अन्तरङ्ग संवाददाता
काठमाडौं– कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपाबाट पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सर्वाधिक ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्तो पुष्टि बैशाख २१ गते गरेको हो । नेपालमा आज सबैभन्दा बढी संक्रमित फेला परेका हुन् ।
यसैगरी, सो अवधिमा थप सात हजार ६६० जनामा संक्रमित भएका छन् । अघिल्लो दिन देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
यो तथ्यांकसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । त्यस्तै, कोरोना जित्नेको संख्या २ लाख ८७ हजार ७९० पुगेको जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृतकको कुल संख्या ३ हजार ४१७ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २७७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी, गत २४ घण्टामा एक हजार ७ सय ७५ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संक्रमितको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।
पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार
यसैबीच, कोभिड– १९ बाट पीडित पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्य स्थितिमा सुधारको क्रम जारी रहेको छ । यस्तो भएसँगै अब उहाँलाई सघन उपचार केन्द्रबाट क्याबिनमा सारिने भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ । उक्त स्र्रोतका अनुसार पूर्वरानीको स्वास्थ्यमा सुधारसँगै सामान्य हिँडडुल र खानामा रुचि बढेको छ । त्योसँगै अब सघन उपचार आवश्यक नरहने आंकलन गरिएको हो । अस्पतालद्वारा उहाँको स्वास्थ्यमा सुधारको क्रम यस्तै रहेमा उहाँलाई भोलि बैशाख २२ गते क्याबिन सारिने उल्लेख गरेको छ ।
भारतको १० दिन बसाइबाट स्वदेश फर्केपछि कोरोना संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह र छोरी प्रेरणा विगत ११ दिनदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
पूर्वरानीमा अक्सिजन स्याचुरेसन कम देखिएपछि आइसियुमा राखेर दैनिक १० लिटरसम्म अक्सिजन उहाँलाई दिइएको थियो । पूर्वराजा शाह तथा छोरी प्रेरणाको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको पनि अस्पतालले जनाएको छ ।
भारतमा संक्रमितको संख्या लगातार घट्दो क्रममा
उता, नयाँ दिल्लीबाट प्राप्त समाचार अनुसार भारतमा पछिल्ला तीन दिनसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या लगातार घट्दो क्रममा छ । पछिल्ला तीन दिनको तथ्यांकमा नयाँ संक्रमितको संख्या लगातार घटेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो । सो मन्त्रालयका अनुसार बैशाख १८ गतेका दिन नयाँ संक्रमितको संख्या दैनिक चार लाख एक हजार ९९३ थियो । त्यो संख्या त्यसयता निरन्तर घट्दो क्रममा छ । १९ गतेका दिन तीन लाख ९२ हजार, २० गते तीन लाख ६८ र २१ गतेका दिन तीन लाख ५७ हजार जनामा संक्रमण झरेको बताइएको छ ।
कोरोनाको दोस्रो प्रकोपबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र, दिल्लीलगायत राज्य भएका हुन् । पछिल्ला केही दिनयता ती सबै स्थानमा कोरोना संक्रमितको संख्या घटेको छ । भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या उच्च विन्दुमा पुग्दाको दिन बैशाख १८ गते महाराष्ट्रमा ६३ हजार संक्रमित भेटिएका थिए । यो संख्या २१ गतेका दिन ४८ हजारमा झरेको छ ।
राजधानी दिल्लीमा १८ गते २५ हजारभन्दा धेरै संक्रमित भेटिएका थिए तर त्यो संख्या २१ गते आइपुग्दा १८ हजारमा झरेको छ । उत्तर प्रदेशमा भने कोरोना संक्रमणको अवस्था स्थिर जस्तै देखिन आएको छ । १८ गते ३० हजार संक्रमित पुष्टि भएकोमा २१ गतेका दिन २९ हजार फेला परेका छन् ।
संक्रमणका कारण हुने गरेको मृत्यु संख्या बढ्ने÷घट्ने क्रम चलिरहेको छ । भारतमा १८ गते तीन हजार ५२३ जनाको मृत्यु भएको थियो भने २१ गते भने त्यो संख्या तीन हजार ४४९ रहेको छ ।++


No comments:
Post a Comment