पद हस्तान्तरण बिना नै काम थाल्यो पत्रकार महासंघको नयाँ समितिले - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, May 12, 2021

पद हस्तान्तरण बिना नै काम थाल्यो पत्रकार महासंघको नयाँ समितिले

अन्तरङ्ग संवाददाता

लमजुङ– नेपाल पत्रकार महासंघ जिल्ला शाखाको नवनिर्वाचित समितिले पद हस्तान्तरण हुनु अघिनै काम थालेको छ । सुन्दरबजारमा बैशाख २२ गते बसेको उक्त समितिको दोश्रो बैठकले विविध निर्णय गर्दै काम थालेको जनाएको हो । 

उक्त बैठकले ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने, जिल्लाका सबै स्थानीय तहसँग वार्षिक कुल बजेटको एक प्रतिशत बजेट पत्रकारिताको श्रीबृद्धिमा छुट्याउन अनुरोध गर्ने, कोभिडकालमा पत्रकारको सुरक्षाको प्रवन्ध गर्ने, समानुपातिक विज्ञापनलाई व्यवस्थित गर्ने, महासंघको भवन निर्माणका लागि पहल गर्ने लगायतका निर्णय गरेको जानकारीमा आएको छ । 

‘पत्रकार कल्याणकारी कोष’ स्थापनाका लागि पहिलो चरणमा महासंघमा आवद्ध सम्पूर्ण सदस्यबाट जनही एक–एक हजार रुपैयाँ संकलन गरी कोष स्थापना गर्ने निर्णय भएको छ ।  सो कोषमा विभिन्न सहयोगी व्यक्ति तथा संघ संस्थाबाट प्राप्त हुन आउने सहयोग रकम समेत राखेर काम गर्ने भएका छौं शाखाका अध्यक्ष परमेश्वर अधिकारीले बताउनु भयो । उहाँका अनुसार सदैव अग्रपंक्तिमा रहेर सूचनाप्रवाहमा खटिरहेका पत्रकारहरूलाई दुःख–आपत पर्दाको क्षणमा सहयोग पुर्याउने उद्देश्यले नै पत्रकार कल्याणकारी कोष आवश्यक देखिएको हुँदा यसको स्थापना गर्ने र व्यवस्थित बनाउने निर्णय गरिएको हो । उहाँले भन्नुभयो, ‘त्यसरी निर्माण भएको कोषको रकम पत्रकारहरूको हकहितका क्षेत्रमा खर्च गरिनेछ ।’

कोरोनाभाइरसको दोश्रो प्रकोप फैलिरहेको यस विषम परिस्थितिमा पत्रकारहरूको परिवारको स्वास्थ्य बीमासँगै समाचार संकलनमा सहजताका लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रवन्धका विभिन्न सहयोगी संस्थाहरूसंग समन्वय गरी वितरण गर्ने बैठकले निर्णय गरेको शाखाका उपाध्यक्ष शान्ता कमलीले बताउनु भयो । उहाँका अनुसार त्यस्तै, समानुपातिक विज्ञापन वितरणका लागि स्थानीय तह र सरकारी संघ सस्थाहरूसँग आवश्यक पहल गर्ने समेत महासंघले निर्णय गरेको जानकारीमा आएको छ । 

जिल्लाका सञ्चारमाध्यमको स्थायित्व तथा तिनमा काम गर्ने पत्रकारहरूको पेशागत सुरक्षाका लागि जिल्लाका सबै स्थानीय तहसँग वार्षिक कुल बजेटको एक प्रतिशत बजेट महासंघ, जिल्लास्थित संचार माध्यम र पत्रकारको क्षमता अभिवृद्धिका लागि विनियोजन गर्न अनुरोध गर्ने निर्णय भएको अध्यक्ष अधिकारीको भनाई छ । 

यसैगरी, बैठकले शाखाको भवन निर्माणका लागि ७ सदस्यीय जग्गा छनौट एवं खरिद समिति समेत गठन गरेको छ । शाखाका अध्यक्ष अधिकारीकै संयोजकत्वमा गठित समितिको सदस्यहरूमा उपाध्यक्ष अनुज अधिकारी, शान्ता कमली, सचिव रुद्रहरि ढकाल, कोषाध्यक्ष रविन्द्र लामिछाने, पूर्वअध्यक्ष नवीनराज कुइँकेल र सदस्य सिर्जना घिमिरे रहेको बताइएको छ । 

‘हामीले निर्णय गरे बमोजिमका कार्यलाई व्यवहारमा उतार्न तत्काल अघि बढ्नेछौँ ।’ अध्यक्ष अधिकारीले भन्नुभयो । ‘पद हस्तान्तरण नै भनई किन हतार गर्नु भयो त ?’ भन्ने जिज्ञासामा ‘चुनाव सकिएको एक महिना पुग्यो, यो बीचमा त्यस बारेमा केही कुराकानी पनि भएको हो, सकारात्मक जवाफ आएन, कोभिडका कारण पनि समय जटिल बन्दै गएको यो बेलामा कसरी मौन बस्न सकिन्छ ?’ उहाँले प्रतिप्रश्न गर्नु भयो ।

यसबारेमा पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष आश गुरुङसँग सम्पर्क गर्दा ‘मसँग के छ र ? अफिसको चावी, छाप, माइनुट सबै हिजोका सचिव, कोषाध्यक्षसँग हो, कोषाध्यक्ष उपाध्यक्ष भएकी छन्, सचिव उहाँहरूलाई नै सहयोग गर्ने व्यक्ति भएको तपाईलाई थाहै छ । निर्वाचित भएर प्रमाणपत्र पाएपछि स्वतः पद हस्तान्तरण हो नि ! औपचारिक रुपमा हस्तान्तरणको कार्यक्रम गर्नका लागि कोभिडले पनि अलिक समस्या पा¥यो ।’ गुरुङले भन्नुभयो ।  


No comments:

Post a Comment