राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा साहित्यकार श्रीओमलाई - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, May 7, 2021

राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा साहित्यकार श्रीओमलाई

अन्तरङ्ग संवाददाता

काठमाडौँ– राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा साहित्यकार श्रीओमलाई दिइने भएको छ । गोरखापत्रका प्रधान सम्पादक श्रीधर आचार्यले संस्थान परिसरमा आयोजित एक कार्यक्रमका बीच वैशाख २५ गते उहाँसहित अन्य पुरस्कृतहरूको नाम सार्वजनिक गर्नुभएको हो ।

नेपालको सबैभन्दा पुरानो अखबार गोरखापत्र प्रकाशनको १२१ वर्ष प्रवेश तथा छैटौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा अग्रज तथा क्रियाशील पत्रकारलाई पुुरस्कृत गर्ने घोषणा गरिएको हो । 

गोरखापत्र संस्थानको व्यवस्थापनले ५५ हजार ५५५ रुपैयाँ राशिको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ वितरण गर्दै आएको छ । सो पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार तथा साहित्यकार श्रीओम श्रेष्ठलाई प्रदान गरिने घोषणा गरिएको हो । श्रेष्ठ गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक र मधुुपर्क मासिकका पूर्वसम्पादक हुनुहुन्छ । 

कोरोना महामारीका कारण औपचारिक कार्यक्रम आयोजना हुन नसकेको र उपयुुक्त समयमा पत्रकार तथा कर्मचारीलाई पुुरस्कृत र सम्मानित गरिने संस्थानका प्रवक्ता तारा बस्यालले जानकारी दिनुुभयो । उहाँका अनुसार संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीमध्ये उत्कृष्ट कार्य गर्ने एकजनालाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ प्रदान गर्ने परम्पराअनुसार छ । सो पुरस्कार यस वर्ष शाखा अधिकृत रामकुमार बस्नेतलाई प्रदान गरिने घोषणा गरिएको प्रवक्ता बस्यालले जानकारी दिनुभयो । पुरस्कारको राशि २५ हजार ५५५ नगद तथा सम्मानपत्र रहेको छ ।

बस्यालले भन्नुभयो, ‘गोरखापत्र संस्थानका विभिन्न प्रकाशनमा कार्यरत पत्रकारहरूमध्ये यस वर्ष उपत्यकामा कार्यरत दुई र सात प्रदेशबाट एक–एक जना गरी नौ जनालाई पुरस्कृत गरिने भएको छ ।’ त्यसरी पुरस्कृत हुुने पत्रकारहरूमा प्रदेश १ बाट महेन्द्र विष्ट– मोरङ, प्रदेश २ बाट धीरेन्द्र साह– सप्तरी, बागमतीबाट बाबुराम शर्मा– दोलखा, गण्डकीबाट तारा चापागाईं दुवे– कास्की हुनुुहुन्छ ।’ यसैगरी, लुम्बिनीबाट दीपक ज्ञवाली– बुटवल, कर्णालीबाट कमल शर्मा– दैलेख र सुदूरपश्चिमबाट गोकर्ण दयाल– बैतडी भएको बस्यालले उल्लेख गर्नु भयो । उहाँका अनुसार उपत्यकाबाट गोरखापत्रमा कार्यरत पत्रकार भउचप्रसाद यादव र द राइजिङ नेपालमा कार्यरत आशिष मिश्रलाई पुरस्कृत गरिने भएको छ ।

गोरखापत्रको प्रकाशन शुरु भएको पहिलो दिन वैशाख २४ लाई नेपाल सरकारले छ वर्षअघि राष्ट्रिय पत्रकारिता दिवस मनाउने घोषणा गरेसँगै संस्थानले यी पुरस्कारको घोषणा गरी वर्षेनी वितरण गर्दै आएको छ । 

पुरस्कार घोषणा गर्नु अघि कार्यक्रममा धर्मपथस्थित संस्थान परिसरमा रहेको जयपृथ्वीबहादुर सिंहको सालिकमा फूलमाला अर्पण गरिएको थियो । सो अवसरमा गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार गोपाल खनालले राष्ट्र आवाज मुखरित गर्ने गोरखापत्रको विगत गौरव गर्नलायक रहेको बताउँदै यसको आउँदा हजारौं वर्ष निरन्तरता पाउने कामना गर्नुभएको थियो ।

No comments:

Post a Comment