अन्तरङ्ग संवाददाता
बनेपा(काभ्रे)– स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान महासचिव, अन्तरङ्गका सम्पादक एवम् साहित्यसेवी नवराज पहाडीसहित पाँच सञ्चारकर्मीलाई जनमत सम्मानद्वारा सम्मानित गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठानले आयोजना गरेको ३७औं वार्षिकोत्सवको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।
प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती सहितका तीन प्रतिष्ठान ललितकला र संगीत तथा नाट्यका कुलपतिहरूले उनीहरूलाई संयुक्त रुपमा सम्मानपत्र, दोसल्ला, मेडल तथा नगद राशीसहितले सम्मान गर्नु भएको हो । सम्मानित हुने पत्रकारहरूमा नवराज पहाडी (लमजुङ), ठाकुर बेलबासे (अर्घाखाँची हाल काठमाडौं), टंक उप्रेती(झापा हाल काठमाडौं), लक्ष्मी भट्टराई(सिन्धुली) र सुरेशकिरण मानन्धर (काठमाडौं) हुनुहुन्छ । उहाँहरूलाई क्रमशः जनमत जनक प्रधान सेवा सम्मान– ०७६, दीपा– जनमत सम्मान– ०७६, जनमत जनक प्रधान सेवा सम्मान– ०७५, भारती जनमत साहित्यिक पत्रकारिता सम्मान– ०७५, गणेश÷खिलकुमारी ढुवाल जनमत सम्मान– ०७६ बाट सम्मान गरिएको हो ।
साथमा अन्य केही स्रष्ट्रहरूलाई पनि सो अवसरमा सम्मान गरिएको छ । गत वर्ष कोभिड– १९ को संक्रमणले भएको बन्दाबन्दीका कारण जनमतको वार्षिकोत्सव हुन सकेको थिएन । त्यसैले २०७५ र ०७६ सालका ती सम्मान एकै साथ हस्तान्तरण गरिएको जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मेहन दुवालले बताउनु भयो । उहाँका अनुसार अन्य सम्मानित हुने स्रष्टाहरूमा रविकिरण ‘निर्जीव’(चितवन), राजा शाक्य(काठमाडौं), शेषराज शिवाकोटी(दोलखा), भागीरथी श्रेष्ठ(गुल्मी), रीता ताम्राकारण(सुनसरी), सोमकाजी शाक्य(काभ्रे), यशु श्रेष्ठ(रौतहट), मुकुन्दप्रसाद उपाध्याय(सिन्धुली), रामबहादुर पहाडी(पाल्पा) र डा. राजेन्द्र काँजू(काभ्रे) हुनुहुन्छ । उहाँहरूलाई २०७५ सालको जनमत सम्मान प्रदान गरिएको दुवालले उल्लेख गर्नु भयो ।
यसैगरी, जनमत सम्मान– २०७६ पाउन अन्य स्रष्टाहरूमा हरिराम जोशी(ललितपुर), प्रा.डा. उषा ठाकुर(काठमाडौं), सुलोचना मानन्धर धिताल(काठमाडौं), सरोजा खड्गी(मोरङ), छायाँदत्त न्यौपाने ‘बगर’(पर्वत), प्रा.डा. रमेशचन्द्र अधिकारी(धादिङ हाल काठमाडौं), प्राडा गोविन्दराज भट्टराई(ताप्लेजुङ, हाल काठमाडौं) र प्राडा सुमनराज ताम्राकार(काभ्रे) रहेको जनमत डटकमकी सम्पादक सिर्जना दुवालले बताउनु भयो ।अत्यन्त शालीन तथा सौम्य रुपमा सञ्चालन गरिएको उक्त सम्मान समारोहमा जनमतका तर्फबाट नेपाली साहित्यको श्रीबृद्धिमा गरिएको योगदानका बारेमा वक्ताहरूले मुक्तकण्ठले प्रशंसा गरेका थिए । साथै वक्ताहरूले नेपाली भाषा साहित्यको आकाशमा मडारी रहेको कालो बादलले अबका केही वर्षमा नेपाली भाषा नै लोप हुने स्थिति रहेको आंकलन गर्दै चिन्ता र चासो व्यक्त गरेका थिए । उहाँहरूले नयाँ पुस्तालाई नेपाली भाषा साहित्यको महत्व बुझाउँदै सिर्जनामा सरिक गराउनु पर्नेमा जोड दिनु भएको थियो । सो अवसरमा सम्मानित व्यक्तित्वका केही रोजिएका कविता वाचन गरिएका थिए ।
उदघाटन मन्तव्य व्यक्त गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जनमतले व्यापार व्यवसायको केन्द्र बनेपालाई जनमत परिवारको एकल प्रयासले पछिल्ला वर्षमा साहित्य र संस्कृतिको केन्द्रका रुपमा स्थापित गर्न सफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसका लागि मोहन दुवालको योगदान कम छैन, त्यसबारेमा राज्य समेत अनभिज्ञ छैन र राज्यकातर्फबाट दुवाललाई उचित सम्मान गर्ने भएको छ, जसलाई तपाईहरूले छिट्टै जानकारी पाउनु हुनेछ ।’
कार्यक्रमका विशेष अतिथि राजनीतिज्ञ एवम् निवन्धकार दिननाथ शर्माले राजनीतिको उखरमाउलोबाट सुस्ताउन आफूले साहित्यको छहारीमा रमाउने गरेको बताउँदै नेपाली साहित्यको आकाशमा जमनतको योगदान झिक्ने हो भने नेपाली साहित्यको इतिहास अधुरो रहने छ भन्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय प्राडा गोविन्दराज भट्टराई र प्रा.डा. रमेशचन्द्र अधिकारीले जनमतले आफू पनि मोफसलमा रहेकोले हुन सक्छ यसले मोफसलमा बसेर साहित्य, कला, संस्कृतिका तथा पत्रकारिताका क्षेत्रमा निःस्वार्थ सेवा गर्नेहरूलाई सम्झदै सम्मान गर्ने गरिआएको छ । त्यसको प्रमाण विगतदेखि वर्तमानसम्मका यी कार्यक्रम साक्षी छन् भन्नुभयो । उहाँहरूले जनमतको यस्तो सराहनीय कार्यको यो क्षेत्रमा काम गर्ने सबैले अनुसरण गर्नु पर्दछ भन्नुभयो ।
उक्त अवसरमा जनमत प्रकाशनद्वारा प्रकाशित विभिन्न व्यक्तित्वका चार कृतिहरू मोहन दुवालको अक्षरमा रचनाहरू, हरिप्रसाद चौतागाईका चक्रब्यूह(बालुन संग्रह) र ब्रह्माण्ड साइनो तथा रामसुन्दर देउजाको चाकाचुली(बाल कविता संग्रह)को विमोचन समेत गरिएको थियो ।
जनमत वाङमय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको अध्यक्षता भएको कार्यक्रममा दुजना दुवालले स्वागत तथा भगवती तिमिल्सिनाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।




No comments:
Post a Comment