अन्तरङ्ग संवाददाता
बेसीशहर । लमजुङमा जेठ ५ गतेका दिन गएको भूकम्पका कारणले टनेलमा बस भएकी एक सुत्केरी अझै टनेलमै बस्न बाध्य भएकी छन् । बासको विकल्प हुने गरी उनको परिवारले जेठ ७ गतेसाँझसम्म कतैबाट पनि राहत पाउन सकेका छैनन् ।
दोर्दी गाउँपालिका– ८ को द्वार गाउँकी २३ वर्षीया दिलमाया मगर भूकम्पले घर चिरा पारेर ढल्ने स्थिति उत्पन्न भएपछि टनेलमा बास भएको उनका श्रीमान् जंगबहादुर मगरले बताए । उनले भने, ‘सुत्केरी श्रीमती, नवजात शिशु, ठूली छोरी र आफू सबै टनेलमा बसेका छौं, यसअघिसम्म खासै राहतको सामग्री पाएको छैन ।’
त्यसको जानकारी पाएपछि सुन्दरबजार नगरपालिका– ६ स्थित न्युश्रेष्ठ इन्टरप्राइजेजका प्रोपाइटर एवम् अन्तरङ्गका व्युरोप्रमुख विष्णुकुमार श्रेष्ठले एक बोरा चामल, दाल, नुन तेल, डिटोल साबुन, लुगाधुने साबुन, सुत्केरीका लागि मेथी, ज्वानो, व्ल्यान्केट, नवजात शिशुका लागि कपडा लगायतका सामग्री पठाएको बताउनु भएको छ । ती सामग्री दोर्दी गाउँकार्यपालिका सदस्य एवम् आर्थिक विकास समिति संयोजक लालमाया उपरकोटीको रोहबरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको श्रेष्ठले बताउनु भयो ।
भूकम्पले घरमा चिरा परेको छ, भूकम्प पटक पटक आइरहेको छ र फेरि पनि आउँछ भन्छन्, घर ढलेर पुर्ने, मार्ने गर्छ कि भनेर घरमा सुत्न नसकेको जंगबहादुर मगरले बताए । ‘आफ्नो यस्तो स्थितिका बारेमा वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलाई जानकारी गराउनु भएको छैन ?’ भन्ने जिज्ञासामा ‘खै उनीहरूलाई भनेर के हुन्छ र ?’ भन्दै तामाङले प्रतिप्रश्न गर्नु भयो ।
तामाङ परिवारले कहिलेसम्म यसरी दिन विताउनु पर्ने हो त्यो भने एकिन हुन सकेको छैन ।

 
No comments:
Post a Comment