अब घुम्तिमा भेटिन्न बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वजलाई, पशुपति आर्यघाटमा अन्त्येष्टी, नेपाली संंगीत क्षेत्रमा गहिरो शोक - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, May 6, 2021

अब घुम्तिमा भेटिन्न बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वजलाई, पशुपति आर्यघाटमा अन्त्येष्टी, नेपाली संंगीत क्षेत्रमा गहिरो शोक

अन्तरङ्ग संवाददाता

काठमाडौंँ– दिगन्त फैलिएको मखमली स्वर जो अब घुम्तीमा भेटिने छैन । छातीमा समस्या देखिएपछि बिहान न्यूरो अस्पताल भर्ना गरिए पनि उपचार कामयावी हुन नसकेको पनि निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले निधन उहाँको निधनको जानकारी दिनु भएको हो । उहाँलाई अस्पताल लगेको केही समयमै निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । उहाँको निधनले नेपाली संगीतमा मात्र नभई विश्वभर छरिएर रहेका नेपालीमाझ गहिरो शोक पर्न गएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएसँगै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । सिमित व्यक्तिको उपस्थितिमा गायक प्रधानको अन्त्येष्टी बैशाख २३ गते गरिएको हो । प्रधानको अन्त्येष्टिमा आफन्तसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, पारस मुकारूङलगायत पशुपति आर्यघाट पुग्नु भएको थियो ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आर्यघाटमा प्रधानको पार्थिव शरीरमा सरकारको तर्फबाट राष्ट्रिय झण्डा ओडाउनु भएको थियो । त्यस्तै, अन्य सहभागीले पुष्प गुच्छाले अन्तिम श्रद्धाञ्जली दिदै उहाँको अन्तिम विदाई गरेका थिए । पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएका वरिष्ठ गायक प्रधान शल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिनुहुन्थ्यो ।

८४ वर्षको उमेरमा निधन भएका गायक तथा संगीतकार प्रेमध्वजलाई ‘मखमली स्वरका गायक’ मानिनु हुन्छ । छ दशक नेपाली गीत र संगीतमा अविच्छिन्न साधना गरेका उनी नारायणगोपाल, नातीकाजी, तारादेवीका समकालीन हुनुहुन्थ्यो ।

‘युगको एउटा प्रतिनिधि स्वरको समाप्त भएको छ ।’ गायक प्रेमध्वज प्रधानको निधनपछि गीतकार कालीप्रसाद रिजालले बताउनु भएको छ । रिजालले भन्नुभयो ‘प्रेमध्वजको स्वरले हाम्रो आधुनिक संगीत हराभरा बनाएको छ । अब त्यो सुरको भौतिक उपस्थिति सम्भव छैन ।’

वि. सं. १९९४ असारमा पिता रत्नध्वज र माता रामदेवी प्रधानका कोखबाट सिन्धुपाल्चोकमा प्रेमध्वज प्रधानको जन्म भएको थियो । प्रेमध्वजको न्वारनको नाम भने गणेशध्वज प्रधान हो । राजधानीको विश्व निकेतनमा करिब सात वर्षको हुँदा कक्षा एकमा भर्ना भएपछि उनको नाम गणेशध्वजबाट प्रेमध्वजमा बदलियो । प्रेमध्वजको शिक्षादीक्षा भने काठमाडौंमै भएको हो । ‘प्रेमबहादुर श्रेष्ठ सर प्रध्यानाध्यापक हुनुहुन्थ्यो, उहाँले नै माया गरेर आफ्नो नाम मलाई दिनुभयो, त्यसपछि म प्रेमध्वज भएँ ।’ उहाँले भन्ने गर्नु हुन्थ्यो । उहाँले आफ्नी आमा प्राणदेवी, उस्ताद गणेशलाल श्रेष्ठ र भारतीय संगीतकार जयदेवलाई जीवनका तीन आर्दश मान्ने गर्नु हुन्थ्यो । प्रधानको घरमा सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतमा गहिरो रुचि राख्ने हुँदा उहाँलाई संगीत क्षेत्रमा लाग्न सहज भएको हो । 

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वजलाई ‘मखमली स्वरका गायक’ मानिन्छ । छ दशक नेपाली गीत र संगीतमा अविच्छिन्न साधना गरेका उनी नारायणगोपाल, नातीकाजी, तारादेवीका समकालीन हुनुहुन्थ्यो । प्रेमध्वजले काठमाडौंका टोलहरूमा २००४ देखि गाउन थाल्नु भएको हो । यही क्रममा उस्ताद भैरवबहादुर थापाको शब्द र संगीतमा ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ बोलको गीत गाएर २००७ मा रेडियो नेपालको कठिन जाँचकी ‘क’ श्रेणीमा पास गर्नुभएपछि उहाँको औपचारिक संगीत यात्रा शुरु हुनुका साथै स्वरले उचाई पाउन थालेको हो । राष्ट्रिय भावनाले ओतप्रोत यो गीतले उनको चर्चा सर्वत्र फैलियो । वाद्यशिरोमणि मानिनु हुने उस्ताद गणेशलालसँग नै १५ महिना शास्त्रीय संगीतको शिक्षा लिए । स्वर परीक्षाको तीन वर्षपछि २०११ मा तारादेवीसँग ‘यो नेपाली शिर उचाली’ रेकर्डिङ गराउनु भएको हो  । त्यतिबेला अहिलेको जस्तो जताततै गीत रेकर्ड गर्न सकिने र सुन्न पाउने अवस्था थिएन । रेडियो नेपालमा ‘क’ श्रेणीको गायकले एउटा गीत ‘लाइभ’ गाएवापत १० रुपैयाँ पारिश्रमिक पाउँथ्यो ।

