\अन्तरङ्ग वर्ष– २९, अंक– ३४, बैशाख २ गते (०७८) प्रकाशित
लमजुङमा साहित्यका लागि पर्यटन काव्य–यात्राको एक नयाँ कार्यको थालनी गरिएको छ । राष्ट्रकवि माधव घिमिरेको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका– ६ को पुस्तुन (बाहुनडाँडा) स्थित चन्द्रोदय माविको हातामा उक्त काव्ययात्राको उदघाटन गरियो भने सोही पालिका– ५ को खानी गाउँ स्थित रकगार्डेन होमस्टे पुगेर समापन गरियो । यो कार्यक्रम लमजुङको साहित्य तथा लोकसंस्कृति उत्थानका लागि कोशेढुंगा सिद्ध हुन आएको छ ।
सोही संविधान सभाका सदस्य एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार जमिन्द्रमान घलेले उद्घाटन गर्नु भएको उक्त काव्य–यात्रा कार्यक्रम मस्र्याङ्दी गाउँपालिकाको तत्वाधान, अन्तराष्ट्यि नेपाली साहित्य समाज(अनेसास)को समन्वय तथा ठाडोभाकाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको अयोजनामा गरिएको थियो । आफ्नो प्रमुख आतिथ्य मन्तव्यका क्रममा घलेले ठाडोभाका गीत गाउन निकै कठिन हुन्छ, यो गीत म आफू पनि लोकसंगीतमा रुचि राख्ने व्यक्ति भएकोले धेरै प्रयास गर्दा पनि नसकेर छाडेको अभिव्यक्ति दिनुभयो । काव्य– यात्रा कार्यक्रमले साहित्य संगीतले सकारात्मक परिवर्तनका लागि सन्देश दिने काम गर्दछ यो कार्यक्रमले हौसला र प्रेरणा मिलेको छ उल्लेख गर्नुभयो । उहाँबाट स्रष्टाहरूले आफ्ना रचना र मन्तव्यमार्फत प्राप्त सुझाबले धेरै मार्गदर्शन गरेको छ, हाम्रो ध्यानकर्षण भएको छ, हामीलाई प्राप्त सुझाबलाई कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त हुनु उक्त कार्यक्रमको एक उपलव्धी र सवल पाटो हो ।
त्यसैगरी, कार्यक्रमका विशेष अतिथि मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिकाका तीन विभूतिहरू राष्ट्कवि, डा. हर्क गुरुङ, भक्ति थापा रहेको र उहाँहरूको योगदानको सम्मानका लागि नीतिगत रुपमा नै पालिकाले कामको थालनी गरी बजेटको समेत प्रवन्ध गर्ने गरेको जानकारी सहित यस कार्यलाई भोलिका दिनमा पनि निरन्तरता दिने उल्लेख गर्नु कार्यक्रमको अर्को उपलब्धी हो भने काव्य–यात्रामा सहभागी स्रष्टाहरूले विभिन्न विम्वका रुपमा आफ्नो लेखनीका लागि विषयवस्तु चयन गर्नु, उक्त यात्रामा सहभागी भई काठमाडौंबाट आउनु भएका १० जना स्रष्टाको सोही स्थान विशेषमा आधारित भएर तयार गरिएका निवन्धको संग्रह प्रकाशन हुने अनेसासबाट ठाडोभाका लोककला प्रतिष्ठान नेपाललाई जानकारी प्राप्त हुनु उक्त कार्यक्रमको अर्को सवल पक्ष रहेको देखिन्छ । त्यति मात्र नभई उक्त यात्राको टोली काठमाडौंमा फर्केपछि धेरै जनाले उक्त यात्रामा आफू सहभागी हुन नपाएकोमा पछुतो मानेको जानकारी हुनुले भोलिका दिनमा गरिने यो कार्यक्रम थप उपलब्धी मूलक हुनेछ भन्ने एक विश्वासको आधार खडा भएको छ । यो पनि उक्त कार्यक्रमको अर्को सवल पाटो हो भने खानीगाउँमा केहीले ठाडोभाका गाउने र त्यसको नाच सिक्ने अभ्यास गर्नु भयो । यसले भोलिका दिनमा ठाडोभाकाको संरक्षण एवम् प्रवद्र्धनका कार्यमा थप टेवा पुग्ने विश्वास जागृत हुन आएको छ । यसैगरी, ९ बुँदे घोषणा पत्रजारी हुनु, एक छात्रालाई नर्सिङ शिक्षा निःशुल्क पढाई दिने प्रतिवद्धता व्यक्त हुनु लगायतका देखिने र नदेखिने थुप्रै उपलब्धी सो कार्यक्रमले दिएबाट उक्त कार्यक्रम लमजुङको साहित्य कला संस्कृतिका क्षेत्रमा वास्तवमै कोशेढुंगा हुने देखिएको छ ।

No comments:
Post a Comment