नेपालडाँडा– धमिलीकुवा– बोराङखोला सडकमा कालोपत्रे कार्य तिब्र - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, May 7, 2021

नेपालडाँडा– धमिलीकुवा– बोराङखोला सडकमा कालोपत्रे कार्य तिब्र

अन्तरङ्ग संवाददाता

बेसीशहर– तनहुँको नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका– १ को बोराङखोलासम्मको सडकमा कालोपत्रे कार्यले तिब्र गति लिएको छ । उक्त सडक खण्डको दुरी १० किलोमिटर छ । 

उक्त सडकमा कालोपत्रे गर्ने कार्य २०७६ असोजबाट शुरु भएको हो । चालु आर्थिक बर्ष २०७७÷७८ भित्रै कालोपत्रेको कार्य सकिने गरी काम भइरहेको छ । राइनास नगरपालिका– ८ को तार्कुघाट बजारबाट धमिलिकुवा हुँदै सडक बोराङ खोला पुग्ने भएको हो । आर्थिक बर्षको अन्तिमसम्म सकाउनुपर्ने भएपनि समय अगावै सकिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक कालोपत्रेको काम करिव ७० प्रतिशत सकिएको पूर्वाधार विकास कार्यालय लमजुङका कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीले बताउनु भयो । उहाँका अनुसार सो सडकमा गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत कालोपत्रे भइरहेको हो । उक्त सडक यसै आर्थिक बर्षभित्र सक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

उक्त प्रादेशिक सडक २८ करोड रुपैयाँमा सम्झौता भएर काम भइरहेको छ । सडक कालोपत्रेको काम लामा कन्ट्रक्सन कम्पनी काठमाडौं महाराजगंजले गरिरहेको छ । 

प्रादेशिक सडक निर्माण सम्पन्न भएपछि नागरिकलाई यात्राका लागि सहज हुनेछ । कच्ची सडकमा ३ घण्टा लगाएर यात्रा गर्नुपर्ने स्थानीयले अव ३० मिनेटमा यात्रा गर्न सक्ने पूर्वाधार विकास कार्यालयका इन्जिनियर आशिष पोखरेलले बताउनु भयो । उहाँका अनुसार नागरिकलाई सहज यातायात सेवा दिन र दैनिकीमा सहज बनाउन प्रदेश सरकारबाट उक्त योजना स्विकृत भएको हो । उक्त सडक सदरमुकाम बाहिर जिल्लाकै पहिलो लामो कालोपत्रे प्रादेशिक सडक हुनेछ ।  

यसैगरी, निर्वाचन क्षेत्र ख मा एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत करापुटार–डढुवा–साल्मेभञ्ज्याङ–मालिङ–कपुरगाउँ सडक पनि निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । सो कार्यालयका अनुसार चालु आवमा जिल्ला सदरमुकामभन्दा बाहिर २० किलोमिटर कालोपत्रे सडक थपिने भएको कार्यालयले जनाएको छ । 


No comments:

Post a Comment