पहिलो पटक दिएको एसएलसी परीक्षामा आठ अंक अपुग भई पास हुन नसकेपछि एकजना साथीसँग उनी २०११–१२ सालतिर भारतको दिल्ली हुँदै बम्बैसम्म घुम्न जानु भयो । त्यहाँका मानिसहरूको पढाइप्रतिको लगाव र लगन देखेर उनलाई फेरि पढ्न मन लाग्यो । नेपाल फर्किने बित्तिकै उनले पद्मोदय स्कुलबाट २०१३ सालमा एसएलसी पास गर्नु भयो । एसएलसी पास भएसँगै गीत–संगीतकै यात्रामा लागेका वरिष्ठ गायक प्रधानलाई यही पेशाले मात्रै जिन्दगी चल्दैन भन्ने लाग्यो । सन् १९५९ डिसेम्बर ९ का दिन अमेरिकी पुस्तकालयमा करारमा जागिर थालेका प्रधान ६ महिनापछि स्थायी भएका थिए । जागिरको यात्रा झण्डै ३३ वर्ष जारी रह्यो । जीवन निर्वाह गर्न त्यसले सहज भएपछि प्रधानको सांगीतिक यात्राले गति लिएको थियो । गायक प्रधानको पहिलो गीत भने ‘आमा’ चलचित्रकी नायिका भुवन चन्दका पिता स्वर्गीय भैरवबहादुर थापाको शब्द र संगीतमा ‘याद कसैको आइरहेछ, यो अँधेरी रातमा’ हो ।

विधिवत रूपमा रेडियो नेपालमा २०२३ सालमा रेकर्डिङ सिस्टम आएपनि वरिष्ठ गायक प्रेमध्वजको पहिलो गीत ‘यो नेपाली शिर उचाली’ २०१४ सालमै रेकर्ड भएको थियो । आठ वर्षकै उमेरमा प्रेमध्वजका पिताजीले अर्को विवाह गरेपछि आमा रामदेवी श्रीमानबाट अलग्गिएर बस्न थालेसँगै उहाँ पनि आमासँगै बस्न थाल्नु भयो । अमेरिकी पुस्तकालयमा जागिर भएपछि उनको जीवनमा त्यति धेरै अभावको छायाँ पर्न पाएन । गीत गाएर संकलन भएको पैसा, जागिरको तलबले नभ्याएपछि गायक प्रधानले एक दिन राजधानीको जमलमा एकल साँझ आयोजना गरे । त्यहाँबाट ५७ सय रुपैयाँ कमाइ भयो । त्यही पैसाले उनले आधा रोपनी जग्गा किनेर घर बनाउनु भयो । केही समयपछि त्यो घरजग्गा ८५ हजारमा बेचेर उनी अचेलको घर भएको ठाउँ बागबजारमा आउनु भएको हो । उहाँले भन्नुहुन्थ्यो, ‘यही घरमा आएपछि मैले आमाको सल्लाहमा किरणकुमारी प्रधानसँग विवाह गरें ।’

नेपाली चलचित्र माइतीघरका लागि २०२३ मा उनले भारतका चर्चित संगीतकार जयदेवको संगीतमा चारवटा गीत गाउन पाउनु भयो । अन्ततः माइतीघर चलचित्रले नेपाली चलचित्रको पहिलो गायक र विदेशीसँग पहिलोपल्ट गीत गाउने गायक बन्न भयो प्रेमध्वज । त्यसपछि उषा मंगेश्करसँग ‘नमान लाज यस्तरी’ गाएपछि उनी विदेशीसँग गीत गाउने पहिलो गायक बन्नुभयो । यसरी चलचित्र माइतीघर नै प्रेमध्वजको जीवनको टर्निङ प्वाइन्ट बन्यो भन्दा अतिशयोक्ति हुनेछैन । उहाँले भन्ने गर्नुहुन्थ्यो, ‘आमा जीवित रहुन्जेल मेरा गीतको पहिलो स्रोता बनेर सुझाव दिइरहनुभयो, कमीकमजोरी औंल्याउँदै मेरो हरेक सफलतामा रमाइरहनुभयो, आज गायकका रुपमा मेरो जे–जति पहिचान छ, त्यो आमाकै देन हो, जे जति काम गर्न सकेको छु, त्यो आमाकै प्रेरणा हो, जे जति असल गुण लिएर बाँचेको छु, त्यो आमाकै शिक्षाको परिणाम हो । 

प्रेमध्वजले गीततर्फ आधुनिकमात्र नभई लोक, शास्त्रीय र पश्चिमी शैलीका गीतहरू पनि गाउनु भएको छ । लोकगीततर्फ झलकमान गन्धर्वको संकलनमा प्रेमध्वजले गाएको ‘यो नानीको शिरैमा ईन्द्रकमल फूल फुल्यो’ सर्वाधिक चर्चामा रह्यो । यस्तै आधुनिकतर्फ ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘पर लैजाऊ फूलहरू’ निकै लोकप्रिय रहे । राष्ट्रिय भावनाका गीततर्फ ‘यो नेपाली शिर उचाली’, ‘यही हो नेपाल नेपालीको घर’, ‘देशको लागि नबग्ने’जस्ता गीत चर्चामा रहेको पाइन्छ ।

प्रेमध्वजले ८० वर्षको उमेरमा प्रेम–गीत शीर्षकको एल्बम निकाल्नु भयो । यसबाट बुढेसकालमा पनि उहाँ संगीतमै समर्पित भएको प्रमाणित हुन्छ । ८० वर्ष पार गरेपछि नयाँ गीत रेकर्ड गराउन उहाँ तम्सिरहने गर्नु हुन्थ्यो । यही वर्षमात्र दर्जनौं पटक साहित्यिक र सांगीतिक कार्यक्रममा सहभागी हुनुभएका उहाँ सबै उमेरका मानिसँग संगत गर्न रुचाउने व्यक्ति भएको उहाँका निकटवर्तीहरू बताउछन् । उनीहरूले भन्ने गरेका छन्, ‘२० वर्ष नपुग्दा नै चर्चाको शिखरमा पुगेमा प्रेमध्वज घमण्डको लेससमेत देखिदैनथ्यो ।’ 

साढे आठ दशक पुगेका वरिष्ठ गायक अन्तिम पलसम्म पनि गीत रेकर्ड गराउँदै गीतसंगीतकै समीपमा रहनु भयो । शालीन व्यक्तित्व, मृदुभाषी, हँसिलो र भद्र स्वभावका गायक प्रधानको सुझाव थियो । ‘साधना भनेको खहरे जस्तो उर्लिएर हुँदैन, धैर्यता, लगनशीलता, इमान्दारिता र गम्भीर हुनैपर्छ ।’ भन्नुहुन्थ्यो । त्यही सकारात्मक सोच र स्वभावले हुनुपर्छ उहाँलाई अन्तिम दिनसम्म पनि भौतिक रूपमा बुढ्यौलीले नछोए झैं लाग्दथ्यो । ‘मै हुँ’ भन्ने गायकभन्दा कम सक्रिय हुनुहुथेन उहाँ ।

‘स्तरीय साहित्यबाट नै स्तरीय गीतको जन्म हुन्छ’ भन्दै नेपाली संगीतमा उच्चकोटीको गीतकारको अभाव रहेको संकेत गर्नुहुन्थ्यो उहाँ । कला, साहित्य र संगीत साधना हो भन्ने विषय नै अहिले बिरानोजस्तै भएको छ । अहिले साधनाले सिर्जेको सिर्जना र त्यसका सर्जकभन्दा ‘मिडिया’द्वारा स्थापित सिर्जना र सर्जक बिकाउ भएको भान हुन्छ । तर ‘भरिएको गाग्री सितिमिती डगमगाउँदैन, स्थिर हुन्छ, अटल हुन्छ’ भन्ने उदाहरण पनि छन्, समाजमा । ‘यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ’ हामी प्रायः सबैले सुनेको गीत हो । न त गायक प्रेमध्वज प्रधानले दशकौं पहिला आवाज दिएर त्यसको ब्याजमा आजको जिन्दगी चलाइरहनु भएको थियो । जे जसरी आजका दिनमा एउटा गीत, भिडियो वा सिर्जना भजाएर ‘कलाको व्यापार’ भइरहेको छ । यस्ता अनुकरणीय सर्जक हामी प्रेमध्वजबाट सदाका लागि बिदा हुनुभएको छ । उहाँको अर्को लोकका लागि शुरु भएको छ अनन्त यात्रामा । घुम्तीमा नआऊ है भन्दै गीत गाउने प्रेमध्वज अबका दिनमा कसैसँग कुनै पनि मोडमा सशरीर भेटिने छैन । ‘रुमानी संगीतका राजा’ प्रेमध्वजको सांगीतिक र शालीन जीवनलाई हरेक नेपाली सधैं सम्झिरहनेछन् ।

काठमाडौं बागबजार बस्दै आएका प्रेमध्वजका श्रीमती किरण तथा दुई छोरा प्रशन्न र कविर हुनुहुन्छ ।

No comments:

Post a Comment