कोरोनाबाट गाउँलाई बचाउन नाकामा युवाहरूको चौकीदारी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, May 14, 2021

कोरोनाबाट गाउँलाई बचाउन नाकामा युवाहरूको चौकीदारी

अन्तरङ्ग संवाददाता

लमजुङ– लमजुङको ग्रामीण पर्यटकीय गन्तव्यको स्मार्ट भिलेज घलेगाउँमा कोरोना संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । घलेगाउँलाई कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपबाट बचाउनका लागि स्मार्ट भिलेज घलेगाँउ पर्यटन व्यवस्थापन समितिले गाउँमा आउन खोज्ने जोकोहीलाई प्रवेशमा रोक लगाउनका लागि गाउँका नाकानाकामा युवाहरूलाई चौकीदारी गर्न शुक्रबारदेखि खटाएको हो । 

स्मार्ट भिलेज घलेगाँउ सञ्चालक समितिको बैशाख २९ गते बसेको बैठकबाट गाउँमा कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउने निर्णय गर्दै गाउँका नाकामा युवाहरूलाई चौकीदारी गर्न खटाउने निर्णय गरेको हो । बैठकले छिमेकी गाँउ तथा स्थानीय तहबाट आएका व्यक्तिबाट कोरोना संक्रमणको जोखिम बढी हुन सक्ने भएको हुनाले नाकामा युवाहरूलाई खटाउने निर्णय गरेको स्मार्ट भिलेज घलेगाउँ सञ्चालक समितिका अध्यक्ष गंगाबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार नाकाबाट नवागन्तुकहरूलाई प्रवेश गर्न नदिन निगरानीका लागि युवाहरू खटाउने काम गरिएको हो । 

छिमेकी मर्स्याङदी गाउँपालिकामा कोरोनाको संक्रमण उच्च हुने स्थिति देखिएपछि यस्तो निर्णय गर्नु गर्नु परेको सञ्चालक समितिका अध्यक्ष गंगाबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार घलेगाउँ प्रवेश गर्ने मुलतः दुई नाका मस्र्याङदी गाँउपालिकाबाट घलेगाउँ आउने र बेसीशहर नगरपालिकाबाट घलेगाउँमा प्रवेश गर्ने नाकामा चौकीदारी गर्न दुई टोली बनाएर युवाहरू परिचालन गरिएको छ । उहाँले भन्नुभयो, ‘दुवै नाकामा प्रतिदिन २÷२ जनाका दरले युवाहरू खटाइएको छ ।’ उनीहरू बिहान ७ देखि बेलुका ८ बजेसम्म आफूलाई तोकिएको नाकामा खटिएर बस्ने गर्दछन् । प्रवेशद्वारबाट घलेगाउँ आउन चाहनेहरूलार्ई सोधपुछ गरेर अत्यावश्यक काममा आएको भए मात्र सञ्चालक समितिको समन्वयमा गाउँमा प्रवेश दिइएको र अनावश्यक रुपमा आउनेलाई सम्भाmई बुझाई फर्काउने काम गरिएको समितिका अध्यक्ष घलेले बताउनु भयो । 

गाउँमा नआई नहुने भएको खण्डमा त्यस्तो अत्यावश्यक काममा आउने– जाने व्यक्तिहरूको विषयमा निर्णय गर्नका लागि समितिका अध्यक्ष घलेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । सो समितिको सदस्यहरूमा भारती घले, भोजराज न्यौपाने, विशाल घले र सुनील विक रहनु भएको छ । गाउँमा प्रवेश निषेध गर्ने उक्त निर्णय पहिलो चरणमा आउँदो जेठ ५ गतेसम्मका लागि लागु हुने सञ्चालक समितिले जनाएको छ । यसैगरी समितिले अर्को निर्णय नहुँनदासम्मका लागि ग्रामीण पर्यटकीय घलेगाउँ क्षेत्रमा भेला, जमघट, पिकनिक सबै बन्द गरिएको छ । 

साथै, गाँउबासीलाई अनिवार्य रुपमा मास्क, स्यानिटाइजर तथा सावुनपानीको प्रयोग गर्नु निर्देशन दिने काम भएको समितिका सदस्य भारती घलेले बताइन् ।

स्मार्ट भिलेज घलेगाउँ लमजुङको उत्तर पश्चिमको क्व्होलासोंथर गाउँपालिका– ३ मा पर्दछ । गाउँको सञ्चालक समितिका अध्यक्ष गंगाबहादुर घलेको अध्यक्षतामा उक्त बैठक बसेको थियो । 

स्मरणीय छ, क्ब्होलासोथर गाउँपालिका भरमा आजका मितिसम्म एक जनामात्र कोरोनाको संक्रमित पुष्टि भएको छ ।   

No comments:

Post a Comment