सामाजिक व्यक्तित्व धर्मराज श्रेष्ठको निधन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, May 16, 2021

सामाजिक व्यक्तित्व धर्मराज श्रेष्ठको निधन

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङका सामाजिक व्यक्तित्व धर्मराज श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ५९ वर्षको उमेरमा जेठ १ गते उपचारको क्रममा चितवनमा निधन भएको हो ।

श्रेष्ठ लामो समयदेखि मधुमेहको विरामी समेत हुनुहुन्थ्यो । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गराउनुभएका श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

लमजुङ उद्योग बाणिज्य सँघमा दुई कार्यकाल अध्यक्ष हुनुभएका उहाँ सामूदायिक सूचना तथा सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो मस्र्याङदी ९५ मेगाहर्ज सञ्चालक समितिका उपाध्यक्ष पनि हुनुहुन्थ्यो । नेपाल घरेलु तथा साना उद्योग महासंघका सल्लाहकार, त्रिवेणी युवा क्लवका सल्लाहकार लगायतका भूमिकामा रहेर सामाजिक काममा योगदान पुर्याउदै आउनुभएको थियो । नेवा खलः लमजुङका अध्यक्ष, आदिवासी जनजाति महासंघ समन्वय समिति लमजुङका पूर्वसचिव समेत रहनु भएका श्रेष्ठ जिल्लामा नेकपा एमालेको जिल्ला सचिवालय सदस्य समेत रहनुभएको थियो । 

तनहुँको बन्दीपुर पुख्र्यैली घर भए पनि उहाँले कर्मथलो बेसीशहरलाई रोजेर लामो समयदेखि लमजुङ सदरमुकाम बेसीशहरमै बस्दै आउनुभएको हो ।

यसैबीच, श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै विभिन्न संघसंस्थाले शोक वक्तव्य जारी गरेका छन् । शोक वक्तव्य जारी गर्नेमा लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, पत्रकार महासँघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारी, सामुदायिक रेडियो मस्र्याङदीका अध्यक्ष गमप्रसाद गुरुङ आदि हुनुहुुन्छ । 

रेडियो मस्र्याङ्दीका कार्यकारी निर्देर्शक मीना गुरुङले सामुदायिक रेडियो मस्र्याङदी सञ्चालक समितिका उपाध्यक्ष श्रेष्ठको निधनप्रति श्रद्धासुमन व्यक्त गर्दै तीन दिनसम्म रेडियोबाट नियमित प्रशारण हुने मनोरञ्जनात्मक कार्यक्रमहरु स्थगित गर्ने, १३ दिनसम्म स्वर्गीय श्रेष्ठको तस्विर कार्यालय परिसरमा राखी श्रद्धासुमन व्यक्त गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार निधनको पहिलो दिन चार घण्टा र दोश्रो दिन १ घण्टा रेडियोमा शोक धुन मात्रै बजाएको थियो ।

चितवनमा निधन भएका श्रेष्ठको अन्तिम दाहसँस्कार पनि चितवनमै गरिएको परिवार स्रोतले जनाएको छ । स्व. श्रेष्ठका एक श्रीमती, दुई छोरी र एक छोरा छन् ।  

No comments:

Post a Comment