनु भएको थियो तर प्रधानमन्त्री ओलीले ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाउनु भएको थियो । उहाँको त्यस्तो ‘जवाफ’बाट राष्ट्रपति हाँस्नु भएको थियो । प्रधानमन्त्री ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ शब्द पनि उच्चारण गर्नु भएन ।
प्रधानमन्त्रीले लिनुपर्ने शपथको भाषा यस्तो उल्लेख छ– ‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि, ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रधानमन्त्री पदको कामकाज प्रचलित कानुनको अधिनमा रही, मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई, इमानदारिताका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा जानकारीमा आएको कुरा पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दाबाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन ।’
यसबारेमा एक पूर्वन्यायाधीशले भन्नुभयो, ‘शपथ लिने भनेको संविधान र कानुनमा जे छ त्यही हो ।’ उहाँले प्रतिप्रश्न गर्दै भन्नुभएको छ, ‘आफूलाई जे मन लाग्छ त्यही भन्ने भए त शपथ नै किन लिनु प¥यो ? म संविधान र कानुनको अधिनमा छु भन्ने कुरा मान्नेले एकशब्द यताउता गर्न पाइन्न । त्यो नमान्ने हो भने अर्कै कुरा हो,’ उहाँले थप भन्नुभयो, ‘उहाँले शपथका क्रममा ‘यो पर्दैन’ भनेर आदेशात्मक भाषामा जसरी भन्नुभयो, त्यो त सरासर राष्ट्रपतिको अनादार हो ।’
उक्त शपथ ग्रहण समारोहमा वर्तमान प्रधानन्यायाधीश समेतको समुपस्थिति थियो ।
सन् २००८ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले भूलवश एउटा वाक्यांश छुटाउँदा दोहोर्याएर शपथ लिनुपरेको थियो । अमेरिकी संविधानअनुसार शपथको भाषा तोकिएको हुन्छ । ओबामाले आफ्नो शपथको महत्वपूर्ण अंश ‘मैले निष्ठापूर्वक’ भन्ने वाक्यांश छुटाएका थिए । पछि उनले दोहोर्याएर शपथ लिनुपरेको हो ।
त्यस्तै, नेपालमा पूर्वउपराष्ट्रपति परमानन्द झाले पनि २०६५ साउन ८ गते लिनु भएको शपथमा प्रश्न उठेको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालीमा शपथ खुवाउनु भए पनि झाले हिन्दीमा उल्था गरेर पढेपछि विवाद उत्पन्न भएको थियो । राष्ट्रपति, उपराष्ट्रपतिले लिने शपथको व्यहोरा संविधानमै लेखिएको थियो । अन्ततः सो विवाद सर्वोच्च अदालतसम्मै पुग्यो ।
तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश बलराम केसीको इजलासले उक्त शपथ संविधानसम्मत नभएको भन्दै बदर गरिदिएको थियो । ‘यस्तो संविधानविपरीत कार्यले संवैधानिक मान्यता पाउन नसक्ने हुँदा उपराष्ट्रपतिद्वारा गरिएको असंवैधानिक शपथ उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ ।’ सो आदेशमा भनिएको छ । संविधानले उपराष्ट्रपतिलाई हिन्दी भाषामा शपथ लिन छुट नदिएको उक्त इजलासको ठहर थियो । उक्त इजलासबाट शपथ पूरा हुन कानुनले तोकेको अधिकारीसमक्ष वाचन अनि संविधानमा तोकिएअनुसार भाषा प्रयोग गर्न आवश्यक हुने फैसला भएको थियो ।
उपराष्ट्रपति झाको शपथग्रहणमा यी दुवै कुरा पूरा नभएकाले नेपालको अन्तरिम संविधान प्रतिकूल हुनुका साथै अन्तरिम संविधानको भावना विपरीत रहेको उक्त इजलासको फैसलामा उल्लेख छ ।
झाले लिएको शपथ करिब एक वर्षपछि अदालतबाट बदर भएपछि नेपाली र आफ्नो भाषा दुवैमा शपथ लिन सक्ने गरी संविधान संशोधन गरिएको थियो ।
प्रधानमन्त्री ओलीले नै प्रचलित नियम कानुनको खिल्ली उडाउने र त्यसको उल्लंघन गर्ने हो भने सर्वसाधारणलाई कानुनको पालना गर्नु पर्छ भन्ने नैतिकता अब राज्यसँग रहिरहन्छ ? ऐले पनि राणा तथा पञ्चायकालीन शैलीमा ‘ठूलालाई चैन र सानालाई ऐन’ चलिरहने हो भने गणतान्त्रिक लोकतन्त्रको के अर्थ ?
नेकपा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त भएको तीन दिनपछि राष्ट्रपति भण्डारीले बैशाख ३० गते पुनः प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । त्यसअघि ओली झण्डै दुईतिहाई बहुमतप्राप्त प्रधानमन्त्री हुनुहुन्थ्यो ।
No comments:
Post a Comment