अन्तरङ्ग संवाददाता
दाङ– एक पार्किङ गरी राखिएको कारभित्र मृत अवस्थामा तीन बालकको शव फेला परेको चार दिन बित्दा पनि मृतकका अभिभावकले शव बुझ्न मानेका छैनन् । तुलसीपुर उपमहानगरपालिका– ६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बच्चाको शव वैशाख १८ गते बेलुका फेला परेका हुन् । ती बालकहरूको भिसेरा परीक्षणका लागि काठमाडौं पठाउने तयारी वैशाख २१ गते गरिएको छ ।
प्रहरीले घटना अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुर र प्राविधिक झिकाउनुका साथै शवको पोष्टमार्टमका लागि बुटवलबाट विशेषज्ञ डाक्टर झिकाएको थियो । तर पनि समस्या समाधान हुन सकेको छैन । पीडित परिवारले भने आफ्ना बच्चाहरुको हत्या भएको दाबी गर्दै सत्य तथ्य पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिँदै आएका छन् ।
कारभित्र फेला परेका शव सोही वडा बरुवाउँका किरण परियारका छोरा ६ वर्षीय करण परियार, स्थानीय सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुरका छोरा ९ वर्षीय सन्दीप परियारको भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताउनु भयो । उहाँका अनुसार अभिभावकहरूले घटना भएको चार दिनसम्म पनि शव बुझ्न नमानेका छैनन् । उहाँले भन्नुभयो, ‘पीडित पक्षसँग भोलि क्षतिपूर्ति उपलब्ध गराउने बारेमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, तुलसीपुर नगरका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित आयोगका केन्द्रीय अध्यक्ष देवराज बिश्वकर्मा, प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द बसेर समस्या समाधानका लागि छलफल गर्ने निर्णय भएको छ ।’
प्रहरीले पोष्टमार्टम रिपोर्टअनुसार तीनै जना बालकको शरीरमा कुनै चोटपटक नदेखिएको तथा कर्तव्य गरी हत्या गरेको देखिन नआएको बताएको छ । ‘एक जनाको टाउकोको पछाडि पट्टीको भागमा सानो टुटुल्को देखिएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ,’ डिएसपी सिंहले भने ‘त्यति कुराले मात्रै मानिसको मृत्यु हुन सक्दैन भन्ने पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।’ त्यो सानो टुटुल्को गाडीभित्र ठोक्किएर पनि लागेको हुनसक्ने अनुमान रिपोर्टमा उल्लेख छ ।
शव गलेको हुँदा बिषादी सेवन गराई भएको मृत्यु भएमा २४ घन्टा पछाडि पत्ता लगाउन नसकिने कुरा पोष्टमार्टम रिपोर्टमा चिकित्सकले उल्लेख गरेको प्रनाउ सिंहको भनाई छ । उहाँका अनुसार त्यही भएर तीन वटै शवहरुको भिसेरा परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरिएको छ । उहाँले भन्नुभयो, ‘घटनाको दोस्रो दिन कार धनी तुलसीपुर ६ स्याउली बजार बस्ने ३३ वर्षीय यादवप्रसाद गैरे र सोही वडा बस्ने ५७ वर्षीय चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरी ज्यान मुद्दा चलाएर अनुसन्धान भइरहेको छ ।’ तर चालक बस्नेत र गाडी धनी गैरेले माघ १ गते आफूहरूले उक्त कार लक गरेर पार्किङमा राखेको हुँदा घटनाबारे अनभिज्ञ रहेको प्रहरीसमक्ष बयान दिएको जानकारीमा आएको छ ।
उक्त कार अन्य ब्यक्तिले पनि चलाउने गरेको अनुसन्धानबाट खुल्न आएको एक प्रहरी अधिकारी बताउँछन् । उनका अनुसार ‘कारको लक खुल्लै भएको देखेर तीन बालक त्यसमा पसेको र भित्रबाट लक भएपछि निसास्सिएर मृत्यु भयो कि ? भन्ने अनुमान पनि गर्न थालिएको छ,’ उनले भने ‘नभए बच्चाको मृत्यु प्वाईजन सेवनबाट पनि भएको हुन सक्ने आशंका छ ।’

No comments:
Post a Comment