अन्तरङ्ग संवाददाता
चामे– हिमाल पारीको जिल्लाको उपमा पाएको मनाङमा समेत कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपको संक्रमण फैलिन थालेको छ । मनाङमा २८ जनामा कोरोना संक्रमण बैशाख २८ गते पुष्टि भएको हो । संक्रमित हुनेमा एक विदेशी नगरिक समेत रहेको र जिल्लामा कुल संक्रमितको संख्या ४२ पुगेको छ ।
यतिबेला मनाङ जिल्ला अस्पतालको आइसोलेसनमा एकजना महिला र पुरुष संक्रमितको उपचार भइरहेको छ । एक जना माथिल्लो मनाङ घर भएका ८४ वर्षका बृद्ध थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. बद्री आचार्यले बताउनु भयो । उहाँका अनुसार एक महिला र पुरुष जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन् । अन्य संक्रमितहरू आफ्नै घरको आइसोलेसनमा रहेका छन् । उहाँले भन्नुभयो, ‘हाल जिल्लाभर कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । आज पुष्टि भएका संक्रमितमध्ये एक जना १६ वर्षकी बालिका, एक विदेशी नगरिक, १० जना महिला र १७ जना पुरुष रहेका छन् । उनीहरू ४ जना जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकाका हुने भने अन्य सबै निस्याङ गाउँपालिकाका हुन् ।’
संक्रमित मध्ये एक जना ३९ वर्षका नेदरल्याणका नागरिक समेत रहेको र उनी माथिल्लो मनाङको एक होटलमा सुरक्षित रहेको र उनीलाई निगरानी गर्न सम्बन्धित वडाध्यक्षलाई अनुरोध गरिएको जिल्ला अस्पताल मनाङका जनस्वास्थ्य अधिकृत सुदीप खत्रीले बताउनु भयो । उहाँका अनुसार चामे गाउँपालिकाका २९ वर्षका दुई पुरुष तथा ३९ र ५५ वर्षका महिला छन् । अन्य संक्रमित सबै निस्याङ गाउँपालिकाका हुन् । उनीहरूको उमेर क्रमशः १७, १९, ३३ वर्षका दुईजना, ४६, ४७, ५३ र ६९ वर्षीया महिला छन् । त्यस्तै, संक्रमित पुरुषहरूको उमेर २१, २८, २९, ३१, ३२ र ३३ वर्षका २/२ जना, ३५, ४५, ५९ र ६६ वर्ष रहेको जनस्वास्थ्य अधिकृत खत्रीले जानकारी दिनुभयो ।
यसैबीच, मनाङमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि चामे गाउँपालिकाले १० शैयाको अस्थायी आइसोलेसन कक्ष निर्माण गरेको छ । सो गाउँपालिकामा ४ जनामा संक्रमण देखिएपछि उसले बैशाख २१ गते सो कार्य गरेको हो । अहिले चामे गाउँपालिकामै संक्रमितको संख्या ११ पुगिसकेको छ । तर, अघिकांश संक्रमित होम आइसोसेलनमा रहेका छन् ।
गाउँपालिकामा रहेको कबर्डहल प्रयोग गरेर गाउँपालिकाले आइसोलेसन कक्ष निर्माणका लागि गाउँपालिकाले आफ्नै लगानीमा १० शैयाको अस्थायी अस्पताल बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताउनु भयो । उहाँका अनुसार गण्डकी प्रदेश सरकारले उपलव्ध गराएको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालनमा नआएको भन्दै गाउँपालिकाले भेन्टिलेटर सञ्चालनको तयारी समेत थालेको छ । उहाँले भन्नुभयो, ‘गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेको अध्यक्षतामा बसेको स्थानीय कोभिड व्यवस्थापन समितिको वैटकले सो निर्णय गरेको हो । साथै, संक्रमितहरूको थप उपचारमा सहयोग गर्न रेडक्रससँग सहकार्य गरेर निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।’
जिल्लामा एमडिजिडिपी गरेका डाक्टरको अभावमा थन्किएका भेण्टिलेटर र अक्सिजन सञ्चालनका लागि करारमा चिकित्सक नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको चन्दले जानकारी दिनुभयो ।
यसैगरी, कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोप फैलिन थालेसँगै त्यसको नियन्त्रण तथा रोकथामका लागि सशस्त्र प्रहरी पनि सक्रिया हुन थालेको छ । मनाङमा १४ जना सङ्क्रमित देखिँदै गर्दा जिल्लावासीलाई आषधि र मास्कसहित नासों गाउँपालिका– ६, ७ तिल्चे गाउँ वडानं– ८ को ताचै गाउँ र वडानं ४को ओडार गाउँमा पुगेर सर्वसाधारणलाई मास्क वितरण गर्दै यसको प्रगोग गर्न विधि सिकाउन सशस्त्र प्रहरी गाउँगाउँमा पुगेको हो । उक्त कार्यका लागि मनाङमा रहेको सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्मका गुल्मपती डिएसपी होमनाथ पन्थीको नेतृत्वमा ७ जना जवानहरू गाउँगाउँमा पुगेर कोरोना भाइरससँग कसरी बाँच्ने भन्नेबारेमा सचेतना जगाउने काम गरिआएका छन् ।
No comments:
Post a Comment