म्यानमारमा भइरहेको नरसंहार अमानवीय र निन्दनीय : नेपाली कांग्रेस - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, March 28, 2021

म्यानमारमा भइरहेको नरसंहार अमानवीय र निन्दनीय : नेपाली कांग्रेस

अन्तरङ्ग संवाददाता

काठमाडौं– म्यानमारमा जारी प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा ढिलै भए पनि नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएइको छ । म्यानमारमा प्रजातन्त्र पुनःस्थापना गर्न भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै त्यसका लागि एक हुन चैत १५ गते आव्हवन गरेको हो । 

सो दलका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी त्यस्तो आब्हन गर्नु भएको हो । म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नरसंहार गरिरहेको घटना तथा प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको कांग्रेसले भनेको छ ।  

सो विज्ञप्तिमा भनिएको छ, ‘म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ, लोकतन्त्रवादी नेतृ आङ सान सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको छ ।’ 

जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न पनि कांग्रेसले माग गरेको छ । कांग्रेसले जहाँ पनि लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता जनाउने नीति कांग्रेसको रहेको पनि शर्माले जारी विज्ञप्तिमा भन्नुभएको छ ।

‘विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता जनाउने नीति नेपाली कांग्रेसले लिंदै आएको छ। म्यानमारको पछिल्लो कूलगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटना क्रमलाई हामी निरन्तर नियालिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ । ‘दमनका विरूद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनु पर्ने आवश्यकता र अभियानका पक्षमा ऐक्यवद्ध हुन नेपाली कांग्रेस सबै दल, संघसंस्था र सरकार समेतलाई अपिल गर्दछ ।’

म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनु पर्ने पनि कांग्रेसले उल्लेख गरेको छ ।

म्यानमारमा सेनाले कु गरेर गत फेब्रुअरी १ मा सत्ता हत्याएको थियो । उक्त कुविरुद्ध भएका प्रदर्शनमा अहिलेसम्म ४ सयभन्दा बढीको ज्यान गएको छ । हिजो चैत १४ गते मात्रै सेनाले ११४ नागरिकलाई गोली हानेर मारेको समाचार आएको छ । सुरक्षाकर्मीले चलाएको गोली लागी मृत्यु हुनेमा सात जना बालबालिका छन् भने अन्त्येष्टी क्रिया गरिएको स्थानमा समेत सेनाले गोली चलाउन थालेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) का अनुसार चैत १४ गते मारिने प्रदशर्नकारीमा १३ वर्षीया बालिका पनि छिन् । घरभित्रै रहेकी उनको प्रहरीको गोली लागेर मृत्यु भएको हो । त्यसरी मारिने संख्या ११४ जनाभन्दा अझै बढी हुन सक्ने स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघले यो आन्दोलनमा धेरै मानिस मारिएको र सयौं घाइते भएको जानकारी आएको बताएको छ । सो दिन म्यानमारको ७६औं सेना दिवस परेको थियो । सेना दिवसको अवसरमा म्यानमारको राजधानी न्यपेतमा सेनाले प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीलाई रोक्न व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको थियो । सोही क्रममा म्यानमारका सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएका हुन् ।

यसैबीच, नागरिक अगुवाहरुले म्यानमारका जनताको पक्षमा उभिन सरकारलाई चैत १५ गते आग्रह गरेका छन् । उहाँहरूले म्यानमारमा भइरहेको शान्तिपूर्ण आन्दोलनकारीको नरसंहार गरेको भन्दै नागरिक अगुवाहरूले म्यानमारको सेनाको निन्दा गर्दै प्रजातान्त्रिक आन्दोलनको पक्षमा उभिन सरकारलाई आग्रह गर्नु भएको हो । सुरक्षाकर्मीहरूको गोलीबाट घरभित्रै बसेका सार्वसाधारण समेत मारिएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूले सुरक्षाकर्मीले घरबाट बाहिर निस्किए टाउकोमा वा पछाडिबाट गोली हान्नसक्ने चेतावनी दिएको जनाएका छन् । यसले म्यानमारको सेनामा मानवताको अभाव देखिएको नागरिक अगुवाहरूको निष्कर्ष छ ।

उहाँहहरूले म्यानमारको सैन्य दमनविरुद्ध दक्षिण एसियाली तथा विश्वभरका मुलुकले पर्याप्त कदम नचालेको भन्दै म्यानमारमा संवैधानिक व्यवस्था लागू गर्न अन्तर्राष्ट्रिय अभियान शुरु हुनुपर्नेमा जोड दिइएको छ ।

जारी विज्ञप्तिमा दस्तखत गर्नेहरूमा कुलचन्द्र गौतम, सुशील प्याकुरेल, कनकमणि दीक्षित, विपिन अधिकारी, डा. रेणू राजभण्डारी, डा. अर्जुन कार्की लगायतका नागरिक अगुवाहरू हुनुहुन्छ । 

उता, ‘म्यानमारमा सैन्य कारबाही होइन, नरसंहार’को संज्ञा दिन थालिएको छ । बीबीसीसँगको अन्तर्वार्तामा बर्माको मानव अधिकार नेटवर्क बेलायतका निर्देशक क्याव विनले भने, ‘यो नरसंहार हो अब सैन्य कारबाहीमा सीमित रहेन ।’ उनले म्यानमारको सेनासँग कुनै सीमा र कुनै सिद्धान्त नरहेको बताए । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा म्यानमारमा एक स्थानीय थु या जले भने, ‘उनीहरुले हामीलाई चरा वा कुखुराको चल्ला जसरी मारिरहेका छन्, त्यो पनि हाम्रै घरमा छिरेर ।’ यद्यपि आन्दोलन भने जारी रहने उनले बताएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएको र पक्राउ परेका प्रदर्शनकारीलाई पनि चरम यातना दिइरहेको देख्न सकिन्छ ।

एकैदिन ११४ जना प्रदर्शनकारी मारिएसँगै १२ मुलुकका रक्षा प्रमुखले म्यानमारको सेनाको निन्दा गरेका छन् । ती मुलुक अमेरिका, बेलायत, जापान, दक्षिण कोरियालगायतका मुलुकले संयुक्त विज्ञप्ति जारी गरी म्यानमारको सेनाको निन्दा गरेका हुन् । उनीहरुले सेनाको पेशा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै आफ्नो काम गर्नु रहेको बताएका छन् ।

विज्ञप्तिमा सेनाको काम नागरिकलाई दुःख दिनु नभई उनीहरुको सेवा गर्नु रहने उल्लेख छ । यो विज्ञप्तिमा अष्ट्रेलिया, क्यानडा, जर्मनी, ग्रीस, इटाली, डेनमार्क, नेदरल्याण्ड्स र न्युजिल्याण्डले पनि हस्ताक्षर गरेका छन् । यसरी कुनै पनि मुलुकका रक्षा प्रमुखले अर्को मुलुकको सेनाको विरोध खासै गर्दैनन् ।

गत फेबु्रअरी १ मा सेनाले प्रजातन्त्र पक्षधर नेताहरुलाई हिरासतमा लिँदै शासन हातमा लिएको थियो । त्यसको विरोधमा म्यानमारमा निरन्तर प्रदर्शन हुँदै आइरहेको छ । अहिलेसम्म म्यानमारको प्रदर्शनमा परी चार सयभन्दा धेरैको मृत्यु भइसकेको छ भने २४ सयभन्दा धेरै प्रदर्शनकारी पक्राउ परेका छन् ।

– एजेन्सीहरूको सहयोगमा ।

No comments:

Post a Comment