विष्णुकुमार श्रेष्ठ/ब्युरो प्रमुख, अन्तरङ्ग
लमजुङ । लमजुङको सुन्दरबजारमा ईलाका प्रहरी कार्यालय सुन्दरबजारले कोरोना भाइरस (कोभिड– १९)का विरुद्ध सचेतना फैलाउने काम गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)को रोकथाम तथा न्यूनिकरणका लागि सचेतना मुलक कार्यक्रम गर्दै तीन सय थान सर्जिकल मास्क निःशुल्क बितरण गर्ने कार्य बैशाख १५ गते गरिएको हो ।
लमजुङको व्यावसायिक एबम शैक्षिक केन्द्र सुन्दरबजार नगरपालिका– २, ५, ६, ७ का बिभिन्न स्थानहरू मेन बजार, बरेटार, मिलनचोक, खत्रीठाँटी, खहरे, कुमालटार, फेदीकुना लगायतका क्षेत्रमा स्थानीय व्यवसायी, आम सर्वसाधारण, उद्योगी, मजदुर, सवारी साधनमा सवार यात्रु, चालक र सहचालक समेतलाई माक्सको प्रयोग गर्ने विधि सिकाउँदै मास्कको निःशुल्क वितरण गरेको हो । उक्त अवसरमा सामाजिक दुरी कार्यम गर्ने, कुनै पनि काम कारबाही गर्दा स्वास्थ्य मापदण्ड पुरा गरी गर्ने, अनाधिकृत र निषेध गरिएको कुनै पनि कार्यमा सहभागी नहुने÷नगर्ने सम्बन्धमा कार्यक्रम संचालन गरिएको इलाका प्रहरी कार्यलय सुन्दरबजारका प्रमुख प्र.ना.नि. रामकृष्ण अधिकारीले बताउनु भयो । उहाँका अनुसार उक्त सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय सुन्दरबजारका ९ जना प्रहरी कर्मचारीहरूलाई प्लेकार्ड सहित साउण्ड बक्सका माध्यमबाट सचेतनामुलक प्रचारप्रसार गर्न लगाइएको थियो । अधिकारीले भन्नुभयो, ‘सो अवसरमा माक्स प्रयोग नगरेका आम सर्वसाधारणहरूलाई तीन सय थान सर्जिकल माक्स निःशुल्क बितरण गरिएको थियो ।’
कोरोना संक्रमणको दोस्रो लहर चल्न थालेको बर्तमान परिबेशमा प्रहरीद्वारा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु अत्यन्तै उपयोगी भएको एभरेस्ट साकोस सुन्दरबजारका प्रबन्धक ज्ञानबहादुर नेपालीले बताउनु भयो ।

No comments:
Post a Comment