अन्तरङ्ग संवाददाता
भूलभूले(लमजुङ)– कोरोना भाइरस (कोभिड १९) को दोस्रो प्रकोपबाट बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि मर्स्याङदी गाउँपालिकाले सावधानीका साथ जिम्मेवारी बाडफाँड गरेको छ । गाउँपालिकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सतर्कता अपनाउदै योजनाबद्ध भएर अघि बढ्ने निर्णय गर्दै बैशाख २९ गते जिम्मेवारी बाडफाँड गरेको हो ।
गाउँपालिका क्षेत्रमा कोभिड संक्रमण देखिएको र थप संक्रमणको जोखिम बढेको हुनाले गाउँपालिकाले योजना बनाएरै कोभिड विरुद्ध काम थालेको हो । गाउँ कार्यपालिकाको ८०औं बैठकले संक्रमण फैलन नदिन जनप्रतिनिधी र कर्मचारीको जिम्मेवारी बाँडफाँडको निर्णय गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार कोरोनाको दोस्रो प्रकोप संक्रमण रोकथाम र नियन्त्रणका लागि सर्वपक्षीय बैठकबाट समिति गठन गरी जिम्मेवारी बाडिएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा कोभिड महामारीका बारेमा आवश्यक जुनसुकै आपत्कालीन निर्णय गर्न सक्ने समिति गठन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले बताउनु भयो । उहाँका अनुसार सो समितिको सदस्यहरूमा गाउँपालिका उपाध्यक्ष होमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदार, विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नं. ६ का अध्यक्ष लिलाप्रसाद घले, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ३ का अध्यक्ष प्रेमबहादुर बस्नेत, आर्थिक विकास समितिको संयोजक तथा वडा नं. ८ का अध्यक्ष हिरादेवी गुरुङ, गाउँपालिका स्वास्थ्य शाखा संयोजक लुलबहादुर घले, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीका पालिकास्तरीय प्रमुख तथा प्रतिनिधिहरू छन् । त्यस्तै, गाउँपालिकाको अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा ५ सदस्यीय सुत्केरी, दीर्घ रोगि र आकस्मिक सेवा व्यवस्थापन समिति गठन गरिएको गोदारको भनाई छ ।
उपाध्यक्ष होमबहादुर बिकको संयोजकत्वमा ७ सदस्यीय खाद्य आपूर्ति र बजारीकरण नियमन तथा अनुगमन समिति गठन गरिएको छ । स्वास्थ्य शाखा संयोजक लुलबहादुर घलेको संयोजकत्वमा ९ सदस्यीय कोभिडको प्राविधिक टोली गठन गरिएको छ । सो समितिका सदस्यहरूमा जनस्वास्थ्य निरीक्षक आशिष परियार, पहेन मोनिका तामाङ, स्टार्फ नर्स सिमाना थापा, सीता तामाङ, ल्याव असिस्टेन्ट पुजा गुरुङ, माया गुरुङ, एमएस अपरेटर सागर गुरुङ र कार्यालय सहयोगी सन्तबहादुर भुजेल हुनुहुन्छ । समितिले सम्बन्धित वडाको स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीहरूको सहयोग लिन सक्ने गाउँपालिकाले निर्णय गरेको छ ।
यसैगरी, वडा नं. ३ का वडा अध्यक्ष प्रेमबहादुर बस्नेतको संयोजकत्वमा ५ सदस्यीय एम्बुलेन्स व्यवस्थापन समिति गठन गरिएको छ । स्वास्थ्य शाखाका पहेन मोनिका तामाङको संयोजकत्वमा ३ सदस्यीय दीर्घ रोगीहरूको औषधी व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै, अन्य समितिमा वडा नं. ९ का वडा अध्यक्ष नारायणबहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय सचेतना तथा जानकारीमुलक कार्यक्रमहरू सञ्चालन तथा स्वयमसेवक परिचालन समिति र लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईका निवर्तनमा अध्यक्ष वीरेन्द्र भण्डारीको संयोजकत्वमा ९ सदस्यीय कृषि उपज व्यवस्थापन समिति गठन गरिएका छन् ।
समितिका संयोजक तथा सदस्य रहेका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मीहरूलाई गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा सतर्कताका साथ आफ्नो जिम्मेवारी र कर्तव्य पालना गर्न अनुरोध गरेको प्रमुख प्रशासीकय अधिकृत टीकाबहादुर गोदारले बताउनुभयो । उहाँका अनुसार नागरिकलाई यो महामारीबाट बचाउन र सुरक्षित राख्न प्रभावकारी रुपमा उपलब्धीमूलक काम गर्न अनुरोध गरिएको छ ।
No comments:
Post a Comment