चेम्बरको ‘अक्सिजन सिलिण्डर संकलन अभियान’का लागि समाजसेवी कर्णद्वारा ५० हजार सहयोग - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, May 20, 2021

चेम्बरको ‘अक्सिजन सिलिण्डर संकलन अभियान’का लागि समाजसेवी कर्णद्वारा ५० हजार सहयोग

अन्तरङ्ग संवाददाता

सुन्दरबजार(लमजुङ)– लमजुङमा कोभिड– १९ बाट पीडितहरूको उपचारमा सहयोग गर्ने उद्देश्यले सुन्दरबजार चेम्बर अफ कमर्सले ‘अक्सिजन सिलिण्डर संकलन अभियान’ शुरु गरेको छ । सो कार्यका लागि सुन्दरबजार नगरपालिका– ९ फेदीकुना टोल निवासी समाजसेवी कर्ण तामाङले ५० हजार रुपैयाँ जेठ ७ गते सहयोग गर्नु भएको छ । 

पाँच महिना अघि(मंसिर ३० गते)मात्र स्वर्गे हुनुभएका आफ्ना दाजु वरिष्ठ समाजसेवी भिमबहादुर तामाङको स्मृतिमा उहाँले सो रकम प्रदान गर्नु भएको हो । हाल वैदेशिक रोजगारीको क्रममा कतारमा रहनु भएका कर्ण तामाङले आफ्नी दिदी विष्णुकुमारी गुरुङमार्फत चेम्बरलाई सो रकम उपलब्ध गराउनु भएको हो । कर्णकी दिदी विष्णुकुमारीले उक्त रकम सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठलाई आफ्नै निवासमा हस्तान्तरण गर्नु भएको हो । 

लालबहादुर तामाङ बुबा र आमा पानमति तामाङका परोपकारी मनका धनी कान्छा छोरा कर्ण तामाङले गत बर्ष लकडाउनको समयमा सुन्दरबजार नगरपालिका– ६ र ९ का विपन्न ज्यालादारी र खाना धौ धौ परेका ७१ परिवारलाई एक लाख ३३ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्नु भएको थियोे । 

त्यस्तै, सुन्दरबजार नगरपालिका– ७ का सोमबहदुर गुरुङलाई ब्रेन ट्युमरको शल्यक्रियाका लागि २५ हजार रुपैयाँ प्रदान गर्नुका साथै सुन्दरबजार नगरपालिका– ६ निवासी आइतिमाया तामाङको क्यान्सर उपचारका लागि २५ हजार रुपैयाँ सहयोग गर्नु भएको थियोे । 

यसरी समाजसेवा गर्दा आफूलाई आत्म सन्तुष्टि प्राप्त हुने बताउदै कठिन अवस्थामा सहयोग गर्नु नै मानवीय धर्म भएको उहाँले फोनबाट बताउनु भएको छ । उहाँले कोभिड– १९ बाट सिर्जित विषम परिस्थितिमा मानवीय सेवा कार्यमा जुटेर आफ्नो गाउँसमाजमा मानवीय क्षति हुन नदिनका लागि अन्य मनकारी महानुभावलाई समेत अनुरोध गर्नु भएको छ । 

चेम्बरले शुरु गरेको ‘अक्सिजन सिलिण्डर संकलन अभियान’का लागि सहयोग गर्नु हुने समाजसेवी कर्ण तामाङ पहिलो व्यक्ति भएको जानकारी दिदै सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले उहाँलाई विशेष धन्यवाद ज्ञापन गर्नुु भएको छ ।


No comments:

Post a Comment