मिस युनिभर्स– २०२० को उपाधि मेक्सिकन सुन्दरी एन्ड्रियाले चुमिन् - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, May 18, 2021

मिस युनिभर्स– २०२० को उपाधि मेक्सिकन सुन्दरी एन्ड्रियाले चुमिन्

अन्तरङ्ग संवाददाता

काठमाडौं । ‘मिस युनीभर्स’ को ६९ औं संस्करणको उपाधि २६ वर्षीया एन्ड्रिया मेजाले चुमेकी छन् । मे १६ अर्थात जेठ २ गतेका दिन संयुक्त राष्ट्र अमेरिकाको सेमिनोल हार्ड रक होटल एन्ड क्यासिनो हलिउडमा भएको उक्त प्रतियोगितामा मेक्सिकोकी सुन्दरीले बाजी मार्न सफल भएकी हुन् । ७३ देशका सुन्दरीलाई पछि पार्दै उनी मिस युनिभर्स बनेकी हुन् । उनी मिस युनिभर्स २०२० की विजेता बनेकी हुन् । 

सो प्रतियोगिताको अन्तिम चरणमा सुन्दरताको बद्लिदो मापदण्डको शिर्षकमा आफ्नो उत्कृष्ट भनाई राख्दै सो उपाधि हत्याएकी हुन् । त्यस प्रतियोगिताको प्रश्नोत्तर राउन्डमा एन्ड्रियालाई सोधिएको थियो, ‘यदि तपाईं आफ्नो देशकी नेता हुनुहुन्थ्यो भने तपाईं कोभिड– १९ महामारीलाई कसरी नियन्त्रण गर्नुहुन्थ्यो ?’ यसको जवाफमा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ, कोभिड– १९ जस्तो यो मुश्किल स्थितिसँग जुधुनका लागि कुनै सही तरिका छैन । यद्यपि, स्थिति भयावह हुनु अगावै मैले लकडाउन भने गर्थेँ होला किनभने हामीले धेरै ज्यान गुमाएका छौं ।’

यसैगरी, मिस युनिभर्स प्रतियोगितामा मिस म्यानमार थुजार विन्ट ल्विनले भने आफ्नो देशमा चलिरहेको द्वन्द्वबारे बोल्दै स्टेजको ध्यान खिच्न सफल भएकी थिइन् । आफ्नो देश म्यानमारमा भइरहेको सैनिक कूबारे उनले भनेकी थिइन्, ‘हाम्रा मानिसहरू मरिरहेका छन् र सेनाले दैनिक गोली हानेर मान्छे मार्दैछ । त्यसैले म सबैलाई म्यानमारबारे बोल्न आग्रह गर्छु ।’ विभिन्न देशका ७४ जना सुन्दरीले यस वर्षको मिस युनिभर्स उपाधिमा प्रतिष्पर्धा गरेका थिए । जसमध्ये उत्कृष्ट २१ जनाले मात्रै अन्तिम चरणसम्म जाने मौका पाएका थिए । 

पेसाले सफ्टवेयर इन्जिनियर समेत रहेकी एन्ड्रिया मोडल हुनुका साथै मेक्सिकोबाट मिस युनिभर्स बन्ने तेस्रो महिला हुन् । एन्ड्रियाको जन्म चिहुवाहुवा शहरमा १३ अगस्ट सन् १९९४ मा भएको हो । एन्ड्रिया २६ वर्षकी हुन् । उनी अल्मा कारमोना र स्यान्टियागो मेजाकी जेठी छोरी हुन् । उनका अन्य दुई बहिनी छन् । सन् २०१७ मा चिहुवाहुवाबाट नै उनी सफ्टवेयर इन्जिनियरको रुपमा ग्रेजुएट भइन् । एन्ड्रिया लैङ्गिक हिंसाको विषयमा निकै मुखर छिन् । उनले सन् २०२० मा मेक्सिकन युनिभर्सल २०२० को ताज जितेकी थिइन् । यसबाहेक उनी मिस मेक्सिको २०१७ समेत बनिन् । उनले सन् २०१७ को विश्व सुन्दरीमा शीर्ष तीनमा आफ्नो स्थान बनाएकी थिइन् ।

प्रतियोगिताको टप– २१ सम्म पर्न सफल हुँदा एन्ड्रियाले सबभन्दा उत्कृष्ट राष्ट्रिय पोशाकको उपाधि जितेकी थिइन् । उक्त पोशाकसँगै उनले ‘प्रे–फर म्यानमार’ लेखेको पर्चा देखाएकी थिइन् । 

सन् २०२० मा आयोजना हुनुपर्ने मिस युनिभर्स कोरोना कहरका कारण एकवर्ष पछाडि धकेलिएको हो । यस वर्षको मिस युनिभर्सका होस्ट पूर्व मिस युनिभर्स विजेता ओलिभिया कल्पो र मारियो लोपेज हुन् ।

उक्त सुन्दरी प्रतियोगितामा ब्राजिलकी सुन्दरी जुलिया गामा, पेरुकी सुन्दरी जेनिका मसेटा र भारतकी सुन्दरी एडलाइन क्यास्टेलिनो क्रमशः फस्र्ट, सेकेन्ड र थर्ड रनरअप बनेका छन् । 

त्यस प्रतियोगितामा भाग लिन नेपालबाट आंशिका शर्मा गएकी थिइन् । आंशिकासँगै यो प्रतियोगितामा नेपालबाट अहिलेसम्म चारजना सुन्दरीहरूले भाग लिइसकेका छन् । जसमा सन् २०१७ मा नगमा श्रेष्ठ, सन् २०१८ मा मनिता देवकोटा र सन् २०१९ मा प्रदीप्ता अधिकारी । आंशिका शर्मा मिस नेपाल २०२० की फष्ट रनरअप हुन् । 

– एजेन्सीको सहयोगमा । 

No comments:

Post a Comment