थापाको कविता कृति अक्षरहरूको मूर्च्छना बजारमा (फोटो फिचर) - अन्तरङ्ग
1620215557

Saturday, March 27, 2021

demo-image

थापाको कविता कृति अक्षरहरूको मूर्च्छना बजारमा (फोटो फिचर)

 

पोखरा । साहित्यकार लक्ष्मण थापाको चौथो कृति ‘अक्षरहरूको मूर्च्छना’ कविता सङ्ग्रह शनिबार पोखरामा सार्वजनिक गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले सो कृतिको लोकार्पण गरे ।

Slide1


रचनाहरूको सकेसम्म सम्पादन गर्नुपर्नेमा जोड दिँदै सरुभक्तले रचनालाई सार्वजनिक गर्नुपूर्व सकेसम्म सुन्दर बनाउने प्रयास गर्नुपर्ने धारणा राखे । अङ्ग्रेजी कवि वाल्ट ह्विटम्यानको ‘लिभ्स अफ् ग्रास’ कविता सङ्ग्रहको प्रसङ्ग कोट्याउँदै उनले जीवनभर सिर्जनालाई परिमार्जन गर्नुपर्ने कुरा ह्विटम्यानबाट सिक्नुपर्ने बताए । लक्ष्मण थापाले देखाएका साहित्यिक सक्रियता लोभलाग्दो भएको उनको भनाइ थियो । जागिरे जीवनबाट हालै अवकाश भएका थापाले कहिल्यै अवकाश नहुने सिर्जनशील यात्रालाई अझै सक्रियतापूर्वक अघि बढाउने विश्वास सरुभक्तको थियो ।

कवि थापाले आफू पोखरेली युवा सांस्कृतिक परिवारले बनाएको कवि भएको र अक्षरयात्रा, गजल सन्ध्या र मुक्तक मञ्चजस्ता संस्था र अभियानसँगै अघि बढेको बताए । गजल र मुक्तकमा रमाइरहेका बेला कविताको कृति निकाल्न समकालीन तथा अग्रजहरूले दिएका प्रेरणाबाट कविता सङ्ग्रह प्रकाशन गरेको बताउँदै कवि थापाले सिर्जनाकर्ममा निरन्तर लागिरहने बताए ।

Slide2


यसअघि थापाका मनको मूर्च्छना (गजल सङ्ग्रह, २०६०), पलापला (गजल सङ्ग्रह, २०६५) र पर्खालबाहिर (मुक्तक सङ्ग्रह, २०६६) प्रकाशित छन् । अक्षरहरूको मूर्च्छनामा ४० कविता समावेश छन् ।

कवि तीर्थ श्रेष्ठले विद्यार्थीकालमा लक्ष्मणसँगै गरेको राजनीतिक यात्राको स्मरण गर्दै थापाभित्रको त्यतिखेरको आन्दोलनकारी चेत राजनीतिभन्दा माथि उठेर साहित्यिक रूपमा बाहिरिएको थाहा पाउँदा गौरव लागेको बताए । लक्ष्मण थापाको नामको सुरुको ‘ल’को अर्थ नै ‘लगनशील’ भन्ने जनाउने श्रेष्ठको भनाइ थियो ।

फरक प्रसङ्गमा कवि श्रेष्ठले कविहरूले सत्यलाई सत्य र असत्यलाई असत्य भन्ने आँट गर्नुपर्नेमा जोड दिए । शासकहरूका अगाडि सधैँ याचकका रूपमा देखिन कविलाई नसुहाउने उनको भनाइ थियो । श्रेष्ठले भने, ‘याचकको मुद्राबाट माथि नउठेसम्म कविको स्वत्व जिउँदो रहँदैन ।’

परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा स्रष्टा परिचय दिँदै परिवारका पूर्व अध्यक्ष दीपक समीपले लक्ष्मण थापा पोखराबाट नेपाली साहित्यमा विशेष महत्त्व राख्ने स्रष्टा भएको औँल्याए । कार्यक्रममा कवि रमेश श्रेष्ठ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी प्राज्ञ हरिदेवी कोइराला, पोखरा प्रज्ञा-प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नवनीत साहित्य सागरका अध्यक्ष डिल्लीराम शर्मा, समीक्षक सन्जीव पौडेललगायतले थापाको कविताले विशेष महत्त्व राख्ने बताएका थिए ।

उपाध्यक्ष उपेन्द्र पौडेलको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव चैतन्य अधिकारीले गरेका थिए ।

Slide3

Slide4

Slide5


No comments:

Post a Comment

Pages