आसन्न पत्रकार महासंघको निर्वाचन : पत्रकारको कि राजनीतिक दलको ? - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, April 2, 2021

आसन्न पत्रकार महासंघको निर्वाचन : पत्रकारको कि राजनीतिक दलको ?

वासुदेव सेढाई

नेपाल पत्रकार महासंघको २६औं अधिवेशनका सन्दर्भमा यही चैत २५ गतेका लागि निर्वाचन तोकिएको छ । पहिलोपटक जिल्ला, प्रदेश र केन्द्र अर्थात संघमा एकैदिन गरिन लागेको निर्वाचनको तयारीका लागि महासंघ जुटिसकेको छ । उक्त निर्वाचनमा राजनीतिक दल निकट पत्रकारका संगठनहरू आ–आफ्नो प्यानल खडा गरेर चुनावी प्रतिस्पर्धामा होमिएको देख्न र सुन्नमा आइरहेको छ । ती संस्थाका उम्मेदवार समेत दलबाट तोक्ने काम भएको छ । यसबाट यो निर्वाचन पत्रकारहरुको हो कि ? राजनीतिक दलको भन्ने ? प्रश्न उब्जिन गएको छ । 

राज्यको चौथो अंकको रुपमा स्विकार गरिएको पत्रकारका स्वतन्त्र र तटस्थ रहनु पर्ने संस्थामा राजनीतिक दलहरूको चासो र चिन्ताले मर्यादित पत्रकारिता पेसामा अप्ठ्यारो हुदैन र ? राजनीतिक विचार र आस्था त सबैसंग हुन्छ तर संचारकर्मीहरू तटस्थ रहने र देखिने हुनुपर्छ । जिल्ला, प्रदेश र संघमा एकैदिन हुने पत्रकारको निर्वाचनले मुलुकको ध्यान खिचेको छ । आवाज विहीनहरूको आवाज बन्ने उम्मेद राख्ने पत्रकारको निर्वाचन निकै महत्त्वपूर्ण छ । आम नागरिक समाजलाई सत्य समाचार प्रशारण गर्ने संचारमाध्याममा भएको यो राजनीति हस्तक्षेपलाई धेरैले निको मानेका छैनन् । यो परिदृश्य वा विषयले समाचारमा निष्पक्षताको कमी हुने आड्कलन गरिएको छ । संचारकर्मी वीचको प्रतिस्पर्धा जायज भए पनि दल निकटका रुपमा चिनिने संगठनको प्रतिस्पर्धा जायज होला र ? 

पत्रकारिताको मुल्य मान्यता र यसको धर्म अनुसार पत्रकारिता गर्न सहज छैन । हरेक क्षेत्रमा प्रभाव पारेको राजनीतिले स्वतन्त्र प्रेसमाथि पनि आफ्नो प्रभाव राम्रोसँग बनाएको छ । पत्रकारले राजनीतिलाई सही बाटोमा हिड्न निर्देश गर्ने हो, राजनीति गर्नेहरूले पत्रकारलाई निर्देश गर्ने होइन । आउँदै गरेको निर्वाचनलाई हेर्ने हो भने पत्रकारको निर्वाचन नभएर दलको निर्वाचन जस्तो झल्को देखिन्छ । पत्रकारहरूले राजनीतिक दलको यस्तो दुरासयपूर्ण नियतलाई तोड्न सक्नुपर्छ । संचारकर्मी समाजको ऐना, पत्रकार जगतले मुलुकमा भएका घटनाको सत्य तथ्य बाहिर ल्याउने गर्दछ । निःस्वार्थ र निस्पक्ष ढंगबाट सामाजिक विकृति विसंगति मुलुकमा भएमा गलत काम कुराको भण्डाफोर गर्दै निमुखा, गरिब, विपन्न र आवाजविहीन नागरिकहरूको आवाज बनेर उनीहरूका समस्या सम्वोधन गर्न राष्ट्रिय हितका विषयमा सरकारलाई खवरदारी गर्ने काम पत्रकारको हो । संचारमाध्यम सरकारको रचनात्मक प्रतिपक्ष हो । राम्रो काममा समर्थन र सहयोग गर्ने र गलत कामको खवरदारी गर्ने र गलत काम हुन नदिने । राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, सुशासन, मानवअधिकार, विधिको शासनको पक्षमा निरन्तर अडिग रहनुपर्छ । 

