रूपाको राष्ट्रपति रनिङ शिल्ड सुरु - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, April 9, 2021

रूपाको राष्ट्रपति रनिङ शिल्ड सुरु

रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष नवराज ओझा


पोखरा । कास्कीको रूपा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगता शुक्रबारदेखि सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको अगुवाइ जारी प्रतियोगिताको पहिलो दिन छात्र भलिबल प्रतियोगिताका पहिलो चरणका खेलहरू सम्पन्न भएका छन् ।

 

रूपा गाउँपालिकाभित्रका १० ओटा माध्यमिक विद्यालयहरूले भाग लिएका प्रतियोगिताको छात्र भलिबलमा विश्वशान्ति, चन्द्रप्रभा, रूपाज्योति र रामकोट सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार छात्रा तथा छात्र दुवैतर्फका सबै खेलहरू सञ्चालन गरिने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्दिप पौडेलले जानकारी दिए । उनका अनुसार विभिन्न दुरीका दौड, हाइजम्प, लङ जम्प र ट्रिपल जम्पका खेलहरू पनि शनिबार नै हुने छन् । प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै, उत्कृष्ट विद्यालयले रनिङ शिल्ड पाउने छ ।

 

प्रतियोगिताको उद्‍घाटन गर्दै गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रूपाले सबै क्षेत्रको समृद्धिको अभियानलाई अघि बढाएको भन्दै शिक्षा क्षेत्रमा आवश्यक सबै खालका सहयोग गर्दै आएको बताए । हरेक वडामा कम्तीमा १ खेल मैदान बनाउने अभियान अघि बढाइएको जानकारी दिँदै ओझाले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्दिप पौडेलको सञ्चालनमा भएको उद्‍घाटन कार्यक्रममा शिवालय माविका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले स्वागत गरेका थिए ।

No comments:

Post a Comment