अन्तरङ्ग संवाददाता
लजमुङ । कोरोना भरइस (कोभिड– १९) को दोस्रो प्रकोपबाट लमजुङ पनि अछुतो रहेन । यस जिल्लामा पनि मृत्यु हुन थालेको छ । राइनास नगरपालिका निवासी एक महिलाको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएबाट त्यस्तो पुष्टि भएको हो ।
कोरोनाको दोस्रो प्रकोपबाट जिल्लामा भएको यो पहिलो मृत्यु हो । लमजुङको राइनास नगरपालिका– ७, गरमवेसीकी ३८ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएकोपछि उपचारको क्रममा बैशाख १८ गते मृत्यु हुन गएको हो ।
ती महिला केही समय अघि छिमेकी मुलुक भारतबाट गाउँ आएकी थिइन् । उनमा सामान्य विरामी देखिएपछि बैशाख १२ गते धमिलीकुवास्थित सहोदर अस्पतालमा भर्ना गरिएको थियो । उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या बढ्न थालेपछि सहोदर अस्पतालबाट थप उपचारका लागि १५ गते चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको छ ।
उपचार गराउन चितवन मेडिकल कलेज लगिएकी ती महिलाको उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएको बताइन्छ । कोरोना संक्रमण पुष्टि भई स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि थप उपाचारका लागि चितवनबाट काठमाडौं रिफर गरिएको थियो तर काठमाडौं नपुग्दै बाटोमै उनको मृत्यु भएको परिवार स्रोतबाट खुल्न आएको छ ।
ती महिलामा कोरोना सक्रमण पुष्टि भएपछि राइनासमा हाल उच्च सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय लमजुङले बताएको छ । हाल राइनास– ७, गरमवेसीस्थित ती महिलाको परिवार, आफन्त र उनका सम्पर्कमा आएका छिमेकीहरूको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।
त्यस्तै, सदरमुकाम बेसीशहर स्थित एक वित्तीय सँस्थामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसँगै त्यसको सेवा बन्द गरिएको छ । बेसीशहर– ८, की ती महिला केही दिन अघि सामान्य विरामी भई पोखरा गएर पिसिआर गराउदा संक्रमण पुष्टि भएको हो ।
उनी बेसीशहरस्थित एनएमवि बैंक तथा ओम फाईनान्समा कार्यरत थिइन् । उनमा कोरोना संक्रमण पुष्टि भएसँगै सेवा बन्द गरिएको हो ।

No comments:
Post a Comment