अन्तरङ्ग संवाददाता
काठमाडौं– प्रधानमन्त्रीका लागि वर्तमान प्रधानमन्त्री केपि शर्मा ओली र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा दुवैको दाबी राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । राष्ट्रपतिले वैकल्पिक सरकारका लागि जेड ७ गते ५ बजेसम्मका लागि दिनु भएको समय सकिएको छ । अब प्रधानमन्त्री को होला ? भन्ने कौतुहलता भने कायम
प्रधानमन्त्री पदका लागि ओलीले १५३ सांसदको हस्ताक्षर बुझाउनु भएको छ भने देउवाले १४९ सांसदको दस्तखत जुटाउनु भएको बताइएको छ । प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये चार सिट खाली छ । नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका चार सांसदलाई कारवाही गरेपछि ती चार सिट रिक्त रहेको हो । अन्य चार सांसद निलम्बनमा छन् । तर प्रधामन्त्रीमा दावी गर्ने ओली र देउवाले बुझाएको दावीमा भने ३०२ जनाको हस्ताक्षर देखिन्छ । यसैले पनि प्रधानमन्त्रीका लागि कस्को पल्ला भारी हुने हो यसै भन्न कठिन भएको स्रोतले जनाएको छ ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्न राष्ट्रपति आव्हान गरेपछि शीलतनिवासमा विपक्षी गठबन्धन र सत्तारुढ केपी शर्मा ओली पक्षले नयाँ सरकारका लागि छुट्टाछुट्टै हस्ताक्षर शीलतनिवासमा बुझाएका हुन् ।
प्रधानमन्त्री पदका लागि केपि शर्मा ओलीले एमालेका १२१ सांसद र जनता समाजवादीका ३२ सांसद गरी १५३ सांसदको हस्ताक्षर लगेर सरकारको नेतृत्वका लागि आधार पेश गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले बताउनु भयो । उहाँका अनुसार ओलीले बुझाएको हस्ताक्षरमा एमालेका तर्फबाट अध्यक्ष ओली र जसपाका तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोले हस्ताक्षर रहेको छ ।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२, नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका २६ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका भट्टराई–यादव पक्षका सांसद र एमालेका खनाल–नेपाल समूहका नेताहरूको हस्ताक्षरसहित देउवा पक्षबाट शितल निवासमा दावी पेश भएको छ ।
यस प्रकार दुवैतर्फको सांसद संख्या जोड्दा ३०२ हुन्छ । केही सांसद दुवै पक्षले आफ्नोतर्फ गणना गरेका कारण यस्तो अवस्था देखिएको हो ।
ओलीले एमालेका १२१ सांसदकै समर्थन गणना गर्नु भएको छ तर उक्त पार्टीका माधवकुमार नेपालसहितका नेताहरू देउवाको साथ लागेर शीतल निवास पुगेका थिए ।
उता, जसपाका उपेन्द्र यादव, बाबुराम भट्टराईहरु पनि दुवै तिर गणना भएका छन् । ओलीले जसपाका ३२ सांसदको समर्थन आफ्नो पक्षमा रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् भने सोही पार्टीका उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेता देउवाको साथ लागेर शीतल निवास पुगेका छन् ।
यसैबीच, नेकपा एमाले सांसद जयकुमार राईको नाममा सार्वजनिक भएको पत्रमा राईले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको दाबी गर्नु भएको बताइएको छ । उहाँको आफ्नो पार्टी अध्यक्षको विरुद्धमा विपक्षी नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै पनि हस्ताक्षर नगरेको दाबी रहेको ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताउनु भएको छ ।
देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका २७ सांसदले हस्ताक्षर गरेका छन् । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत माग्दा नेपाल समूहका यी सांसद अनुपस्थित थिए ।
देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्तावमा जनता समाजवादी पार्टीको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहका १३ जनाले मात्र हस्ताक्षर गरेका छन् ।

 
No comments:
Post a Comment