पत्रकार भन्नासाथ स्वतन्त्र, निस्पक्ष र तटस्थ संस्था भन्ने बुझिन्छ यसमा आग्रह पुर्वाग्रह हुदैन तर पछिल्लो समय के साँच्चीकै पत्रकारको संस्था स्वतन्त्र, निष्पक्ष र तटस्थ छ त ? के पत्रकारको धर्म मुल्यमान्यता मापदण्ड अनुसार चलेका छन् त ? पत्रकार स्वतन्त्र र निष्पक्ष नभए कसरी समाचारमा स्वतन्त्र र निष्पक्षता आउछ ? राज्यको चौथो अंगको रुपमा स्थापित पत्रकार महासंघ एउटा साझा संस्था होइन र ? फेरि किन पत्रकार भित्र पनि विभिन्न संगठनहरू ? यो किन र के का लागि ? राजनीतिक दलका भातृ संगठन जस्तै गरेर संचारमाध्यम भित्र पनि विभिन्न संगठन हुनु कति राम्रो हो ? 

पत्रकारिता पेसा अत्यन्तै कठिन तर सम्मानित र प्रतिष्ठित पेसा हो । बिना पारिश्रमिक आफ्ना घरपरिवारको भन्दापनि देश र नागरिकको सेवामा २४ घण्टा खट्नुपर्ने हुन्छ भने कतिपय अवस्थामा वास्तविक समाचार लेखेकै भरमा असुरक्षित महशुस गर्नुपर्ने अवस्था पनि छ तर पनि यस्ता कठिनाइसंग जुधेर जब एउटा पत्रकारले कलम समात्छ तब उसले त्यो कलमको धर्म निर्वाह गर्नुपर्ने हुन्छ । पत्रकारहरूले आफ्नो पेशालाई कसरी मर्यादित, सम्मानित र प्रतिष्ठित बनाउने त्यो उनीहरूकै हातमा हुन्छ । पत्रकारको कलम त्यस्तो शक्ति हो जसलाई देख्नासाथ खराब विचार बोकेका गलत धन्धा गर्नेहरू काप्नु पर्छ । आर्थिक प्रलोभन वा अन्य कुनैपनि प्रलोभनमा परेर पत्रकारिताको धर्म विपरीत काम भयो भने त्यो गम्भीर अपराध हुनेछ त्यसैले आम नागरिकको बिश्वासको आधार पत्रकारहरूले त्यस्तो गतिविधि गरेका पनि छैनन् र गर्न पनि हुदैन । 

नजिकिँदै गरेको निर्वाचनबाट आउने नयाँ नेतृत्वबाट समग्र पत्रकारिता क्षेत्रमा भएका विकृति विसंगतिको अन्त्य र पत्रकारको हकहित अधिकारका लागि नयाँ आशा र अपेक्षा हुन्छ नयाँ नीति नयाँ विचार आउनुपर्छ । राष्ट्रको पहरेदार, जनताको आवाज पत्रकारिता श्रमजीवी पत्रकारको हकहितका लागि नीति बनोस । संचारमाध्यममा राजनीति नहोस्, स्वतन्त्र र निष्पक्ष संस्था बनोस, पत्रकारका हकहित र उनीहरूको सुरक्षा बिशेश ध्यान जाओस । आम नागरिकहरूले आशा र भरोसा गर्न लायक बनोस, कुनैपनि प्रलोभनमा परेर राष्ट्रिय हित र आम नागरिकको हित विपरीत रत्तिभर पनि क्रियाकलाप नहोस । निमुखाहरूको आवाज बनिरहोस्, गौरव गर्न लायक संस्था बनोस् । पत्रकार महासंघको आसन्न निर्वाचनबाट निर्वाचित भएर आउने नेतृत्वबाट हाम्रो यस्तै आशा छ । जय पत्रकारिता !

(लेखक– स्वतन्त्र पत्रकार संघ नेपाल, लमजुङ शाखाका कोषाध्यक्ष हुनुहुन्छ । – सं.)

No comments:

Post a Comment