अन्तरङ्ग संवाददाता
लमजुङ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले समाजमा नयाँ संस्कारको थालनी गर्नु हुने भएको छ । उहाँले आमा– बाबुप्रति आदर सम्मान बढाउनका लागि रहेक वर्ष एक असल आमा– बाबु दम्पत्तीलाई सम्मान गर्ने घोषणा बैशाख १० गते गर्नु भएको हो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालले उहाँलाई गरेको ‘ठाडोभाका महानायक’को सम्मान समर्पण ग्रहण गरेपछि मन्तव्य राख्दै उहाँले उक्त सम्मान समारोहमा त्यस्तो घोषणा गर्नु भएको हो । उक्त सम्मानको प्रयोजनका लागि उहाँले अक्षयकोषका लागि प्रतिष्ठानलाई ६० हजार रुपैयाँ समेत प्रदान गर्नु भएको छ ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालले दोर्दी गाउँपालिका– ६ को कीर्तिपुरबेसीमा आयोजना गरेको ठाडोभाकाको दोस्रो खुल्ला प्रतियोगिता र बाघचालको पहिलो खुल्ला प्रतियोगिता तथा सम्मान समारोहमा धम्पुले उक्त रकमको चेक लोकसंस्कृतिका अभियन्ता एवम् इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलमार्फत प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई हस्तान्तरण गर्नु भएको हो ।
सो अक्षयकोषको रकम ग्रहण गर्दै त्यस कोषबाट आउने व्याजको रकमबाट उक्त सम्मान गरिने भएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाकाका महानायकको चाहना अनुसार आफूहरूले उक्त सम्मानलाई व्यवस्थित तरिकाले प्रष्ट नीति बनाएर पारदर्शी रुपमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको स्थापना दिवसका अवसरमा हरेक वर्ष वितरण गरिने छ । ‘यो छनौटको कार्य निकै जटिल छ, जिल्लाभरबाट एक असल आमा– बाबु छनौट गर्नु सजिलो पक्कै हुन्न तर पनि यस्तो कार्यको पनि खाँचो थियो, प्रतिष्ठानले प्रष्ट नीति बनाएर यो कामलाई व्यवस्थित गर्छ ।’ पहाडीले भन्नुभयो, ‘असल आमा– बाबुको सम्मानका लागि सम्मान पत्र, दोसल्ला र कम्तिमा नगद रु १० हजारमा नघट्ने गरी पुरस्कार रकम हुनुपर्छ भन्ने आफ्नो सोच छ, त्यसका लागि हालको अक्षयकोष रकम कम हुन्छ । यसबारेमा महानायकसँग थप कुरा गरेर नीति तय गरी सार्वजनिक गर्नेछौं ।’
प्रतिष्ठानका अध्यक्ष पहाडीले उक्त सम्मान ठाडोभाका लोककला प्रतिष्ठान नेपालको छैठौं स्थपना दिवस– २०७८ को अवसर पारेर आउँदो माघ महिनादेखि वितरण गर्ने जानकारी दिनु भएको छ ।
आमा– बाबुप्रति आदर सम्मान कम हुँदै गएको वर्तमान स्थितिमा यस कार्यले समाजमा नयाँ र सकारात्मक सन्देश दिने विश्वास गरिएको छ ।

No comments:
Post a Comment