अन्तरङ्ग संवाददाता
बेसीशहर– लमजमा दुई पालिकाबाट एक साताको अवधिमा ४ जना किशोरहरू हराएका छन् । राइनास नगरपालिका र क्व्होलासोंथर गाउँपालिकाबाट २÷२ जना किशोर हराएका हुन् ।
राइनास नगरपालिका– ४, सात बीसे टोलका १२ बर्षीय मनिष परियार र १४ बर्षीय सन्देश परियार बैशाख १६ गतेदेखि हराएको स्थानीय वडाध्यक्ष जयबहादुर गुरुङले बताए । उनका अनुसार दुवैजना बालकका अभिभावकहरूले उनीहरूलाई खोजी गरिदिन आग्रह गरेका छन् । मनिष उनका साथीहरूसंग चितवन जाने भन्दै घरबाट निस्केको तर त्यहाँ पनि नपुगेको र घरमा पनि नफर्किएको उनका बुवा प्रेम परियारले बताउनु भयो । उहाँका अनुसार सम्भाव्य ठाउँहरू जताततै खोज्दा पनि उनी भेटिएनन् । उनी हराएको बारेमा प्रहरी चौकीमा लिखित रुपमा अहिलेसम्म उजुरी नपरेको सोही नगरपालिकाको तीनपिप्ले स्थित प्रहरी चौकी प्रमुख प्रहरी नायव निरीक्षक मेगराज थापाले बताउनु भएको छ ।
यसैगरी, व्होलासोंथर गाउँपालिका– २को मालिङ गाउँबाट २ जना किशोर हराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनु भयो । उनीहरू स्थानीय शारदा माध्यमिक विद्यालयका कक्षा ६ मा पढ्ने १३ बर्षीय अमृत परियार र १५ बर्षीय बिनित तामाङ हराएका हुन् । उनीहरू हराएको पाँच दिन वितेको प्रहरी भनाई छ । उनीहरूलाई खोजी दिन प्रहरीमा निवेदन प्राप्त भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनु भयो । उहाँका अनुसार बिनितको घर पोखरा भए तापनि उनी पछिल्ला दिनमा मालिङमा बसेर पढ्दै आएका थिए । ती किशोरको खोजीका लागि प्रहरीले आवश्यक कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
No comments:
Post a Comment