राष्ट्रिय जनगणना २०७८ : जिल्ला स्तरीय सचेतना गोष्ठी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, April 5, 2021

राष्ट्रिय जनगणना २०७८ : जिल्ला स्तरीय सचेतना गोष्ठी

अन्तरङ्ग संवाददाता

बेसीशहर– लमजुङमा राष्ट्रिय जनगणना २०७८ सम्बन्धी जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य दवाडीको प्रमुख आतिथ्यतामा जिल्ला जनगणना कार्यालयले सरोकारवालाहरूसँग जिल्लास्तरीय सचेतना कार्यक्रम चैत १९ गते गरेको हो । 

दवाडीले कुनै पनि विकासका योजना निर्माणको लागि जनगणना आवश्यक रहेको र यो महाअभियान भएको हुँदा त्यही रुपमा यसलाई उपयोग गर्नु पर्ने बताउनुभयो । उहाँले संघीयता लागू भएपछि हुन लागेको पहिलो यो जनगणनाले विशेष महत्व राख्ने बताउनु भयो । उहाँले पालिकाको लागि जनगणना महत्वपूर्ण विषय रहेको उल्लेख गर्नु भयो । उहाँले यो जनगणनाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि पनि सघाउने बताउनु भयो । 

सो अवसरमा जिल्ला जनगणना अधिकारी पुष्पराज पौडेलले यस वर्ष ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ हुन लागेको बताउनुभयो । आगामी जेठ २६ गतेदेखि असार ८ गतेका दिनसम्म जनगणना हुने जानकारी दिनै पौलेडलले जनगणना कार्यालय लमजुङको वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले जनगणनाको परिचय, संक्षिप्त इतिहास, उद्देश्य, महत्व तथा जनगणना, सञ्चालनको कानूनी प्रावधान, गणना विधि, संगठन संरचना र समन्वय संयन्त्र प्रश्नावली सम्वन्धी विषय क्षेत्रहरूका बारेमा प्रकाश पार्नु भयो । राष्ट्रिय जनगणना २०७८ र जनगणना सम्बन्धी मुख्य दिनहरू र उहाँले हरेक नेपालीको घर घरसम्म पुगेर ‘मोडिफाइड डिजुरे मेथड’ विधि प्रयोग गरेर जनगणना हुने बताउनुभयो । नेपालमा पहिलो पटक जनगणना लिने कार्य वि.सं. १९६८ सालदेखि शुरु भएको थियो । जनगणना प्रत्येक १० वर्षमा एक पटक गर्ने गरिन्छ ।

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले कुनै पनि विकासको काम गर्नको लागि जनगणना धेरै अवश्यक रहेको बताउनुभयो । उहाँले नागरिकलाई समृद्ध, सबल र सक्षम बनाउन यसले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले स्थानीय तहको कार्ययोजना बनाउनको लागि जनगणनाले भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जनगणनाले मुलुकको सामाजिक, आर्थिक, सांस्कृति स्थितिको पहिचान गर्न पद्दत गर्ने बताउँदै यसले जनसंख्या कोही पनि दोहोरिन र छुट्न नहुने बताउँदै त्यसका लागि गणक तथा सुपरभाइजरहरू विशेष चनाखो हुनु पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेश पाण्डे, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ, दुधपोखरी गाउँपालिका अध्यक्ष छुपिमाया गुरुङ, क्व्होलासोँथार गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घले, सुन्दरबजार नगरपालिकाका उपप्रमुख ज्ञानु शाह, मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विक लगायत जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जातीय संघसंस्थाका प्रमुख प्रतिधिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment