अन्तरङ्ग संवाददाता
बेसीशहर– लामो प्रतिक्षापछि आएको नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज चैत २५ गते निर्वाचन हुने भएको छ । त्यसका लागि बिहानैदेखि मुलुकभर ऐले विहान ९ बजेबाट मतदान शुरु हुने कार्यक्रम छ ।
राजनीतिक छाया मुक्त पत्रकारिता आजको आवश्यकता भए पनि त्यस्तो हुने लक्षण यो निर्वाचनमा पनि देखिएको छैन । त्यसो त दलीय सिण्डिकेन्ट तोड्नका लागि गजेन्द्रसिंह बुढाथोकीले केन्द्रको अध्यक्ष पदमा स्वतन्त्र रूपमा आफ्नो उम्मेदवारी दिनु भएको छ र चुनावी प्रतिस्पर्धालाई तीव्रता दिदै आउनु भएको छ ।
पत्रकारहरूको छाता संगठन महासंघको २६औं महाधिवेशन गत फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । सोही महाधिवेशनले तय गरेको निर्वाचन मिति अनुसार आज मुलुकभर महासंघको आगामी नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो । ‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यावसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सम्पन्न भएको हो ।
महासंघको आगामी नयाँ नेतृत्वका लागि केन्द्रीय अध्यक्षमा बुढाथोकी बाहेक निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएको पाइन्छ । महासंघको इतिहासमा पहिलोपटक महिला पत्रकारको तर्फबाट अध्यक्ष पदमा निर्मला शर्माको उम्मेदवारी छ । उहाँले व्यावसायिक र समावेशी प्यानल नाम दिनु भएको छ । उहाँको प्यानललाई प्रेस चौतारी नेपाललगायतका पत्रकार सम्बद्ध अन्य केही संघसंस्थाको समेत समर्थन रहेको बताइएको छ ।
त्यस्तै, अर्का अध्यक्षका प्रत्यासी विपुल पोखरेल समूह रहेको छ । सो समूहलाई प्रेस युनियन, प्रेस सेन्टरलगायतका संगठनको साझा उम्मेदवार भएको बताइएको छ । महासंघ केन्द्रको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै, समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह प्रतिस्पर्धा हुँदै छ । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिस्पर्धा छ । महासंघको केन्द्रीय महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतमबीच प्रतिस्पर्धा हुने भएको छ ।
महासंघको प्रदेश तथा जिल्ला, एसोसियट र प्रतिष्ठान शाखाका केही स्थानहरूमा भने सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । प्रदेश र जिल्लाका विभिन्न पदहरूमा पनि केही पत्रकार सर्वसम्मत विजयी भएका छन् ।
यस वर्षको निर्वाचनमा कुल १३ हजार १ सय २२ मतदाता छन् । महासंघको कुल पद संख्या ४९ रहेको छ । ती पद पाउनका लागि १४५ जनाको उम्मेदवारी परेको छ । जिल्ला र प्रतिष्ठान तहको निर्वाचनका लागि गत २२ चैतमा मनोनयन दर्ता भएको थियो ।
महासंघको संशोधित विधानको नयाँ व्यवस्थाअनुसार प्रदेश संरचनामा महासंघमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ । सात वटा प्रदेशमा बेग्लाबेग्लै मतदान हुनेछ । यसपटक ७ प्रदेशबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’ संरचना बनाइएको छ ।
उपत्यकाका तीन जिल्लाबाहेक बाग्मती प्रदेशका अन्य जिल्ला समेटेर बाग्मती प्रदेश बनाइएको छ । एसोसिएट पनि प्रदेशस्तरकै मान्यता दिइएको छ । बुधबार जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकैपटक निर्वाचन हुँदै छ । जसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
प्रेस युनियनद्वारा ६ वर्षे कारबाही
नेपाल पत्रकार महासंघको आज सम्पन्न हुन लागेको निर्वाचनमा विभिन्न पदमा विद्रोह गरी बागी उम्मेदवारी दिनुहुने ११ जना आफ्ना सदस्य पत्रकारलाई प्रेस युनियनद्वारा कारबाही गरिएको छ । प्रेस युनियनका सदस्यहरूले संगठनको अनुशासन उल्लंघन गरेर अझै उम्मेदवारी फिर्ता नलिएपछि उनीहरू युनियनको कारबाहीमा परेको जनाको हो । प्रेस युनियन नेपाली कांग्रेस सम्बद्ध पत्रकारहरूको संस्था हो । विद्रोहमा उम्मेदवारी दिनेहरू कम्तीमा ६ वर्षसम्मका लागि साधारण सदस्यतासमेतबाट निष्कासन गरिएको युनियन अनुशासन आयोगका अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
लमजुङमा केही पद निर्विरोध
यसैबीच, लमजुङमा हुने महासंघको निर्वाचन केही पद निर्विरोध भएको जानकारीमा आएको छ । जिल्लामा समेत केन्द्रमा जस्तै युनियन र प्रेस सेन्टरका बीच गठबन्धन भएको बताइएको छ । तर पनि चौतारी समर्थकहरू पनि उच्च मनोबलका साथ चुनावी मैदानमा देखिएका छन् । अध्यक्ष पदमा परमेश्वर अधिकारी र आश गुरुङका बीचमा प्रतिस्पर्धा चलिरहेकोछ । प्रेस युनियनका नेता मिलन दनाईले उम्मेदवारी फिर्ता लिदै उक्त संठगन र माउपार्टीका बीचको नातासम्बन्ध तोडेको उल्लेख गर्दै समाजिक सञ्जाल रंगाउने काम गर्नु भएको छ ।
कोषाध्यक्षमा रविन्द्र लामिछाने, महिला सदस्यमा सिर्जना बराल, दलित सदस्यमा डिवि मजाकोटी निर्विरोध भएको निर्वाचन अधिकृत मीना गुरुङले बताउनु भएृको छ । उहाँका अनुसार प्रदेश प्रतिनिधिमा कृष्ण आले, विमला अधिकारी, कृष्ण अधिकारी र युवराज श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् ।
लामिछाने र बराल अधिकारी प्यानलका हुन् भने मजाकोटी गुरुङ पक्षका । प्रदेशका आले, अधिकारी र श्रेष्ठ गुरुङ र अधिकारी पक्षबाट विमला निर्विरोध भएको बुझिएको छ ।

No comments:
Post a Comment